काठमाडौँ, ७ असोजः प्रधानमन्त्री वालेन्द्र शाहले सम्भावित मौसमी विपद् जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित निकायहरूलाई आवश्यक तयारी, समन्वय तथा पूर्वसतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।
उहाँले आज सामाजिक सञ्जालमार्फत मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यही असोज ९ गतेदेखि असोज ११ गतेसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारीदेखि अति भारी वर्षाको सम्भावना उल्लेख गर्र्दै त्यस्तो आग्रह गर्नुभएको हो । साथै उहाँले सम्पूर्ण नागरिकलाई सुरक्षित रहन, सचेत बन्न तथा आवश्यक सावधानी अपनाउन पनि अनुरोध गर्नुभएको छ ।
विभागका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षा तथा एक/दुई स्थानमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । साथै, कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा समेत भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना छ ।
मौसम प्रणालीको प्रभावका कारण गण्डकी प्रदेशको पोखरा आसपास, लुम्बिनीको पहाडी तथा तराई क्षेत्र, कोशीको ताप्लेजुङलगायत हिमाली भूभाग, बागमतीको पहाडी खण्ड, कर्णालीको जुम्ला आसपास तथा सुदूरपश्चिमका पहाडी क्षेत्रहरूमा बाढी, पहिरो, डुबान तथा सडक अवरोधको जोखिमप्रति विशेष सतर्क रहन आवश्यक रहेको विभागले जनाएको छ । सम्भावित वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव, डुबान तथा सडक र हवाई यातायातमा समेत अवरोध हुन सक्ने भएकाले सम्पूर्ण नागरिकलाई आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको छ ।
विभागले ट्रेकिङ तथा हिमाली क्षेत्रमा जाने योजना बनाउनुभएका व्यक्तिहरूले मौसम सुधार नभएसम्म यात्रा स्थगित वा पुनर्विचार गर्न, विभाग तथा स्थानीय प्रशासनबाट जारी हुने सूचना नियमित रूपमा हेर्न र आवश्यक अवस्थामा सम्बन्धित निकायको निर्देशन पालना गर्न समेत अनुरोध गरेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया