असोज ९, २०८३ शुक्रबार September 25, 2026

वर्षासँगै जनजीवन प्रभावित

जोमसोम–बेनी सडकखण्डको करिब २२ किलोमिटर भाग बाढीपहिरोको उच्च जोखिममा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, असोज ९ गते । लगातार वर्षाका कारण देशभरको जनजीवन प्रभावित बनेको छ । मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि चार दिनसम्म देशका अधिकांश स्थानमा ठुलोदेखि धेरै ठुलो वर्षाको सम्भावना औँल्याएपछि बाढीपहिरो र डुबानबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि राज्यका सुरक्षा तथा उद्धार संयन्त्रलाई उच्च सतर्क अवस्थामा राखिएको छ ।

वर्षाका कारण बाढी, पहिरो तथा गेग्रान बहाबको जोखिम बढ्न सक्ने भन्दै विभिन्न स्थानका प्रमुख सडकमा रातिको आवागमन रोकिएको छ । पृथ्वी राजमार्गसहित उपत्यका भित्रिने केही राजमार्गमा बिहीबार बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ ।

सिद्धिचरण लोकमार्गमा असोज १२ गतेसम्म 

बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म अत्यावश्यकबाहेकका सवारी तथा पैदलयात्रुको रात्रिकालीन आवागमन रोकिएको छ । मकवानपुरका कान्ति राजमार्ग तथा भैँसे–भीमफेदी–देउराली–कुलेखानी हुँदै काठमाडौँ आउने सडकमा बेलुका ७ बजेदेखि आवागमन रोकिएको छ ।

त्यस्तै बिपी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्डमा पनि बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ । मौसम र सुरक्षा जोखिमलाई ध्यानमा राखी रातिको आवागमन रोकिएको हो । दिउँसो पनि अत्यावश्यकबाहेकका सवारीसाधन सावधानीपूर्वक सञ्चालन गर्न आग्रह गरिएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले समेत काठमाडौँबाट छुट्ने लामो तथा मध्यम दुरीका रात्रिबस सञ्चालन नगर्न व्यवसायीलाई आग्रह गरेको छ ।

बढी वर्षाको सम्भावना रहेको गण्डकी र लुम्बिनी प्रदेशका जोखिमयुक्त क्षेत्रमा सुरक्षा संयन्त्रलाई थप सक्रिय बनाइएको छ । नदी तटीय क्षेत्र, पहिरोको जोखिममा रहेका बस्ती तथा विगतका डुबान प्रभावित क्षेत्रलाई विशेष निगरानीमा राखिएको छ ।

मुक्तिनाथ समाचारदाताका अनुसार बिहीबारदेखि आइतबारसम्म साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म थासाङ–४, घाँसाबाट जिल्लामा प्रवेश गर्ने तथा बाहिरिने आवागमनमा कडाइ गरिएको छ ।

जोमसोम–बेनी सडकखण्डको करिब २२ किलोमिटर भाग बाढीपहिरोको उच्च जोखिममा रहेको छ । भारी वर्षा र हिमपातको अवस्था हेरी अन्नपूर्ण पदमार्गको थोरङ्ला भन्ज्याङतर्फको आवागमनसमेत रोक्न सकिने तयारी गरिएको छ ।

लमजुङ समाचारदाताका अनुसार बेँसीसहरदेखि मनाङ सीमासम्म शुक्रबारदेखि आइतबारसम्म साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको छ । सिन्धुपाल्चोकमा पनि शुक्रबार र शनिबार बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गरिएको छ ।

स्थानीय तह सतर्क अवस्थामा 

काठमाडौँ उपत्यकाका १८ नगरपालिकाले पनि नदी किनार, डुबान तथा पहिरोको जोखिम अनुसार पूर्वतयारी तीव्र पारेका छन् । काठमाडौँ महानगरपालिकाले र्‍याफ्टिङ बोट, पानी तान्ने पम्प, जेट मेसिन तथा नगर प्रहरीको र्‍यापिड रेस्पोन्स टोली तयारी अवस्थामा राखेको छ । एम्बुलेन्स र स्वास्थ्यकर्मीलाई समेत अलर्टमा राखिएको महानगरपालिकाले जनाएको छ ।गोरखापत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया