काठमाडौँ, असोज १० गते । नेपाल गुणस्तर तथा नापतौल विभागले खानेतेलको गुणस्तर, प्याकेजिङ र लेबलिङलाई थप सुरक्षित एवं व्यवस्थित बनाउने गरी नयाँ गुणस्तर मापदण्डको तयारी गरेको छ । विभागले तोरी, भटमास (सोयाबिन) र सूर्यमुखी (सनफ्लावर) तेलको गुणस्तरमा समस्या देखिन थालेपछि नयाँ गुणस्तर मापदण्डको अन्तिम मसौदा तयार गरेको हो ।
प्रस्तावित मापदण्डमा तेलको गुणस्तर परीक्षणसँगै उपभोक्तालाई भ्रममा पार्ने प्रचारात्मक दाबी, प्याकेजिङ र लेबलमा राख्नुपर्ने विवरण तथा तेल उत्पादन र बिक्रीमा प्रयोग हुने भाँडासम्बन्धी व्यवस्था गरिएको छ ।
तोरी र सूर्यमुखी तेललाई खान मिल्ने र नमिल्ने गरी दुई श्रेणीमा स्पष्ट वर्गीकरण गरेको उल्लेख हुनुपर्ने व्यवस्था मसौदामा छ । सूर्यमुखी तेललाई प्रेसबाट निकालिएको (एक्स्ट्र्याक्टेड) र रासायनिक घोल प्रयोग गरी निकालिएको (सोल्भेन्ट (एक्स्ट्र्याक्टेड) गरी दुई प्रकारमा वर्गीकरण गरिएको छ ।
दुवै प्रकारमा रिफाइन्ड र ग्रेड–१ गरी दुई तह तोकिएको छ । सोल्भेन्ट एक्स्ट्र्याक्टेडतर्फको ग्रेड–१ तेल सिधै खान नमिल्ने भएकाले उपभोक्ता प्याकमा बिक्री गर्न नपाइने प्रस्ताव छ । यस्तो तेल राखिएको भाँडामा ठुला अक्षरमा ‘खान नहुने’ चेतावनी लेख्नुपर्ने छ । सोयाबिन तेललाई भने रिफाइन्ड, डिगम्ड र ग्रेड–१ गरी तीन तहमा वर्गीकरण गरिएको छ ।
रिफाइन्ड तेललाई मात्र सिधै खानयोग्य मानिएको छ । डिगम्ड र ग्रेड–१ तेललाई वनस्पति घिउ वा रिफाइन्ड तेल उत्पादनको कच्चा पदार्थका रूपमा मात्र प्रयोग गर्नुपर्ने प्रस्ताव गरिएको छ । त्यस्ता तेल खुद्रा प्याकेटमा बिक्री गर्न नपाइने र कन्टेनरमै ‘खानका लागि होइन’ भन्ने स्पष्ट चेतावनी राख्नुपर्ने प्रस्ताव गरिएको छ ।
विभागका सूचना अधिकारी पारसमणि यादवले खानेतेलका प्याकेटको लेबलमा ‘सुपर रिफाइन्ड’, ‘एक्स्ट्रा रिफाइन्ड’, ‘माइक्रो रिफाइन्ड’, ‘डबल रिफाइन्ड’, ‘अल्ट्रा रिफाइन्ड’, ‘एन्टी–कोलेस्टेरोल’, ‘कोलेस्टेरोल फाइटर’ र ‘कोलेस्टेरोल फ्रेन्डली’ जस्ता उपभोक्तालाई भ्रममा पार्न सक्ने विज्ञापन गर्ने तर व्यवहारमा नहुने भएपछि त्यसलाई रोक्ने प्रस्ताव गरिएको जानकारी दिनुभयो ।
यस्ता शब्दलाई उत्पादनको गुणस्तरभन्दा बढी प्रचारमुखी दाबीका रूपमा प्रयोग गर्न नदिने व्यवस्था प्रस्ताविक मापदण्डमा गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार तोरीको तेलमा सिसा र आर्सेनिक अधिकतम ०.१ मिलिग्राम, क्याडमियम एक मिलिग्राम र पारो ०.२५ मिलिग्राम प्रतिकेजीभन्दा बढी हुन नहुने प्रस्ताव गरिएको छ । पेरोक्साइड भ्यालु अधिकतम १० मिलिइक्विभ्यालेन्ट तोकिएको छ ।
प्रस्तावित मापदण्ड लागु भएपछि बजारमा बिक्रीका लागि पठाइने प्रत्येक तेलको बट्टा वा प्याकेटमा नेपाली वा अङ्ग्रेजी भाषामा स्पष्ट लेबल राख्नुपर्ने छ । लेबलमा उत्पादनको नाम, तेलको प्रकार र ग्रेड, खुद तौल, उत्पादकको नाम र ठेगाना, दर्ता भएको ट्रेडमार्क, ब्याच वा लट नम्बर तथा उत्पादन भएको महिना र वर्ष उल्लेख गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।
उत्पादकले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ र मानक नाप र तौल ऐन, २०२५ का प्रावधानसमेत पालना गर्नुपर्ने प्रस्तावित मापदण्डमा उल्लेख छ । सूचना अधिकारी यादवले सबै पक्षको आवश्यकता र निवेदनका आधारमा मापदण्ड तयार गरिएको र स्वीकृतिका लागि प्रक्रिया अघि बढिरहेको जानकारी दिनुभयो ।
उपभोक्ता अधिकारकर्मीको बुझाइमा प्रस्ताविक मापदण्डमा तेलको गुणस्तर, लेबलिङ तथा रासायनिक तत्वको सीमासहितका विषय समेटिनु सकारात्मक भए पनि यो प्रभावकारी कार्यान्वयनमा नआएसम्म भन्न सकिँदैन । उपभोक्ता अधिकार तथा अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले तेल उत्पादकले लेबलमा अन्तर्राष्ट्रियस्तरका गुणस्तरको दाबी गर्ने तर प्रयोगशाला परीक्षणबाट त्यो गुणस्तर नदेखिने समस्या विगतमा रहँदै आएको बताउनुभयो । गोरखापत्र दैनिकबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया