असोज १५, २०८३ बिहिबार October 1, 2026

रास्वपाको पालिका अभियान असोज २० देखि, ७५३ वटै पालिकामा पुग्ने रणनिती

पार्टीका सांसद तथा केन्द्रीय सदस्यहरू ७७ वटै जिल्लाका ७५३ वटै पालिकामा पुग्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, असोज १५ गते । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै देशव्यापी पालिका अभियान सञ्चालन गर्ने भएको छ। पार्टीले आगामी असोज २० गतेदेखि ७७ वटै जिल्लाका ७५३ स्थानीय तहमा आफ्ना सांसद तथा केन्द्रीय सदस्य परिचालन गर्ने तयारी गरेको हो।

रास्वपा सहमहामन्त्री निशा डाँगीका अनुसार अभियानको उद्देश्य नागरिकका समस्या, गुनासा र सुझाव सुन्नुका साथै पार्टीका धारणा, सरकारका काम तथा आगामी स्थानीय तह निर्वाचनका तयारीबारे नागरिकलाई जानकारी गराउनु रहेको छ।

डाँगीका अनुसार यसपटकको अभियानलाई ‘नागरिकका कुरा सुन्न र आफ्ना कुरा भन्न’ भन्ने अवधारणासहित अघि बढाइँदैछ। नागरिकसँग प्रत्यक्ष संवाद र जवाफदेहिताको अभ्यासका रूपमा अभियान सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो।

उहाँका अनुसार अभियानका क्रममा रास्वपाका सांसद तथा केन्द्रीय सदस्यहरू स्थानीय तहमा पुगेर नागरिकसँग संवाद गर्नेछन्। उनीहरूले स्थानीय तहका समस्या तथा नागरिकका अपेक्षा सुन्नुका साथै वर्तमान सरकार गठन भएयता करिब छ महिनाको अवधिमा सरकार र संसद्बाट भएका काम तथा नीतिगत पहलका विषयमा जानकारी गराउनेछन्।

उम्मेदवार छनोट प्रक्रियाबारे पनि जानकारी

रास्वपाले अभियानमार्फत आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवार छनोट गर्ने आफ्नो प्रक्रियाबारे पनि नागरिकलाई जानकारी गराउने भएको छ।

पार्टीका अनुसार स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटमा ‘क्यान्डिडेट क्लब’, ‘लिडरसिप एकेडेमी’ तथा लोकतान्त्रिक छनोट प्रक्रियालाई अघि बढाइएको छ। स्थानीय तहमा नेतृत्व गर्न इच्छुक तथा योग्य व्यक्तिलाई कसरी उम्मेदवारका रूपमा अघि बढाइन्छ भन्ने विषयमा अभियानका क्रममा जानकारी दिइनेछ।

रास्वपाले आगामी फागुनमा हुने भनिएको स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै यसअघि नै उम्मेदवार छनोटसम्बन्धी रूपरेखा अघि बढाइसकेको छ। अभियानमार्फत उक्त प्रक्रियाबारे नागरिकसँग प्रत्यक्ष संवाद गर्ने पार्टीको तयारी छ।

सरकारका काम र आगामी योजनाबारे जानकारी

अभियानको अर्को प्रमुख उद्देश्य वर्तमान सरकार गठन भएयता भएका काम र नीतिगत पहल नागरिकसमक्ष पुर्‍याउनु रहेको रास्वपाले जनाएको छ।

अभियानमा सरकार र संसद्मार्फत भएका काम, नागरिकसँग गरिएका प्रतिबद्धताको कार्यान्वयनको अवस्था तथा आगामी दिनका योजनाबारे जानकारी गराइनेछ। पार्टीले सरकारका कामबारे नागरिकको प्रतिक्रिया र सुझावसमेत लिने जनाएको छ।

सहमहामन्त्री डाँगीका अनुसार अभियानअन्तर्गत पार्टीका सांसद तथा केन्द्रीय सदस्यहरू ७७ वटै जिल्लाका ७५३ वटै पालिकामा पुग्नेछन्। कुन सांसद वा केन्द्रीय सदस्य कुन पालिकामा जाने भन्ने विवरण पार्टीको आधिकारिक माध्यमबाट सार्वजनिक गरिनेछ।

डाँगीले अभियानलाई स्थानीय निर्वाचनको तयारीमा मात्र सीमित नभई स्थानीय सरकारलाई थप जवाफदेही बनाउने र नागरिक सहभागितामार्फत स्थानीय नेतृत्व छनोटको प्रक्रियाबारे संवाद गर्ने अवसरका रूपमा अघि बढाउन खोजिएको बताउनुभएको छ।

असोज २० गतेदेखि सुरु हुने अभियानसँगै रास्वपाले स्थानीय तहमा संगठनात्मक उपस्थिति, नागरिक संवाद र आगामी निर्वाचनका लागि उम्मेदवार छनोटसम्बन्धी गतिविधिलाई थप तीव्र बनाउने तयारी गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया