वीरगञ्ज (पर्सा), १४ असोजः नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षाको निम्ति परिवर्तनकारी शक्तिहरूबीच एकताको आवश्यकता औँल्याउनुभएको छ ।
नेकपा, पर्सा जिल्लाले यहाँ आज आयोजना गरेको ‘पार्टी एकता समायोजन, शपथ ग्रहण तथा प्रशिक्षण’ कार्यक्रममा उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, सार्वभौमसत्ता, सङ्घीय शासन व्यवस्था, धर्मनिरपेक्षता, समावेशी र समानुपातिक प्रणालीलगायत प्राप्त संवैधानिक अधिकारको रक्षा गर्नुपर्नेमा जोड दिनुभयो ।
पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो, “अहिलेको राजनीतिक परिस्थिति अलिक असहज र असाधारण छ, संविधानको मौलिक हक, स्वतन्त्र न्यायपालिका, सामाजिक न्याय, दलित, महिला, मधेसी तथा उत्पीडित समुदायको अधिकार कटौती हुने खतरा दिन प्रतिदिन बढ्दै गएको छ, यो सबै यतिकै आएको होइन, जोगाउनकै लागि पनि परिवर्तनकारी शक्ति एक ठाउँमा आउनै पर्छ ।”
उहाँले आफ्नो पार्टीले जनताको निम्ति गरेका कामको बारेमा जनतालाई नै बुझाउन नसकेको स्वीकार गर्नुभयो । मुलुकको निम्ति फेरि एक पटक कम्युनिष्ट पार्टीबीच कार्यगत एकता गर्दै एकीकृत हुनुपर्ने बेला आएको उहाँको भनाइ छ ।
पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सामाजिक न्याय र समानतामा आधारित समाजवादको निम्ति कम्युनिष्टबीचको एकताको आवश्यकता औँल्याउनुभयो । उहाँले आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी पहिलो हुने गरी लाग्न नेता तथा कार्यकर्तालाई अपिल गर्नुभयो । नेता मातृका यादवले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताको निम्ति काम गर्ने गरी एकजुट हुन नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया