काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेश तथा जिल्ला कमिटीका सचिवालय सदस्यहरूलाई भर्चुअल माध्यमबाट सम्बोधन गरेका छन्।
पार्टी केन्द्रीय कार्यालय च्यासलबाट सम्बोधन गर्दै अध्यक्ष ओलीले हालै सम्पन्न केन्द्रीय कमिटी बैठकले गरेका महत्त्वपूर्ण नीतिगत तथा सांगठनिक निर्णयहरूको प्रभावकारी कार्यान्वयनमा सम्पूर्ण ध्यान केन्द्रित गर्न मातहतका नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका हुन्।
सम्बोधनका क्रममा अध्यक्ष ओलीले लोकतन्त्रको पुनर्बहाली र आगामी वैशाखमा हुने स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै पार्टीका समग्र गतिविधिहरूलाई तीव्र गतिमा अघि बढाउनुपर्नेमा विशेष जोड दिएका छन्।
मंगलवार कोशी, मधेस, बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशका सचिवालय सदस्यहरूसँग संवाद गरेका अध्यक्ष ओलीले सोही अभियानलाई निरन्तरता दिँदै बाँकी चार प्रदेशका स्थानीय तहसम्मका अगुवा नेताहरूलाई निर्देशनात्मक मार्गदर्शन गरेका हुन्।
एमालेले पछिल्लो समय ‘लोकतन्त्रको पुनर्बहाली’ र ‘आगामी स्थानीय निर्वाचनको बहुआयामिक तयारी’ लाई नै आफ्नो मुख्य राजनीतिक गन्तव्य र सांगठनिक प्राथमिकताका रूपमा तय गर्दै देशव्यापी अभियान सञ्चालन गरिरहेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया