असोज १७, २०८३ शनिबार October 3, 2026

उज्यालो नेपाल पार्टीलाई प्रमुख राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने कुलमानको दाबी

पार्टी स्थापनाकालदेखि नै असफल बनाउन जातीयता लगायतका विभिन्न आरोप र षड्यन्त्रहरू भइरहेको उल्लेख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टीलाई मुलुकको प्रमुख राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने दाबी गरेका छन्।

मन्थलीस्थित तीनलाल पार्कमा आयोजित संगठन विस्तार बैठकलाई सम्बोधन गर्दै घिसिङले अब उज्यालो नेपाल पार्टी वैकल्पिक शक्तिमा मात्र सीमित नरही राष्ट्रिय राजनीतिमा ‘मेनस्ट्रिम’ पार्टी बन्ने बताएका हुन्।

कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले पार्टी स्थापनाकालदेखि नै असफल बनाउन जातीयता लगायतका विभिन्न आरोप र षड्यन्त्रहरू भइरहेको उल्लेख गरे। राष्ट्रिय स्वतन्त्र

पार्टी (रास्वपा) सँगको एकता १२ दिनमै टुटेको प्रसङ्ग जोड्दै उनले विगतका गल्तीबाट पाठ सिकिसकेकाले अब कुनै पनि प्रकारका षड्यन्त्रमा नफस्ने प्रतिबद्धता जनाए।

साथै, नयाँ राजनीतिक शक्तिका रूपमा आएको रास्वपा नेतृत्वको सरकारले ६ महिना बितिसक्दा पनि जनताको अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै उनले आलोचना गरे। घिसिङले आफ्नो पार्टीको नेतृत्वमा सरकार बनेमा हरित क्रान्ति र हरित रूपान्तरणमार्फत देशको आर्थिक तथा सामाजिक विकास गर्ने दृष्टिकोण अघि सारे।

सोही बैठकबाट चिना लामाको अध्यक्षतामा ७५ सदस्यीय उज्यालो नेपाल पार्टी रामेछाप जिल्ला कमिटी पुनर्गठन गरिएको छ।

कमिटीको उपाध्यक्षमा दामोदर तामाङ, सचिवमा मोतीलाल घिसिङ, उपसचिवहरूमा सागर थापा, अर्जुन घिसिङ र तेन्जिङ लामा तथा कोषाध्यक्षमा देव रुम्बा सर्वसम्मत चयन भएका छन्। यसअघि पुस ७ गते अञ्जान घिसिङको संयोजकत्वमा गठित कमिटीलाई करिब सात महिनापछि नयाँ नेतृत्वसहित पूर्णता दिइएको हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया