असोज २४, २०८३ शनिबार October 10, 2026

संविधान संशोधनदेखि सुशासनसम्म, जसपाले अघि सार्‍यो राजनीतिक सुधारको एजेन्डा

उपेन्द्र यादवको प्रतिवेदन : संविधान संशोधन, समावेशिता र सामाजिक न्यायमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले संविधान संशोधनलाई अग्रगमन, सामाजिक न्याय र समावेशी लोकतन्त्रको सुदृढीकरणतर्फ केन्द्रित गर्नुपर्ने निष्कर्ष निकालेको छ।

पार्टी अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय समिति बैठकमा पेश गरेको ३९ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा संविधानका सकारात्मक उपलब्धिहरूको संरक्षण गर्दै विद्यमान कमजोरी र असन्तुलनलाई संशोधन तथा परिमार्जनमार्फत सम्बोधन गर्नुपर्ने उल्लेख गरेका छन्।

संविधान संशोधन कुनै दल वा सत्तारूढ शक्तिको तत्कालीन स्वार्थअनुसार नभई राष्ट्रिय संवाद, राजनीतिक सहमति र जनताको सहभागिताका आधारमा अघि बढाउनुपर्ने जसपाको धारणा छ।

प्रतिवेदनमा संघीयता, निर्वाचन प्रणाली, शासकीय स्वरूप, समावेशिता, सामाजिक न्याय, न्यायपालिकाको पुनर्संरचना, धर्मनिरपेक्षता, प्रादेशिक स्वायत्तता तथा संघ, प्रदेश र स्थानीय तहबीच अधिकार र स्रोतको बाँडफाँटलाई संविधान संशोधनका प्रमुख विषयका रूपमा अघि सारिएको छ।

जसपाले पहिचान र सामर्थ्यका आधारमा प्रदेशको सीमांकन तथा नामांकन हुन नसकेको, प्रदेशको अधिकारक्षेत्र कमजोर रहेको तथा संघीयताको पूर्ण कार्यान्वयनमा समस्या देखिएको जनाएको छ। त्यस्तै, जनसंख्याको समानुपातिक आधारमा निर्वाचन क्षेत्र निर्धारण, निर्वाचन प्रणालीको खर्चिलोपन र सरकार गठन प्रक्रियामा देखिएको अस्थिरतालाई समेत सुधार गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।

जसपाले नेपालको वर्तमान लोकतन्त्रलाई संस्थागत रूपमा अझै कमजोर र अपूर्ण अवस्थाको लोकतन्त्रका रूपमा व्याख्या गरेको छ। निर्वाचन हुने भए पनि विधिको शासन, संस्थागत नियन्त्रण, नागरिक अधिकार र सीमान्तकृत समुदायको अधिकार प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको उसको निष्कर्ष छ।

मधेशी, आदिवासी जनजाति, दलित, थारू, मुस्लिम, महिला, पिछडा वर्ग तथा अन्य सीमान्तकृत समुदायलाई राज्यसत्ता, स्रोत, अवसर र सामाजिक प्रतिष्ठामा समान पहुँच सुनिश्चित गर्नुपर्नेमा प्रतिवेदनले जोड दिएको छ। लोकतन्त्रलाई बलियो बनाउन निर्वाचन मात्र पर्याप्त नभई अधिकारको प्रत्याभूति, कानुनी शासन, लोकतान्त्रिक संस्कार र नागरिक सहभागिता आवश्यक रहेको जसपाको भनाइ छ।

प्रतिवेदनले पछिल्लो राजनीतिक अभ्यासप्रति पनि आलोचनात्मक दृष्टिकोण प्रस्तुत गरेको छ। विचार, सिद्धान्त र राजनीतिक एजेण्डा नमिल्ने दलहरूसँग केवल सत्ता प्राप्तिका लागि गरिने अल्पकालीन तथा अप्राकृतिक गठबन्धनले जनतामा राजनीतिक दलप्रतिको असन्तुष्टि र अविश्वास बढाएको जसपाको निष्कर्ष छ।

सत्ता राजनीतिको अन्तिम लक्ष्य नभई परिवर्तन र जनसेवाको माध्यम हुनुपर्ने भन्दै जसपाले सरकारमा सहभागी हुने वा प्रतिपक्षमा बस्ने निर्णय स्पष्ट राजनीतिक मापदण्डका आधारमा गर्नुपर्ने जनाएको छ। भ्रष्टाचार, कमिसन, नातावाद, कृपावाद र सत्ता दुरुपयोग अन्त्य गर्दै सुशासन, पारदर्शिता, रोजगारी, सामाजिक सुरक्षा र लोककल्याणलाई राजनीतिको केन्द्रमा राख्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।

जसपाले संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, सामाजिक न्याय, आर्थिक समानता, राष्ट्रिय पहिचान, सुशासन र मानव अधिकारलाई एउटै राजनीतिक परियोजनाका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

पार्टीका अनुसार अबको राजनीति सरकार बनाउने र गिराउने तथा सत्ता प्राप्त गर्ने चक्रमा सीमित नभई सामाजिक, आर्थिक र सांस्कृतिक रूपान्तरणतर्फ केन्द्रित हुनुपर्छ। संविधानका

उपलब्धिको संरक्षण गर्दै आवश्यकताअनुसार संशोधन, परिमार्जन वा पुनर्लेखनमार्फत संविधानलाई समय, आवश्यकता र जनआकांक्षाअनुकूल बनाउनुपर्ने निष्कर्षसहित जसपाले संविधान संशोधनलाई अग्रगमन र राज्य तथा समाजको लोकतान्त्रीकरणसँग जोडेको छ। #जसपा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफीको हत्या आरोपी टिकटकर ‘गुण्डा’ माथि थप दुई ज्यान मार्ने उद्योगको मुद्दा
२०८३ असोज २४, शनिबार
देशका विभिन्न भागबाट लागुऔषधसहित ३१ जना पक्राउ
२०८३ असोज २४, शनिबार
‘रामायण’मा रानी कैकयीकाे भुमिकामा लारा दत्त, मन्थराको भूमिकामा शीबा चड्ढा
२०८३ असोज २४, शनिबार
विश्व ‘अण्डा’ दिवस, अण्डाको उत्पादन र खपत बढाउन आवश्यक
२०८३ असोज २४, शनिबार
पानामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, होटल भत्किए, विद्युत् सेवा अवरुद्ध
२०८३ असोज २४, शनिबार
चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
२०८३ असोज २४, शनिबार
पूर्व न्यायाधीशलाई नोबेल पुरस्कार दिएको केही घण्टापछि आइसीसीमाथि अमेरिकी प्रतिबन्ध
२०८३ असोज २४, शनिबार