काठमाडौं : स्क्रब टाइफसको संक्रमण देशभर फैलिएको छ । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार देशका ७४ जिल्लामा संक्रमण फैलिइसकेको छ । हालसम्म १० हजार २१० जनामा संक्रमण पुष्टि भइसकेको छ ।
डोल्पा, मनाङ र मुगुबाहेक सबै जिल्लामा संक्रमण देखिएको हो । संक्रमणबाट सातजनाको मृत्यु पुष्टि भएको छ । २२ जनाको मृत्यु रिपोर्ट भएकोमा बाँकी १५ जनाको मृत्यु स्क्रब टाइफसकै कारण भए–नभएको प्रमाणीकरण भइरहेको छ । यसले संक्रमितको संख्या र मृत्युको वास्तविक आँकडा अझै नआएको देखाउँछ ।
स्क्रब टाइफसको सुरुवाती लक्षण सामान्य ज्वरो, टाउको दुख्ने, शरीर दुख्ने र कमजोरी हुने हुन्छ । त्यसैले धेरैले यसलाई मौसमी ज्वरो ठानेर घरमै औषधि खाने गर्छन् । सामान्य ज्वरो ठानेर घरमै बस्ने प्रवृत्तिले स्वास्थ्य संस्था पुग्न ढिलाइ हुँदा संक्रमण फैलिन सक्छ ।
समयमै पहिचान र उपचार नहुँदा संक्रमणले फोक्सो, मिर्गौलालगायत महत्त्वपूर्ण अंगमा असर पु¥याउन सक्छ । ग्रामीण क्षेत्रमा ज्वरो आएपछि तत्काल परीक्षण नगरी घरमै औषधि सेवन गर्ने प्रवृत्तिले रोग देशभर फैलिएको चिकित्सकको दाबी छ ।
संक्रमित माइटको टोकाइबाट मानिसमा सर्ने यो रोग वर्षायाम र त्यसपछिको समयमा बढी देखिन्छ । खेतबारी, झाडी तथा घाँसमा काम गर्ने मानिसमा यसको जोखिम बढी हुन्छ । तर संक्रमण ग्रामीण क्षेत्रमा मात्र सीमित नरहेकाले जोखिमलाई निश्चित भूगोलसँग मात्र जोडेर हेर्न नसकिने स्वास्थ्य शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका संक्रामकरोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् ।
यस वर्ष पछिल्ला महिनामा संक्रमणको गति थप तीव्र भएको तथ्यांकले देखाउँछ । जनवरीमा ३२६ संक्रमित भेटिएकामा अगस्टमा २ हजार ५७१ र सेप्टेम्बरमा २ हजार ८३३ जनामा संक्रमण पुष्टि भएको थियो । वर्षको पछिल्लो चरणमा संक्रमण उल्लेख्य रूपमा बढेको देखिन्छ । यही अवधिमा बिरामीमा जटिलता देखिने सम्भावना पनि बढ्ने भएकाले स्वास्थ्य संस्थालाई परीक्षण र उपचारका लागि तयार राख्नुपर्ने डा. पुनको भनाइ छ ।
स्क्रब टाइफसका कारण मृत्यु हुँदा प्रत्यक्ष कारण निमोनिया, मिर्गौला फेल, श्वासप्रश्वासमा समस्या वा बहुअंग विफलता देखिन सक्छ । यस्तो अवस्थामा मृत्युको मूल कारण स्क्रब टाइफस हो कि अन्य स्वास्थ्य समस्या भन्ने छुट्याउन थप परीक्षण र चिकित्सकीय मूल्यांकन आवश्यक हुन्छ । त्यसैले रिपोर्ट भएको र पुष्टि भएको मृत्युको तथ्यांक फरक देखिएको हो ।
सरकारले संक्रमण नियन्त्रणका लागि परीक्षण किट र औषधिको व्यवस्थापन गरिरहेको जनाएको छ । स्वास्थ्य सेवा विभागमा थप परीक्षण किट मौज्दात राखिएको छ भने प्रभावित क्षेत्रमा आवश्यक औषधि पठाइएको छ । स्वास्थ्यकर्मीलाई रोग पहिचान तथा उपचारसम्बन्धी तालिमसमेत दिइएको छ ।
चिकित्सकका अनुसार, स्क्रब टाइफस नियन्त्रणमा औषधि अभावभन्दा समयमै रोग पहिचान हुन नसक्दा समस्था बढेको छ । ज्वरोसँगै शरीर दुख्ने, टाउको दुख्ने, असामान्य कमजोरी हुने वा माइटले टोकेको स्थानमा कालो दागजस्तो घाउ देखिएमा तत्काल स्वास्थ्य संस्था पुग्नुपर्ने डा. पुनको सुझाव छ । समयमै पहिचान भए एन्टिबायोटिकबाट उपचार सम्भव हुन्छ । ढिलाइ हुँदा सामान्य ज्वरो गम्भीर संक्रमणमा परिणत हुन सक्छ ।
के हो स्क्रब टाइफस ?
स्क्रब टाइफस ‘ओरिएन्टिया सुत्सुगामुसी’ नामक ब्याक्टेरियाबाट हुने संक्रामक रोग हो । संक्रमित लार्भा माइट (चिगर)ले टोकेपछि मानिसमा यसको संक्रमण हुन्छ । नेपाल सरकारले जारी गरेको ‘स्क्रब टाइफसको निदान, उपचार तथा रोकथामसम्बन्धी राष्ट्रिय निर्देशिका’ले पनि संक्रमित माइटलाई यसको प्रमुख प्रसारण माध्यम मानेको छ ।
यो रोग मानिसबाट मानिसमा सामान्य सम्पर्क, हात मिलाउँदा वा एउटै भाँडामा खाना खाँदा सर्दैन । खेतबारी, घाँसेमैदान, झाडी तथा वनस्पतिले ढाकिएका क्षेत्रमा संक्रमित माइटको सम्पर्कमा आउँदा जोखिम बढ्छ ।
डा. पुनका अनुसार, स्क्रब टाइफसका लक्षण सामान्य ज्वरोसँग मिल्दोजुल्दो हुन्छ । उच्च ज्वरो, टाउको तथा शरीर दुख्ने, अत्यधिक कमजोरी, पेट दुख्ने, वाकवाकी र बिमिरा आउनेजस्ता लक्षण देखिन सक्छन् । माइटले टोकेको स्थानमा कालो डाम वा घाउसमेत देखिन सक्छ । समयमै उपचार नभए फोक्सो, मिर्गौला र मस्तिष्कमा असर पुगेर अंगले काम गर्न छाड्ने र मृत्यु हुने जोखिम हुन्छ ।
हाल प्रभावकारी नियमित खोप उपलब्ध नभएकाले संक्रमित माइटको टोकाइबाट बच्नु मुख्य उपाय हो । खेतबारी वा झाडीमा काम गर्दा शरीर ढाक्ने कपडा र जुत्ता लगाउने, घाँसमा सिधै नबस्ने, माइट भगाउने पदार्थ प्रयोग गर्ने तथा कामपछि शरीर सफा गर्ने सावधानी अपनाउनुपर्छ ।मध्यान्ह दैनिकबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया