असोज २३, २०८३ शुक्रबार October 9, 2026

कांग्रेस महाधिवेशनको मतदान राति १० बजे सकियो, मतपेटिका सिलबन्दी हुँदै

मतपेटिका सिलबन्दी गर्ने र आवश्यक प्रक्रिया पूरा गर्ने काम सकिएपछि मतगणना सुरु गर्ने विषयमा निर्वाचन समितिले निर्णय गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भएको मतदान शुक्रबार राति १० बजे सकिएको छ। निर्धारित समयभित्र मतदान सम्पन्न हुन नसकेपछि पटक–पटक समय थप गर्दा मतदान प्रक्रिया निर्धारित समयभन्दा करिब सात घण्टा ढिलो सकिएको हो।

निर्वाचन कार्यतालिकाअनुसार बिहानदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म सञ्चालन गर्ने तय गरिएको थियो। तर, निर्धारित समयमा सबै महाधिवेशन प्रतिनिधिले मतदान गर्न नसक्ने देखिएपछि निर्वाचन समितिले पहिलोपटक दुई घण्टा समय थप्दै मतदानको समय साँझ ५ बजेसम्म पुर्‍याएको थियो।

साँझ ५ बजेसम्म पनि मतदान प्रक्रिया पूरा नभएपछि पुनः समय थप गरी राति ७ बजेसम्म मतदान गर्ने व्यवस्था मिलाइएको थियो। त्यसपछि पनि मतदानस्थलमा लाइनमा रहेका प्रतिनिधिहरूलाई मतदान गर्ने अवसर दिइएको थियो।

निर्वाचन समितिका अनुसार अन्ततः राति १० बजे मतदान प्रक्रिया सम्पन्न भएको हो। मतदान सकिएसँगै अहिले मतपेटिका सिलबन्दी गर्ने काम भइरहेको छ।

यसअघि शुक्रबार राति नै सभापति पदको मतगणना सुरु गर्ने तयारी गरिएको थियो। तर, मतदान प्रक्रिया लम्बिएपछि मतगणना तत्काल सुरु हुने वा नहुने भन्ने विषयमा अन्योल देखिएको थियो।

निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले केहीबेरअघि मतदान जारी रहेको जानकारी दिँदै मतगणनाबारे तत्काल निर्णय भइनसकेको बताएका थिए।

मतपेटिका सिलबन्दी गर्ने र आवश्यक प्रक्रिया पूरा गर्ने काम सकिएपछि मतगणना सुरु गर्ने विषयमा निर्वाचन समितिले निर्णय गर्ने अपेक्षा गरिएको छ। नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएसँगै अब महाधिवेशन प्रतिनिधिहरूको ध्यान मतगणनातर्फ केन्द्रित भएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया