कार्तिक २०, २०८३ शुक्रबार November 6, 2026

आगामी निर्वाचनसम्म मधेश सरकारमा सहभागी हुँदैनौँ : सीके राउत

जनमत पार्टी कुनै पार्टीको सरकारमा जाँदैन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आगामी निर्वाचनसम्म आफ्नो पार्टी मधेश प्रदेश सरकारमा सहभागी नहुने स्पष्ट पारेका छन्। सरकारमा सहभागी हुने विषयमा विभिन्न अड्कलबाजी भइरहेका बेला शुक्रबार उनले पार्टीको निर्णय सार्वजनिक गर्दै सत्ता र मन्त्रालयको लोभमा सरकारमा जानु आत्मघाती कदम हुने बताएका हुन्।

राउतले जनमत पार्टीका सबै सांसदले राजीनामा दिनुपर्ने अवस्था आए पनि पार्टी आफ्नो निर्णयबाट पछि नहट्ने बताएका छन्। मुख्यमन्त्री पददेखि पूरै मन्त्रिमण्डलको प्रस्ताव आए पनि आगामी निर्वाचनसम्म मधेश सरकारमा सहभागी नहुने उनको भनाइ छ। पार्टी सरकारमा जानुको सट्टा जनताकै बीचमा रहेर सङ्घर्ष गर्ने उनले बताएका छन्।

निर्वाचन नजिकिँदै गर्दा मन्त्रालयको भागबन्डामा लाग्नु जनताको चाहना र मोर्चाको मर्मविपरीत हुने राउतको तर्क छ। सरकारमा सहभागी हुनेभन्दा सङ्गठन निर्माण र अधिकारका लागि सङ्घर्ष गर्ने समय रहेको उल्लेख गर्दै उनले दुई–चारवटा मन्त्रालयका लागि चलखेल गर्नु आत्मघाती कदम हुने बताएका छन्।

अध्यक्ष राउतले मधेशकेन्द्रित दललाई विभाजन गर्ने र नेताहरूलाई बदनाम गर्ने षड्यन्त्रमा नफस्न पनि आग्रह गरेका छन्। अग्रगामी मोर्चाले यसअघि नै आगामी निर्वाचनसम्म कुनै पनि घटक दल प्रदेश सरकारमा सहभागी नहुने सर्वसम्मत निर्णय गरेको स्मरण गराउँदै उनले मोर्चा उक्त निर्णयमा कायम रहेको बताएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया