कार्तिक २४, २०८३ मंगलबार November 10, 2026

नेकपाका संयोजक दाहालद्वारा नेपाल संवतको शुभकामना

नेपाल संवत् नेपालको मौलिक इतिहास, सभ्यता, संस्कृति र राष्ट्रिय पहिचानसँग जोडिएको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ,  कात्तिक २४ गते । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवत् ११४७ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ ।

नेपाल संवत् ११४७ प्रारम्भ भएको अवसरमा आज शुभकामना दिँदै उहाँले नेपाल संवत् नेपालको मौलिक इतिहास, सभ्यता, संस्कृति र राष्ट्रिय पहिचानसँग जोडिएको बताउनुभएको छ ।

पूर्वप्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वमा रहेको पहिलो गणतन्त्रात्मक सरकारले २०६५ सालमा नेपाल संवत्लाई ‘राष्ट्रिय संवत्’का रूपमा मान्यता दिने ऐतिहासिक घोषणा गरेको स्मरण गर्नुभएको छ ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाको विशिष्ट योगदानको स्मरण गर्दै संयोजक दाहालले यस संवत्ले राष्ट्रिय एकता, सामाजिक सद्भाव, आपसी सहिष्णुता र समृद्धिको भावना अझ सुदृढ बनाउन प्रेरणा प्रदान गरोस् भनी कामना गर्नुभएको छ ।

साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवत् सुरु गराउनुभएको इतिहास छ । लिच्छविकालीन राजा राघवदेवको शासनकालमा सुरु भएको नेपाल संवत् नेपालकै मौलिक संवत् हो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया