काठमाण्डौं । प्रधानमन्त्री बालेन्द्र शाहले यमपञ्चकको अन्तिम दिन भाइटीकाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन्।
भाइटीकाको पावन अवसरमा आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीलाई शुभकामना दिँदै प्रधानमन्त्रीले यस पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, आपसी सम्मान र आत्मीयतालाई अझ प्रगाढ बनाउन प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन्।
प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत दिएको शुभकामना सन्देशमा भाइटीकासँग जोडिएको पौराणिक मान्यतासमेत स्मरण गरेका छन्। पौराणिक मान्यताअनुसार कार्तिक शुक्ल द्वितीयाका दिन बहिनी यमुनाको निमन्त्रणामा यमराज उनको निवासमा पुगेका थिए। त्यस अवसरमा यमुनाले आफ्ना दाजु यमराजलाई विधिपूर्वक टीका र पूजा गरी आदरसत्कार गरेकी थिइन्।
बहिनीको प्रेम, निष्ठा र आतिथ्यबाट प्रसन्न भएका यमराजले यस दिन बहिनीबाट टीका र पूजा ग्रहण गर्ने दाजुभाइलाई मृत्युको भयबाट मुक्ति मिल्नुका साथै दीर्घायु, सुस्वास्थ्य र सौभाग्य प्राप्त हुने वरदान दिएको धार्मिक विश्वास रहेको प्रधानमन्त्रीले उल्लेख गरेका छन्।
यही विश्वासअनुसार भाइटीकाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै श्रद्धापूर्वक पूजा गर्ने परम्परा छ।
भाइटीकामा दाजुभाइलाई दूबो, मखमली तथा सयपत्रीको माला लगाइदिने, ओखर फुटाउने, तेलको रेखाले छेक्ने, सप्तरङ्गी टीका लगाउने तथा विभिन्न मिष्ठान्न परिकार खुवाउने चलन रहेको छ। यसैगरी, दाजुभाइले पनि आफ्ना दिदीबहिनीलाई गच्छेअनुसार दक्षिणा प्रदान गरी आशीर्वाद ग्रहण गर्ने परम्परा छ।
प्रधानमन्त्रीले भाइटीकाले नेपाली समाजमा पुस्तौँदेखि कायम पारिवारिक सम्बन्ध, प्रेम र आत्मीयतालाई थप बलियो बनाउँदै सबैको जीवनमा सुख, शान्ति, समृद्धि र मंगल ल्याओस् भन्ने शुभकामना व्यक्त गरेका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया