पछिल्लो समय मुलुकको सार्वजनिक ऋण बढेर झन्डै ३० खर्ब रुपैयाँ पुगेको छ। चालु आर्थिक वर्ष २०८३/८४ को बितेका चार महिनाको समेत गरी नेपालको कुल सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब ११ करोड ८० लाख रुपैयाँ पुगेको हो।
यो कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४५.०८ प्रतिशत हो। २०७८ सालको राष्ट्रिय जनगणनाअनुसार नेपालको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ। सरकारले विभिन्न समयमा अनेक प्रयोजनका लागि लिएको यो ऋणको भार भाग लगाउँदा हरेक नेपालीको भागमा प्रतिव्यक्ति एक लाख दुई हजार ११ रुपैयाँ पर्न आउँछ।
३५ वर्षअघि प्रतिव्यक्ति ऋण दुई हजार ८४२ रुपैयाँ मात्र थियो। २०४७ सालको जनआन्दोलनपछि प्राप्त प्रजातान्त्रिक नेपालको जग बसालेको दिनदेखि अहिलेसम्म साढे तीन दशकको अवधिमा विभिन्न समयमा सरकार चलाउनेहरूले जथाभाबी रूपमा लिएको ऋणको पासोले अहिले हरेक नेपालीको टाउकोमा एक लाख रुपैयाँ ऋणको भार थपिदिएका हुन्। जसका कारण अहिले यति धेरै ऋणको सावाँब्याज तिर्न मात्र सरकारलाई चालु आवको कात्तिक मसान्तसम्ममा एक खर्ब ४० अर्ब ९३ करोड ६१ लाख रुपैयाँ खर्च गर्नुपर्ने अवस्था आएको छ। झन् डरलाग्दो कुरा त के छ भने चालु आवको बितेका चार महिनामा सरकारले ब्याज तिर्नकै लागि एक खर्ब ५३ अर्ब ८४ करोड रुपैयाँ नयाँ ऋण उठाएको छ।
विभिन्न समयमा लिएको ऋण उचित सदुपयोग गर्न नसक्दा र स्वदेशी उत्पादनले मात्र मुलुकको बजार माग धान्न नसकेका कारण अहिले देशको ढुकुटी ब्याज तिर्दा नै सकिने गरेको छ।
ऋण लिएर पनि उचित व्यवस्थापनसहित खर्च गर्न नसक्दा अहिले देश दिनप्रतिदिन बढ्दो ऋणको पासोमा परेको हो। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको चालु आवको कात्तिक मसान्तसम्मको प्रतिवेदनअनुसार पछिल्ला चार महिनामा समेत गरी कुल सार्वजनिक ऋण २९ खर्ब ८१ अर्ब ७० करोड २८ लाख रहेकामा कात्तिक मसान्तसम्ममा विनिमय दरमा भएको नाफासहित ऋण दायित्व घटेर २९ खर्ब ७५ अर्ब ११ करोड ८० लाख कायम भएको हो। आवको सुरुमा कुल सार्वजनिक ऋण २९ खर्ब ८१ अर्ब ७० करोड २८ लाख रुपैयाँ थियो।
गत कात्तिक मसान्तसम्ममा विदेशी मुद्रा विनिमय दरमा भएको नाफा ४३ अर्ब ११ करोड २० लाख रुपैयाँसहित कुल सार्वजनिक ऋण दायित्व केही घटेको सो कार्यालयले जनाएको छ। कार्यालयको प्रतिवेदनअनुसार कुल सार्वजनिक ऋणमध्ये वैदेशिक ऋणको हिस्सा ५२.९३ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४७.०७ प्रतिशत छ।
प्रतिवेदनबमोजिम कात्तिक मसान्तसम्म सरकारले तिर्न बाँकी वैदेशिक ऋण दायित्व १५ खर्ब ७४ अर्ब ६४ करोड २१ लाख रुपैयाँ पुगेको छ। यसैगरी आन्तरिक ऋण दायित्व १४ खर्ब ४७ करोड ५९ लाख रुपैयाँ छ।
सरकारले चालु आवमा कुल ६ खर्ब ५८ अर्ब २८ करोड रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ। त्यसका लागि कात्तिक मसान्तसम्ममा एक खर्ब ५३ अर्ब ८४ करोड ७२ लाख रुपैयाँ ऋण प्राप्त भएको छ। यो वार्षिक लक्ष्यको २३.३७ प्रतिशत हो। सरकारले अनुमान गरेको कुल ऋण परिचालनको वार्षिक लक्ष्यमा आन्तरिक ऋणतर्फ चार खर्ब १० अर्ब रुपैयाँ र वैदेशिक ऋणतर्फ दुई खर्ब ४८ अर्ब २८ करोड सात लाख रुपैयाँ छ।
कात्तिक मसान्तसम्ममा सरकारले आन्तरिक ऋणतर्फ एक खर्ब २५ अर्ब रुपैयाँ र वैदेशिक ऋणतर्फ २८ अर्ब ८४ करोड ८२ लाख रुपैयाँ प्राप्त गरेको छ। वार्षिक लक्ष्यका आधारमा आन्तरिक ऋण परिचालनको प्रगति ३०.४९ प्रतिशत र वैदेशिक ऋण परिचालनको प्रगति ११.६२ प्रतिशत रहेको सो कार्यालयले जनाएको छ।
सो कार्यालयका अनुसार प्राप्त कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋणको हिस्सा ८१.२५ प्रतिशत र वैदेशिक ऋणको हिस्सा १८.७५ प्रतिशत छ। सरकारले चालु आवमा परिचालन गर्ने लक्ष्य राखेको सार्वजनिक ऋणमध्ये अझै पाँच खर्ब चार अर्ब ४३ करोड ३५ लाख रुपैयाँ प्राप्त गर्न बाँकी छ। जसमध्ये आन्तरिक ऋणतर्फ दुई खर्ब ८५ अर्ब रुपैयाँ र वैदेशिक ऋणतर्फ दुई खर्ब १९ अर्ब ४३ करोड ३५ लाख रुपैयाँ परिचालन गर्न बाँकी छ।
चालु आवका लागि सार्वजनिक ऋणको साँवा तथा ब्याज भुक्तानीमा सरकारले चार खर्ब १७ अर्ब ८८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। त्यसमध्ये कात्तिक मसान्तसम्ममा एक खर्ब ४० अर्ब ९३ करोड ६१ लाख रुपैयाँ ऋण भुक्तानी भएको छ। यो वार्षिक विनियोजनको ३३.७३ प्रतिशत हो।
कुल गार्हस्थ्य उत्पादनका आधारमा चालु आवको बितेका चार महिनामा भएको ऋण सेवा खर्च २.१४ प्रतिशत छ। ऋण सेवा खर्चअन्तर्गत आन्तरिक ऋण भुक्तानीमा एक खर्ब १९ अर्ब १८ करोड ८२ लाख रुपैयाँ र वैदेशिक ऋण भुक्तानीमा २१ अर्ब ७४ करोड ७९ लाख रुपैयाँ खर्च भएको छ।
त्यस्तै आन्तरिक ऋण भुक्तानीका लागि वार्षिक तीन खर्ब २८ अर्ब १४ करोड रुपैयाँ बजेट विनियोजन भएकोमा कात्तिक मसान्तसम्म ३६.३२ प्रतिशत खर्च भएको सो कार्यालयले जनाएको छ। यसअन्तर्गत आन्तरिक ऋणको साँवा भुक्तानीमा ९९ अर्ब ९४ करोड र ब्याज भुक्तानीमा १९ अर्ब २४ करोड ८२ लाख रुपैयाँ खर्च भएको छ। आन्तरिक ऋणको साँवा भुक्तानीमा वार्षिक विनियोजनको ४०.६४ प्रतिशत र ब्याज भुक्तानीमा २३.४० प्रतिशत खर्च भएको सो कार्यालयले जनाएको छ।
त्यस्तै वैदेशिक ऋण भुक्तानीका लागि विनियोजन गरिएको ८९ अर्ब ७४ करोड ७० लाख रुपैयाँमध्ये कात्तिक मसान्तसम्ममा २१ अर्ब ७४ करोड ७९ लाख रुपैयाँ खर्च भएको छ। यो वार्षिक विनियोजनको २४.२३ प्रतिशत हो। वैदेशिक ऋणको साँवा भुक्तानीमा १७ अर्ब ३८ करोड रुपैयाँ र ब्याज भुक्तानीमा चार अर्ब ३६ करोड ७९ लाख रुपैयाँ खर्च भएको सो कार्यालयको प्रतिवेदनमा उल्लेख छ। नागरिक दैनिकबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया