असार २६, २०८२ बिहिबार July 10, 2025

अस्ट्रेलियाले अस्ट्राजेनिका खोप ६० वर्षभन्दा माथिका व्यक्तिलाई मात्र लगाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अस्ट्रेलिया सरकारले कोभिड–१९ विरुद्धको अस्ट्राजेनिका खोप ६० वर्षभन्दा माथिको उमेरका व्यक्तिलाई मात्र लगाउने जनाएको छ ।

यसअघि यो खोप ५० वर्षभन्दा माथिको उमेरका व्यक्तिलाई दिइन्थ्यो । गत साता अस्ट्राजेनिका खोप लगाएकी एक ५२ वर्षीया महिलाको मस्तिष्कमा रगत जमेका कारण मृत्यु भएपछि सरकारले उमेर बढाएको हो ।

स्वास्थ्य मन्त्री ग्रेग हन्टले बिहीबारको नयाँ घोषणा गर्दा कुनै वैज्ञानिक तथ्यमा आधारित भएर नगरिएको बताउँदै सरकारले सचेतता अपनाउन चाहेको स्पष्ट गर्नुभयो । अस्ट्रेलियाले ५० देखि ५९ वर्षको उमेरका व्यक्तिलाई सरकारले स्वीकृत गरेको फाइजर खोप लगाउन सिफारिस गरेको छ ।

अस्ट्रेलियामा अस्ट्राजेनिका खोप लगाएका मध्ये दुई व्यक्तिको मस्तिष्कमा रगत जम्ने समस्याबाट मृत्यु भएको आशंका गरिएको छ । सर्वप्रथम गत अप्रिलमा अस्ट्राजेनिकाको खोप लगाएकी ४८ वर्षीया एक महिलाको मृत्यु भएको थियो । ती महिलाको मृत्यु भएसँगै सरकारले ५० वर्षभन्दा माथिको उमेरका व्यक्तिलाई मात्र अस्ट्राजेनिका खोप लगाउन सिफारिस गरेको थियो ।

अस्ट्राजेनिका खोप लगाएका व्यक्तिमा मस्तिष्कमा रगत जम्ने समस्या नदेखिएका व्यक्तिलाई मात्र दोस्रो डोज खोप लगाउन सरकारले अनुरोध गरेको थियो । अस्ट्रेलिया सरकारले आफ्ना नागरिकका लागि अमेरिकी खोप उत्पादक मोडर्नाका खोपहरु चाँडै भित्र्याउने योजना बनाएको छ, र यसै वर्षको अन्त्यसम्ममा सबै वयस्क व्यक्तिलाई कम्तीमा एक डोज खोप लगाउने घोषणा गरेको छ । (रासस–एपी)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया