काठमाण्डौंः अमेरिकी राष्ट्रपति जो बाइडेन र इजरायली राष्ट्रपति रेभन रिभलिनबीच भेटवार्ता भएको छ । अमेरिकी राष्ट्रपति बाइडेनले सोमबार ह्वाइट हाउसमा इजरायली राष्ट्रपति रिभलिनसँग वार्ता गर्नुर्भएको हो ।
उहाँहरुबीच अमेरिका र इजरायलबीचको द्धिपक्षीय हितका साथै अन्य कूटनीतिक विषयहरुमा कुराकानी भएको बताइएको छ ।
हाल इजरायलका राष्ट्रपति रिभलिन अमेरिकाको भ्रमणमा रहनुभएको छ । सो भेटका क्रममा उहाँहरुबीचमा इरानका विषयमा पनि कुरा भएको थियो ।
इरानले कुनै पनि हालतमा आणविक हतियार नपाउने विषयमा अमेरिकी राष्ट्रपति बाइडेनले इजरायली राष्ट्रपतिलाई सुनिश्चित गराउनुभएको थियो ।
त्यस भेटका क्रममा अमेरिकी राष्ट्रपति बाइडेनले इजरायली प्रधानमन्त्री नाफ्ताली बेनेटलाई छिट्टै नै अमेरिका भ्रमणका लागि आमन्त्रण गर्ने जानकारी पनि दिनुभएको थियो ।
त्यस क्रममा उहाँले यस क्षेत्रमा इजरायलको अरु देशहरुसँगको सम्बन्धलाई सामान्य बनाउने विषयमा पनि कुराकानी गर्नुभएको थियो । अमेरिकाले सो कार्यका लागि इजरायललाई सहयोग गर्ने पनि बताउनुभएको थियो ।
उहाँको आगामी महिना राष्ट्रपति पदको कार्यकाल सकिन लागेको छ । त्यस अगावै उहाँ अहिले अमेरिकाको भ्रमणमा रहनुभएको छ ।
इजरायलमा राष्ट्रपतिको पद आलंकारिक रहन्छ । त्यहाँ राष्ट्रपतिको कार्यकारी अधिकार थोरै मात्र रहेको छ । (रासस/सिन्ह्वा)
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया