काठमाडौः प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले सम्भावित कोरोनाको तेश्रो महामारीसँग लड्न आवश्यक तयारीमा लाग्न सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा विहीबार बसेको बैठकले सम्भावित कोरोनाको तेश्रो महामारीको तयारीसहित छिटो भन्दा छिटो परिणामदायी रणनीति बनाउन सरकारलाई निर्देशन दिएको हो । आवश्यक भौतिक संरचना र उपकरण, खोप लगाएका व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिइएको समिति सभापति निरुदेवी पालले जानकारी दिइन् ।
विभिन्न मुलुकमा बालबालिकालाई कोरोनाको खोप लगाइसकेको अवस्थामा नेपालमा पनि बालबालिकालाई प्रयोग गर्न मिल्ने खोपको व्यवस्था र स्थानीय तहमा समेत महिला तथा बालबालिकामैत्री क्वारेन्टाइनको तयारी गर्न पनि निर्देशन दिएको उनले बताइन् ।
उनले कोरोना उपचारका लागि बालबालिका विशेषज्ञ चिकित्सकको उचित व्यवस्थापन गर्न र अनिवार्य रुपमा खटाइएको क्षेत्रमा जाने वातावरण बनाउन पनि मन्त्रालयलाई निर्देशन दिइन् । त्यस्तै कोरोना संक्रमित बालबालिकाको उपचारमा कुनै कमी हुन नदिन र कोरोनाका कारण अनाथ हुन पुगेका बालबालिकाहरुलाई अनिवार्य रुपमा संरक्षण र व्यवस्थापन गर्न मन्त्रिपरिषद्को कार्यालय तथा स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिइएको समिति सभापति पालले बताइन् ।
बैठकमा समिति सदस्यहरुले सम्भावित तेश्रो लहरबाट बालबालिकाबाट जोगाउन सरकार गम्भीर रुपमा लाग्नुपर्ने सुझाव दिए । उनीहरुले प्रयाप्त भेन्टिलेटर लगाएत स्वास्थ्य उपकरणको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएका थिए ।
बैठकमा राष्ट्रिय बाल अधिकार परिषदका कार्यकारिणी निर्देशक डा. मिलनराज धरेलले हालसम्म ५४ हजार ४६० जना बालबालिकामा कोरोना संक्रमण देखिएको बताए । उन्का अनुसार कोरोनाको पहिलो लहरमा २१ हजार ५२३ बालबलिका संक्रमित भएका थिए ।
साथै, दोस्रो लहरमा ३२ हजार ९३७ जना बालबालिकामा संक्रमण देखिएको छ । दोस्रो लहरमा संक्रमण पुष्टि भएकामध्ये २९ हजार ७७७ जना निको भएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया