असार २३, २०८२ सोमबार July 7, 2025

एमालेको अवरोधपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रमुख विपक्षी दल एमालेको अवरोधका कारण लुम्बिनी प्रदेशसभाको आजको बैठक स्थगित भएको छ ।

नवौँ अधिवेशनअन्तर्गत आजको पहिलो प्रदेशसभा बैठक प्रमुख विपक्षी दल नेकपा एमालेले अवरोध गरेपछि भोलि बुधबार दिउँसो १ बजेम्मका लागि स्थगित भएको हो ।

बैठक शुरु भएलगत्तै नेकपा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले एमालेको संसदीय दलको ह्वीप उल्लङ्घन गर्ने र विधानविपरीत गतिविधि गर्ने दुई जना सदस्यलार्ई कारवाही गरिएको सूचना पढेर सुनाउन माग गर्नुभयो । उहाँले विमलाकुमारी खत्री वली र अजय शाहीलाई कारबाही नहुँदासम्म विपक्षी दलले बैठक चल्न नदिने बताउनुभयो ।

बैठकमा सभामुख पूर्णबहादुर घर्तीले कारवाहीको पत्र सचिवालयले प्रक्रियाअनुसार अघि बढाउने बताउनुभयो । त्यसपछि एमालेका सदस्यले उठेर विरोध जनाउनुभएको थियो । विपक्षी दलका सदस्यले टेबुल ठोकिरहँदा सभामुख घर्तीले प्रदेशसभा आह्वान भएको र लुम्बिनीमा नयाँ मन्त्रिपरिषद् गठन भएको जानकारी प्रदेशसभालाई गराएर बुधबार दिउँसो १ बजेसम्मको लागि बैठक स्थगित गर्नुभएको थियो ।

यसअघि एमालेले सूर्य चिह्न लिएर चुनाव जितेका दाङकी विमलाकुमारी खत्री वली र नवलपरासीका अजय शाहीलाई कारवाही गर्न भन्दै सभामुखलाई पत्र बुझाएको थियो । एमालेले वली र शाही पदमुक्त नहुँदासम्म प्रदेशसभाको बैठक चल्न नदिने जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया