काठमाण्डौंः दसैँ र तिहारका अवसरमा कञ्चनपुरमा आयोजित जिल्लास्तरीय सिनियर डवल्स व्याडमिन्टन प्रतियोगिताको उपाधि लक्ष्मण चन्द र भोजराज पन्तको जोडीले जितेको छ ।
कञ्चनपुर जिल्ला व्याडमिन्टन सङ्घको आयोजनामा सम्पन्न भएको प्रतियोगिताको बिहीबार साँझ फाइनल खेलमा दिलबहादुर धामी र पवन सिंहको जोडीलाई सोझो सेटमा पराजित गर्दै चन्द र पन्तको जोडीले उपाधि जितेको हो । उपाधि विजेता टिमलाई सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले पुरस्कृत गर्नुभयो । जुनियर एकलतर्फ प्रकाश चन्दले उपाधि जितेका छन् ।
फाइनल खेलमा चन्दले सौरभ बमलाई सोझो सेटले पराजित गरेका थिए । विजेता चन्द रु पाँच हजार र ¥याकेटसहित पुरस्कृत भएका छन् भने उपविजेता बमले रु तीन हजारसहित पुरस्कृत भए ।
उद्घाटन समारोहमा सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले चालु बर्षभित्रै कञ्चनपुरमा बहुउद्देश्यीय कवर्डहलको निर्माण सुरु हुने बताउनुभयो । “अहिले डिपीआर बनाउने काम भइरहेको छ”, उहाँले भन्नुभयो । उहाँले कोभिडका कारण खेल क्षेत्रको बजेट प्रदेश सरकारले अन्यत्र सार्नु परेकाले खेलकुद क्षेत्र यहाँ ओझेलमा परेजस्तो देखिएको बताउनुभयो । उहाँले सुदूरपश्चिमका विभिन्न जिल्लामा खेल संरचना निर्माण तथा प्रतियोगिता सञ्चालनमा प्रदेश सरकार सक्रिय रहेको बताउनुभयो ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभाका सदस्य प्रकाश रावल, व्याडमिन्टन सङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द स्वाँर, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ओम बस्नेत लगायतको सहभागिता थियो । गत असोज १६ गतेदेखि सुरु भएको प्रतियोगितामा सिनियरतर्फ जिल्लाभरबाट ५८ टिम र जुनियरतर्फ २२ जनाको सहभागिता रहेको प्रतियोगिताका संयोजक कञ्चनपुर व्याडमिन्टन सङ्घका उपाध्यक्ष शेरबहादुर सिंहले जानकारी दिनुभयो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया