काठमाण्डौंः सुर्खेतको वीरेन्द्रनगरमा जारी अन्तरपालिकास्तरीय कांक्रेविहार गोल्डकप फुलबलमा पञ्चपुरीले विजयी शुरुआत गरेको छ। बुधबार सम्पन्न उद्घाटन खेलमा पञ्चपुरी नगरपालिकाको टिमले गुर्भाकोट नगरपालिकाको टिमलाई २–०ले हराउँदै विजयको खाता खोलेको हो ।
खेल शुरु भएको १० मिनेटमा पञ्चपुरी नगरपालिकाको टिमले खाता खोल्न सफल भयो। खेलको ३६ औं मिनेटमा पञ्चपुरीका महेन्द्र विकले दोस्रो गोल गरेर टीमलाई अग्रता दिलाउँदै म्यान अफ द म्याच घोषित भए। पहिलो आधामा कुनै गोल गर्न नसकेको गुर्भाकोट नगरपालिकाको टिमले दोस्रोमा पनि थुप्रै गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकेन ।
आज हुने दोस्रो खेलमा वीरेन्द्रनगर नगरपालिका र सिम्ता गाउँपालिकाबीच प्रतिष्पर्धा हुनेछ। १४ गतेसम्म सञ्चालन हुने कपमा विजेताले रु. एक लाख र उपविजेताले रु. ५० हजार पुरस्कार, ट्रफी पाउनेछन्। यसैबीच, राष्ट्रिय उपमेयर कप फुटबल प्रतियोगितामा सहभागी हुने महिला खेलाडीहरुको बिदाइ गरिएको छ ।
वीरेन्द्रनगर नगरपालिका र जिल्ला फुटबल सङ्घ सुर्खेतले प्रतियोगितामा सहभागी खेलाडीहरुको बिदाइ गर्यो। उपप्रमुख मोहनमाया ढकालले पूर्ण हौसलाका साथ क्षमता प्रदर्शन गरी जित हासिल गर्न शुभकामना दिए। यही कात्तिक १२ गते काठमाडौंस्थित राष्ट्रिय फुटबल सङ्घको मैदानमा हुने प्रतियोगितामा सुर्खेतबाट २३ खेलाडी सहभागी हुँदैछन् ।
दोस्रो चरणको प्रतियोगितामा विजयी भएमा राष्ट्रिय महिला लिगका लागि छनौट हुनेछन्। लिगमा सात प्रदेश, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसहित १० विभाग रहने बताइएको छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया