श्रावण १८, २०८३ सोमबार August 3, 2026

नेपाली फिल्म ‘तिम्रो मेरो साथ’को मोफसल टुर पोखरादेखि सुरु

२९ पुषदेखि हलछिर्न लागेको फिल्म प्रचारका लागि निर्माण युनिट कलाकारसहित टुरमा निस्कियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली फिल्म ‘तिम्रो मेरो साथ’को मोफसल टुर पोखरादेखि सुरु भएको छ । २९ पुषदेखि हलछिर्न लागेको फिल्म प्रचारका लागि निर्माण युनिट कलाकारसहित टुरमा निस्केको हो ।

निर्माता तथा निर्देशक रमेश एमके पौडेलका अनुसार पोखराबाट सुरु भएको यात्रा बुटवल, नारायणगढ, हेटौंडा, विराटनगर, बिर्तामोड हुँदै काठमाडौंमा पुगेर समापन हुनेछ । फिल्म युनिटलाई पोखरामा दर्शक तथा मिडियाबाट साथ मिलेको उनले बताए ।

टोलीले फेवाताल बाराहीघाटमा मंगलबार पत्रकार सम्मेलनसमेत गरेको थियो । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले आफूहरुलाई ठूलो हौसला मिलेको प्रतिक्रिया दिइन् । फिल्मको उनको मुख्य अभिनय छ । अभिनेता पुष्प खड्काले पोखरा झैं अन्य सहरमा पनि यस्तै साथ मिल्ने अपेक्षा राखे ।

सार्वजनिक टिजर, गीत र ट्रेलरबाट मिलेको प्रतिक्रियाले आफू निकै उत्साहित भएको निर्देशक पौडेलले सुनाए । सविर श्रेष्ठको लेखन तथा कार्यकारी निर्माण रहेको फिल्ममा साम्राज्ञी, पुष्पसहित इमिली, सन्दीप क्षत्री, सरोज खनाल, खड्कबहादुर पुन, दिपिशा केसीलगायत कलाकारको अभिनय छ ।

फिल्ममा शिव ढकालको छायांकन, सुवाष भुषाल र योगेश काजीको संगीत, रामजी लामिछानेको कोरियो ग्राफी र भूपेन्द्र अधिकारीको सम्पादन छ । फिल्ममा पासाङ लामा, अर्नव पौडेल र आर्यन पौडेलको लगानी हो । सहनिर्माता निरु भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधीर पराजुली हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया