काठमाण्डौं: प्रमुख प्रतिपक्ष दल काँग्रेसले संविधान संशोधन विधेयक दर्ता गरेको छ । काँग्रेस सांसद अमरेशकुमार सिंहले केन्द्रीय समितिको निर्देशनअनुसार संविधानका ११ वटा धारामा संशोधन प्रस्ताव दर्ता गरिएको बताए ।
संशोधन विधेयकमा प्रदेशको सीमाङ्कन र संख्या हेरफेर गर्न संघीय आयोग गठन गर्नुपर्ने, अंगीकृत नागरिकता दिन सहज बनाउनुपर्ने, सबै भाषालाई राष्ट्रिय भाषाका रुपमा परिभाषित गर्नुपर्ने लगायतका विषय समेटिएका छन्।
संशोधन विधेयक दर्ताका लागि काँग्रेसका ८ जना सांसदहरू सिंह, प्रदीप गिरि, उमाकान्त चौधरी, पद्मनारायण चौधरी, तेजुलाल चौधरी, चित्रलेखा यादव, नमिता चौधरी र अभिषेक प्रताप शाह संघीय संसद् सचिवालयमा पुगेका थिए ।
संशोधन विधेयकबारे सिंहले भने, ‘पहिले कांग्रेस नेतृत्वको सरकारले दर्ता गरेको विधेयक नै दर्ता गरिएको बताए । उनले भने, केन्द्रीय समितिको निर्देशनअनुसार नै संशोधन विधेयक दर्ता गरेका हौं ।’
यसअघि समाजवादी पार्टी र राजपाले सोमबार मात्रै संसद् सचिवालयमा संविधान संशोधन विधेयक दर्ता गरेका छन् । सरकारका तर्फबाट नेपालको अद्यावधिक नक्सालाई निसान छापमा समावेश गर्न संविधान संशोधन विधेयक संसद्मा पेस भइसकेको छ ।
२०७४ भदौ ५ मा कांग्रेस सभापति शेरबहादुर देउवाले संसदमा पेश गरेको विधेयकमा सीमाङ्कन, नागरिकता, भाषा र राष्ट्रिय सभामा प्रतिनिधत्वका विषय छन् । त्यतिबेला यो विधेयक मतदानबाट अस्वीकृत भएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया