काठमाण्डाैंः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-११ का ११ महिने कोरोना सङ्क्रमित बालक सुशांक सुनार उपचारपछि महाकाली अस्पतालबाट सोमबार डिस्चार्ज भएका छन् ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. हरिकुमार श्रेष्ठले कोभिड-१९ आइसोलेसन व्यवस्थापनसम्बन्धी निर्देशिकानुसार आइसोलेसन कक्षमा १४ दिन पूरा भई उपचारपछि निको भएपछि बालक सुनारलाई डिस्चार्ज गरिएको बताए ।
स्वास्थ्य आपतकालीन केन्द्र रामशाहपथको पत्रानुसार थप एक हप्ता होम आइसोलेसनमा बस्ने गरी डिस्चार्ज गरिएको उनले बताए । होम आइसोलेसनमा बस्दा चिकित्सकको नियमित सम्पर्कमा रहने गरी र स्वास्थ्य मन्त्रालयको जारी निर्देशिकामा उल्लेख गरिएका कुराको पालना गर्नेलगायतका कुरा सम्झाएर पठाइएको उनको भनाइ छ । कोरोना जितेका बालक र उनकी आमालाई टीका र खादा ओढाएर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले बिदाइ गरेको हो ।
अस्पतालको आइसोलेसनमा भर्ना भएका भीमदत्त नगरपालिका-२ का ५० वर्षीय, महाकाली नगरपालिका-३ का ३८ वर्षीय र कागेश्वरी मनहरा नगरपालिका काठमाडौँका १८ र ३८ वर्षीय पुरुषलाई अस्पतालले आइतबार डिस्चार्ज गरेको थियो । अस्पतालमा ३० कोरोना सङ्क्रमित उपचाररत छन् ।रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया