वैशाख १५, २०८१ शनिबार April 27, 2024

कांग्रेस महासमिति बैठकको सान्दर्भिकता : लोकेश ढकाल

आफ्नो मार्गबाट भड्किएको कांग्रेसलाई सही बाटोमा ल्याउन यो महासमिति बैठकले सकारात्मक भूमिका खेल्नैपर्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेपाली कांग्रेसको महासमिति बैठक आज (सोमबार)देखि ललितपुरको गोदावरीमा प्रारम्भ हुँदै छ । बैठकअघि महासमितिलाई लक्षित गर्दै संविधानसभाबाट संविधान जारी हुनुपहिले ०७१ सालमा कांग्रेसभित्र गठित ‘नेपाली कांग्रेस, सनातन हिन्दू राष्ट्र नेपाल स्थापना महाअभियान’को पुनर्गठन र कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्यहरूको एक सशक्त समूहले संविधानमा भएको धर्मनिरपेक्ष राष्ट्रको व्यवस्थालाई खारेज गरेर वैदिक सनातन हिन्दूराष्ट्र नेपाल कायम गर्न महासमिति बैठकमा छलफल गरेर निर्णयमा पुग्न छुट्टै पूरक प्रस्ताव पेस गरेपछि कांग्रेसभित्र र बाहिर तरंग पैदा भएको छ ।

कांग्रेसभित्र पुनः सुरु भएको धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दूराष्ट्रको बहसले कांग्रेसीजनमा मात्र होइन, देशभरका सन्त महन्त एवं आमनेपाली जनतालाई उत्साहित बनाएको छ । धर्मनिरपेक्षता खारेज गरी हिन्दूराष्ट्र कायम गर्ने मार्गमा अब कांगे्रस अग्रसर हुन्छ कि भन्ने दिशामा जनतामा झिनो आशा पलाएको छ ।

निश्चयसाथ भन्न सकिन्छ– प्राचीनकालदेखि नै अनेकौँ ऋषि–महर्षिको पवित्र देवभूमि, तपोभूमि तथा शान्तिभूमि रहिआएको नेपाललाई वैदिक, पौराणिक एवं शास्त्रीय आधार र तदनुकूल बनेका हाम्रा मौलिक परम्परागत धर्म, संस्कृति, संस्कार, जीवन दर्शन र सभ्यताका हाम्रा महान् सम्पदालाई भत्काएर ११ वैशाख २०६३ मा पुनस्र्थापित संसद्को ४ जेठ २०६३ को घोषणाले नेपाल अधिराज्यको संविधानको मर्म र आमजनताको भावनाविपरीत जबर्जस्ती धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेको थियो । लगत्तै बनेको अन्तरिम संविधान र ३ असोज २०७२ मा जारी भएको संविधानमा पनि नेपाललाई धर्मनिरपेक्ष राष्ट्र कायम गरियो ।

हामी नेपाली धार्मिक, जातीय एवं भौगोलिक विविधताबीच एक–आपसमा सौहार्दपूर्ण रूपमा मिलेर बसिरहेको अवस्थामा जनआन्दोलनको भावनाविपरीत पुर्खाको नासोका रूपमा रहिआएको सनातन हिन्दूराष्ट्रको मौलिक राष्ट्रिय पहिचानलाई हचुवाका भरमा नष्ट गर्ने काम राजनीतिक, संवैधानिक एवं देशहितका दृष्टिले सर्वथा अनुचित थियो । यसलाई आमजनताले विरोध गर्दै आएका छन् । कांग्रेसभित्रैबाट पनि यसविरुद्ध निरन्तर आवाज उठिरहेको छ । नेपाली कांग्रेस, सनातन हिन्दूराष्ट्र स्थापना महाअभियानको पुनर्गठन र घोषणा यसैको पछिल्लो कडी हो ।

नेपाललाई धर्म–निरपेक्ष राष्ट्र घोषणा गरेपछि हाम्रो मौलिक नेपाली धर्म, संस्कृति एवं सभ्यतामाथि बलजफ्ती अतिक्रमण भइरहेको छ । विदेशी मिसनरीको नियोजित लगानीमा सोझासाझा नागरिकलाई प्रलोभनमा पारेर धर्म परिवर्तन गराइएकाले धार्मिक एवं सामाजिक सद्भावलाई बिथोलेर देशलाई विखण्डनको बाटोतर्फ उन्मुख गरिएकोप्रति आमजनताको गहिरो चिन्ता रहेको छ ।

महासमिति सदस्यले गुटगत एवं व्यक्तिगत स्वार्थ र राजनीतिक आग्रहभन्दा माथि उठेर देश र स्वयं कांग्रेसलाई बचाउन तथा चरम निराशामा रहेका जनतामा आशा भर्न सके भने मात्र यो बैठक सार्थक हुनेछ 

पछिल्ला चरणको प्रजातान्त्रिक आन्दोलन, शान्ति प्रक्रिया र संविधान निर्माणको क्रम हुँदै नेपाली राजनीति यहाँसम्म आइपुग्दा हामीले मुलुकको राष्ट्रियता, राष्ट्रिय अखण्डता र जनताको स्वाभिमानलाई केन्द्रबिन्दुमा राख्न सकेनौँ । राजनीतिक दलहरूले प्रजातन्त्रका लागि अनवरत संघर्ष त गरे, तर राष्ट्रियताको मुद्दामा निरन्तर चुके । राजनीतिक दल र तिनको नेतृत्वले देशहितलाई ख्याल नराखी केवल सत्तालाई मात्र केन्द्रमा राखेर राजनीति गर्दा राष्ट्र भयानक संकटको मोडमा उभिएको छ ।

विश्वमा दर्जनौं राष्ट्र इसाई र इस्लामिक धर्मलाई राज्यधर्म मानेर बसेको अवस्थामा विश्वको एक मात्र सनातन हिन्दूराष्ट्र नेपाल सिंगो नेपाली जनताको साझा पहिचान र गौरवको विषय बनेको थियो । हिन्दूराष्ट्र नेपाल विश्वका सम्पूर्ण सनातनी हिन्दू ॐकार परिवारको एक मात्र साझा आस्थाको केन्द्र रहँदै आएको थियो । त्यही ऐतिहासिक धरोहरलाई समाप्त गर्नकै निम्ति देशलाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिएको थियो भन्नेमा द्विविधा छैन ।

नेपालको कुल जनसंख्यामध्ये ॐकार परिवारभित्रका पौरस्त्य ८१.१९ प्रतिशत हिन्दूको अगाध आस्था, ८.२१ प्रतिशत बौद्धमार्गी एवं ३.१७ प्रतिशत किराँत, ०.२३ प्रतिशत बोन, प्रकृति, जैन, शिख आदि धर्मका अनुयायीबाट वैदिक सनातन कालदेखि विकसित एवं विस्तारित संस्कृति तथा सभ्यतामा आधारित उच्चतम मूल्य, मान्यता र आदर्शले निर्मित राष्ट्रिय एकता, विविधताबीचको सहिष्णुता, आपसी सद्भाव र सहअस्तित्वको जगमा घृणा र द्वेषरहित शान्तिपूर्ण नेपाली जीवनमूल्य र पद्धतिलाई अक्षुण्ण राख्न वैदिक सनातन धर्म, संस्कृति तथा सभ्यताले खेल्दै आएको उच्च भूमिकाको महŒवलाई आँखा चिम्लेर देशको भविष्यप्रति खेलबाड गर्दै राजनीतिक दलहरूले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेका थिए ।

नेपालको जनसंख्याको ४.४ प्रतिशत मुस्लिम धर्मावलम्बीले परापूर्व कालदेखि नै सनातन हिन्दूराष्ट्रप्रति राख्दै आएको अनुपम सद्भावलाई उच्च सम्मान गर्दै नेपाल हिन्दूराज्य रहँदा नेपालमा रहेका इस्लाम, इसाईलगायत अल्पसंख्यक धार्मिक समुदायको धार्मिक स्वतन्त्रताको प्रत्याभूति भएको, सबै धार्मिक समुदायबीच आपसी प्रेम, सामाजिक सद्भाव एवं भाइचारा रहँदै आएको यथार्थप्रति संविधान निर्माण गर्दा पटक्कै ध्यान दिएको देखिएन ।

हाम्रो देशको भूराजनीतिक यथार्थ, राष्ट्रियता र यसको संवेदनशीलता, हाम्रा परम्परागत धार्मिक, सामाजिक एवं सांस्कृतिक मूल्य, मान्यता र आमजनताको विचार र भावनाको पर्वाह नगरी गरिएको धर्मनिरपेक्ष राष्ट्र घोषणा, नेपालको मौलिक धर्म र संस्कृतिमाथि नियोजित रूपमा आक्रमण गरी सामाजिक सद्भाव बिथोलेर राष्ट्रियतालाई नै कमजोर बनाउन गरिएको षड्यन्त्रउपर कांग्रेस नेतृत्वमा कुनै गम्भीरता देखिएन । नेपाललाई धर्म–निरपेक्ष राष्ट्र घोषणा गरेयताका १७ वर्षमा हाम्रा वैदिक सनातन धर्म, संस्कृति एवं त्यसले सिर्जना गरेको हाम्रा वैभव र त्यसको जगमा निर्मित मौलिक नेपाली पहिचान र अस्तित्वमाथि थप आक्रमण भइरहेको यथार्थप्रति कांग्रेसको नेतृत्वमा कुनै चासो र चिन्ता नदेखिनु सबैभन्दा दुःखद विषय हो ।

यति हुँदाहुँदै पनि देशलाई बहुसंख्यक जनताको चाहना र देशको आवश्यकतालाई पर्वाह नराखी असंवैधानिक एवं वदनियतपूर्वक देशलाई जबर्जस्ती धर्मनिरपेक्ष राष्ट्र बनाइएकोप्रति कांग्रेसका देशप्रेमी, संस्कृतिप्रेमी एवं राष्ट्रवादी कार्यकर्ताले प्रारम्भदेखि नै विरोध गर्दै आएका हुन् । कांग्रेस महासमितिका सदस्यले नवलपरासीको त्रिवेणीधाममा भएको महासमिति बैठकमा धर्मनिरपेक्ष राष्ट्रको खारेजीको माग राख्दै सनातन हिन्दूराष्ट्रको पक्षमा सशक्त आवाज उठाएका थिए । ०७७ मा काठमाडौंमा सम्पन्न पछिल्लो महासमिति बैठकमा समेत बहुमत सदस्यले सनातन हिन्दूराष्ट्रको माग गर्दै हस्ताक्षर गरी प्रस्ताव पेस गरेका थिए । तर, पार्टीले त्यसलाई अनादर गर्‍यो ।

चालू महासमिति बैठकमा महासमिति सदस्यहरू विगतभन्दा अझ थप व्यवस्थित र सशक्त ढंगले हिन्दूराष्ट्रको मागलाई पार्टीमा राख्ने तरखरमा देखिन्छन् । विगतमा केन्द्रीय कार्यसमिति बैठकभित्रै यो मुद्दामा यति सशक्त आवाज उठेको थिएन । महासमिति सदस्यहरूबाटै महाअभियान घोषणा र कांग्रेस केन्द्रीय सदस्यहरूको उत्साहजनक सक्रियताले सनातन हिन्दूराष्ट्रको पक्षमा कांग्रेसभित्र विगतमा भन्दा सशक्त दबाब सिर्जना गर्ने निश्चित छ । कांग्रेसजस्तो प्रजातन्त्रवादी पार्टीले बहुमत कार्यकर्ताको मागलाई षड्यन्त्र र जालसाझीपूर्वक दबाएर, ९४ प्रतिशत वैदिक सनातन धर्मका अनुयायी ॐकार परिवारका आमजनताको भावनालाई कुल्चेर कतिन्जेल राजनीति गर्ने ? गम्भीर प्रश्न कांग्रेससामु खडा भएको छ ।

कांग्रेसले प्रजातान्त्रिक आन्दोलन, बृहत् शान्ति प्रक्रिया र संविधानसभा मुद्दाको स्वामित्वमाथि दाबी गर्दै पहिलो संविधानसभा निर्वाचनमा जनताबीच मत माग्न जाँदा जनताले कांग्रेसलाई किन पत्याएनन् ? २४० सिटमा केवल ३७ सिट मात्र दिएर जनताले कांग्रेसलाई किन दण्डित गरे ? त्यसमा समीक्षा गर्न कांग्रेसले कहिल्यै आवश्यक ठानेन । संविधान जारी भएपछि माथि दाबी गरिएको उपलब्धिका साथमा संविधान निर्माणको नेतृत्व हामीले गर्‍यौँ, संविधानसभामा हामी सबैभन्दा ठूलो दल भएकै कारण संविधान ल्याउन सम्भव भयो भन्दै सबै राजनीतिक उपलब्धि हाम्रै कारण सम्भव भएको हो भन्दै जनतामाझ मत माग्न जाँदा संविधान जारी भएपछिको पहिलो संसदीय निर्वाचनमा आमजनताले कुल १६५ संसदीय सिटमा किन २३ सिटमा थन्क्याएर कांग्रेसलाई किन निर्मम ढंगले दण्डित गरे ? के त्यसको समीक्षा कांग्रेसले गरेको छ ?

कांगे्रसका संस्थापकमध्येका एक, कांग्रेसलाई २० वर्ष नेतृत्व प्रदान गरेका, कांग्रेसबाटै दुईपटक देशका लोकप्रिय प्रधानमन्त्री बनेका सन्तनेता कृष्णप्रसाद भट्टराईले कांग्रेस महासमिति बैठकमा निवेदन लेख्दै भारी मन लिएर आफैँले स्थापना गरेको कांग्रेसलाई जीवन छँदै किन परित्याग गरे ? त्यसबारे कांग्रेसमा कहिल्यै विचार विमर्श भयो ? निश्चय नै भएन । पार्टी कार्यालयमा किसुनजीको तस्बिर झुन्ड्याएर मात्र उहाँप्रति सम्मान हुँदैन ।

महासमितिको बैठकका लागि केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री र उपसभापतिले निकै मिहिनेत गरेर सिद्धहस्त साहित्यकारको निबन्धजस्तो राजनीतिक दस्ताबेज तयार गरेर छलफलका लागि पेस गरेका छन् । सुन्दर र गहकिला शब्द प्रयोग गरेर तयार पारिएको लामो राजनीतिक दस्ताबेजले वर्तमान कांग्रेसको रोगको निदान गर्न र ओखतीको उचित प्रेस्क्रिप्सन दिन भने सकेको देखिँदैन । डाक्टरले बिरामीको रोगको निदान नै नगरी हचुवाका भरमा ‘यति साताका लागि यो औषधि खाएर हेरौँ, अनि फेरि जाँचौँला’ भनेको शैलीमा राजनीतिक प्रस्ताव पेस गरिएको छ । कांग्रेसको वर्तमान समस्या के हो ? त्यसको निदानको कुरा त टाढा, त्यसलाई कोट्याउनसम्म सकेको छैन त्यसले ।

कांग्रेसको रोग निदानको सन्दर्भमा हामीले उठाएको हिन्दूराष्ट्रको मुद्दा त एउटा महत्वपूर्ण कडी हुँदै हो । तर, कांग्रेसले शान्ति प्रक्रिया, संविधानसभा निर्वाचन र संविधान निर्माणका क्रममा रहर वा बाध्यताले गरिएका राजनीतिक सम्झौता, लिएका राजनीतिक अडान र विभिन्न सरकारमा रहेर गरेका निर्णयबाट परेको प्रभाव र आफ्ना ‘फाउन्डिङ प्रिन्सिपल’ तथा बिपी कोइरालाको राष्ट्रिय एकता र मेलमिलापको नीतिविपरीत लिइएका राजनीतिक अडान र निर्णयउपर निर्मम समीक्षा गरी पार्टीलाई सही मार्गमा ल्याउन सकिएन भने कांग्रेसले आफ्नो पुरानो गौरवशाली साख फर्काउन सक्दैन ।

इतिहासमा गरेको गल्तीबाट सिक्दै आफूलाई सच्याउन तत्पर नभएसम्म कांग्रेसले आफ्नो उचित मार्ग पहिल्याउन सक्दैन । त्यसका लागि कांग्रेसले आफ्नो निकट विगत, विशेषगरी १२ बुँदे समझदारीयताको राजनीतिक मार्गचित्रलाई गहन ढंगले समीक्षा गर्नुपर्छ । धर्मनिरपेक्षताको सवाल मात्र होइन, संघीयता, गणतन्त्र, निर्वाचन प्रणालीलगायत संविधानको मूलभूत विषयमा पुराना नयाँ सबै देशका राष्ट्रिय शक्तिलाई एक ठाउँमा बसालेर, सहमति निर्माण गर्दै नेपाली जनतालाई छनोट गर्न दिने राजनीतिक वातावरण बनाउन कांग्रेसले अग्रसरता लिनैपर्छ ।

कांग्रेस केवल एउटा राजनीतिक दल मात्र होइन । यो दलहरूको पनि दल हो । यो प्रजातान्त्रिक शक्ति मात्र होइन, देशको प्रमुख राष्ट्रवादी शक्ति पनि हो । यो देशको अभिभावकत्व लिनुपर्ने राजनीतिक शक्ति हो । देशको अभिभावकत्व निर्वाह गर्दै संकटतर्फ धकेलिँदै गएको देशलाई बचाउन, पहिले आफ्नै पार्टीलाई सही मार्गमा ल्याउन जरुरी छ । कताकता भड्किएको कांग्रेसलाई सही मार्गमा ल्याउन थोरै योगदान यो महासमिति बैठकले दिन सक्यो भने यसको सार्थकता रहन्छ, अन्यथा विगतका महासमिति बैठकजस्तै केवल विधानको बाध्यतालाई निर्वाह गर्दै कर्मकाण्डी शैलीमा सकियो भने यसले कांग्रेसको हित गर्दैन र देशले पनि केही पाउँदैन ।

महासमिति सदस्यहरूले गुटगत एवं व्यक्तिगत स्वार्थ र राजनीतिक आग्रहभन्दा माथि उठेर देश र स्वयं कांग्रेसलाई बचाउन तथा चरम निराशामा रहेका जनतामा आशा भर्न सके भने मात्र यो बैठक सार्थक हुनेछ । आजको प्रजातन्त्र दिवसले देशको हितमा सत्मार्गमा हिँड्न हामी आमकांग्रेसजनलाई प्रेरणा देओस् ! हार्दिक शुभ कामना !

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया