वैशाख १५, २०८१ शनिबार April 27, 2024

बैंकमा राखेको पैसा कति सुरक्षित छ ? : बबिता बस्नेत

राष्ट्र बैंकले आइटी सिस्टम, मोबाइल बैंकिङ सुरक्षा र डाटा संरक्षणका लागि सबै बैंकहरूलाई विशेष निर्देशन दिनैपर्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

यही २०८० फाल्गुण ७ गते बिहान ललितपुरनिवासी एक युवाले आफ्नो मोबाइल हेर्दा भररर एकैचोटि एघार वटा म्यासेज देखे । सबै म्यासेज आफ्नो खाता भएका तीन वटा बैंकको अलर्ट सिस्टमबाट आएको थियो र, पैसा निकालिएको म्यासेज थियो । म्यासेज देखेर उनी आत्तिनु स्वभाविकै थियो । केही दिनअघि मात्र सेयर बेचेको पैसा सबै निकालिएको थियो । प्रजातन्त्र दिवसका कारण बिदाको दिन छ, के गरौँ, कसो गरौँ, कसलाई भनौँ… ? राति आनन्दले सुतेको मान्छे बिहान उठ्दा एक्कासी नसोचेको विपत्ति आइलाग्यो ।

कनेक्ट आइपीएसमार्फत पैसा निकालिएको थियो । कनेक्ट आइपीएस बैंक नगइ आफ्नो मोबाइल या कम्युटरबाट सिधै पैसा भुक्तानी गर्ने विद्युतीय प्रविधि हो । यो प्रविधिमार्फत एउटा बैंकबाट अर्को बैंकमा सजिलै पैसा पठाउन सकिन्छ । अन्तरबैंक पैसा पठाउने सुविधा भएकाले कारोबार गरिरहनेहरूमा आजकाल यो निकै प्रचलित छ । ती युवाले आफ्नो मात्र नभइ परिवारका सदस्यहरूको समेत सेयर किनबेच कनेक्ट आइपीएसमार्फत गर्दै आएका थिए ।

खोजी गर्दै जाँदा उनको इमेल ह्याक गरेर एउटा बैंकबाट अर्को बैंक, ‘आइएमी पे’ र ‘वालेट’मा पैसा पठाएको पाइयो । उजुरी गर्ने निकाय सीआईबी र साइबर ब्युरोमा हिजोआज आफ्नो बैंक खाताबाट अर्कोमा यसरी पैसा पठाएर खाता खाली गरेका घटना लिएर जाने मानिसहरूको सङ्ख्या बढ्दै गएको रहेछ । यस्ता घटना प्रायः नेपाली नागरिकताबाट खोलिएका बैंक खाता प्रयोग गरेर विदेशी ह्याकरहरूले गर्ने गरेका रहेछन् । कतिपय घटनामा चाहिँ बैंककै स्टाफहरूको संलग्नता पनि हुनेरहेछ । कुनै साधारण नेपाली नागरिक जसलाई साइबर जोखिम या बैंक खाताको सञ्चालनबारे थाहा छैन त्यस्ता मानिसहरूको नागरिकता प्रयोग गरेर बैंक खाता खोल्ने, अरुको खाता ह्याक गरेर पैसा पठाउने कार्य बढ्दै जाँदा यो विषयमा जनचेतना जगाउने, जनमानसलाई सचेत गराउने काम भनें शून्य छ । जसलाई पऱ्यो उसैले मात्र थाहा पाउने अवस्थाका कारण सुरक्षाका लागि बैंकमा राखिएको आफ्नो पैसा कति असुरक्षित छ भन्ने बारेमा मानिसहरू बेखबर छन् ।

जसको नाममा बैंक खाता खोलिएको छ, उनीहरूकै नाममा टेलिफोनको सिमकार्ड लिने र ह्वाट्सएप चलाउने गरेको पाइएको छ । प्रहरीले अनुसन्धान गरेर खातावाला पत्ता लगाएको तर तिनीहरूलाई कनेक्ट आइपीएस के हो, मोबाइल बैंकिङ या एटीएम कार्ड के हो भन्ने जानकारी त के, कुन बैंकमा आफ्नो खाता छ भन्नेसमेत थाहा नभएको अवस्था रहेछ । यसरी खाता खोल्नेहरूमध्ये प्रायः सबैले एनसेलको मोबाइल फोन प्रयोग गर्ने रहेछन् ।

प्रहरीले कति दुःख, मेहेनत गरेर पक्राउ गरेको मान्छेसँग सम्पत्तिको नाममा केही पनि छैन, पीडितले पैसा कसरी असुल गर्छ ? आफूले सोधीखोजी नगरी बिनाजानकारी दिएको नागरिकताले भोलि जेल पुऱ्याउन सक्छ भनेर सर्वसाधारणलाई जानकारी दिने निकाय कुन हो ? जनमानसमा यो चेतना कसरी पुऱ्याउने, कसले पुऱ्याउने ? बैंकहरूको काम पैसा कमाउने मात्रै हो ?

खातावाला पक्राउ ग¥यो तर उसलाई बैंक खाताको बारेमा केही थाहा छैन । कसरी यस्तो भइरहेको छ त ? भन्दा कुनै सर्वसाधारणलाई अलिकति पैसा दिएर ‘तिमी र म ब्यापार ब्यवसाय गर्ने नागरिकता देउ’ भनी नागरिकता र फोटो माग्ने गरिएको पाइएको छ । कतिलाई चाहिँ ‘हाम्रो ब्यापारबाट आएको पैसा’ भनेर बेला-बेलामा दुई/चार हजार दिने गरेका घटनाहरू पनि प्रहरीसामु रहेछन् । नेपालका बैंकहरू कति असुरक्षित छन् भन्ने कुरा मानिस आफूलाई परेपछि मात्रै थाहा हुने र घटना बाहिर खासै नआउने अवस्थाको प्रमुख कारण बैंकहरू नै देखिन्छ । कुनै पनि बैंकमा खाता खोल्दा केवाईसी भरिएको हुन्छ । उ के गर्छ ? कति आम्दानी गर्छ ? जस्ता कुराहरू त्यहाँ उल्लेख गरिएको हुन्छ । यदि कुनै आम्दानी नभएको एउटा साधारण मानिसले आफ्नो बैंकमा खाता खोल्छ र लाखौँको कारोबार विद्युतीय माध्यमबाट गरिरहेको छ भने उसको खाताको बारेमा निगरानी राख्ने काम कसको हुन्छ ? आफ्नो बैंकबाट यस प्रकारको कारोबार भएको देखिएपछि सम्बन्धित निकाय, ब्यक्ति र जनमानसमा जानकारी दिने काम कसको हो ? आफ्नो बैंकबाट यस्ता घटनाहरू भइरहँदा बैंकको रेपुटेसन खस्कने ठानेर जानकारी नै नदिने गरिएको छ । बैंकको रेपुटेसन ठुलो कि मानिसले दुःख गरेर जोगाइ सुरक्षित होस् भनेर बैंकमा राखिएको पैसा ठुलो ? ठुला-ठुला साइबर जोखिम आउँदा पनि बैंकहरू चुप लागेर बस्नु आफ्ना ग्राहकप्रतिको बेइमानी हो ।

यस्तैखाले वित्तिय साइबर अपराधमा खोजी गर्दै जाँदा नेपाल प्रहरीले बैंक खाता खोल्नेको नामथर एउटा तर फोटोचाहिँ अर्कैको टाँसिएको पनि भेटेको रहेछ । आफ्ना ग्राहक बढाउनका लागि बैंकहरूले यति धेरै लापरवाही गर्न मिल्छ ? प्रायः सबै बैंकले ई-बैंकिङ सुविधा राखेका छन् तर तिनका आईटी प्रणाली कत्तिको सुरक्षित छन् ? केही समयअघि चाइनिज गिरोहले एटीएम ह्याक गरेर पैसा निकालेपछि नेपाल राष्ट्र बैंकले एटीएम बुथको सुरक्षाका लागि सुरक्षाकर्मी खटाउनुपर्ने परिपत्र गरेको भनी सार्वजनिक भएको थियो । यो भौतिक सुरक्षाको कुरा भयो, आईटी सिस्टमको सुरक्षा कसले गर्ने ? बैंकले आफ्ना ग्राहकको खाता सुरक्षालाई लिएर निश्चित रकमभन्दा माथि ‘लक सिस्टम’ या यस्तै केही सुरक्षाको उपाय गर्नैपर्छ । त्यसका लागि राष्ट्रबैंकले नै सुरक्षा उपायहरूको बारेमा अनिवार्य ब्यवस्था गर्नु आवश्यक छ । प्रहरीले कति दुःख, मेहेनत गरेर पक्राउ परेको मान्छे सम्पत्तिको नाममा केही पनि छैन, पीडितले पैसा कसरी असुल गर्छ ? आफूले सोधीखोजी नगरी बिनाजानकारी दिएको नागरिकताले भोलि जेल पुऱ्याउन सक्छ भनेर सर्वसाधारणलाई जानकारी दिने निकाय कुन हो ? जनमानसमा यो चेतना कसरी पुऱ्याउने, कसले पुऱ्याउने ? बैंकहरूको काम पैसा कमाउने मात्रै हो ?

प्रविधिले हामीलाई धेरै कुरामा सहज बनाएको छ तर समयक्रममा जोखिम पनि बढ्दो छ । नेपाली बैंकमा रहेको विभिन्न ब्यक्तिका खाताको पैसा विदेशमा बसेर आफ्नो खातासम्म पुऱ्याउने अपराधीहरूले अरुको नागरिकता लिएर ब्यापार ब्यवसायको सपना देखाउने, साथसाथै प्रेम सम्बन्धको नाटकलाई पनि मुख्य आधार बनाउने गरेको पाइएको छ । म यो देशको ठुलो ब्यापारी हुँ, डाक्टर हुँ या यस्तै केही भनेर महिला भए पुरुष र पुरुष भए महिला बनेर सम्बन्ध अघि बढाउने, तिम्रो खातामा पैसा हालिदिन्छु भनेर ओटीपी माग्ने र खाता आफ्नो हातमा लिने गरेको पनि पाइएको छ । प्रेम सम्बन्धमा छु भनी ठान्नेहरूले आफ्नै मान्छेलाई दिएको त हो भनेर आँखा चिम्लिएर विश्वास गर्ने अनि ती साइबर अपराधीहरूले सोही बैंकखाता प्रयोग गरेर अन्य खाताहरू ह्याक गरी नेपाली पैसा सिधै विदेशमा निकाल्ने गरेका छन् ।

यदि कुनै आम्दानी नभएको एउटा साधारण मानिसले आफ्नो बैंकमा खाता खोल्छ र लाखौँको कारोबार विद्युतीय माध्यमबाट गरिरहेको छ भने उसको खाताको बारेमा निगरानी राख्ने काम कसको हुन्छ ?

यसप्रकारको अपराध गरी नेपालीहरूको रकम विदेश पुऱ्याउने क्रम तीव्र बन्दैगर्दा बैंकहरू आफ्नो रेपुटेसन तलमाथि होला भनेर मौन बस्नु अर्को अपराध हो । कुनै घटना हुनासाथ आफ्ना सबै ग्राहकहरूमा पुग्ने गरी बैंकहरूले सूचना, जानकारीहरू सम्प्रेषण नगर्नाले एकपछि अर्को घटना बढिरहेका छन् । आफ्ना ग्राहकहरूलाई विद्युतीय बैंक प्रयोग गर्नुस् भन्ने तर क्षमता अभिवृद्धिका लागि कुनै पहल नगर्नु पनि बैंकहरूले गर्नैपर्ने तर नगरेको अर्को काम हो । आफ्ना ग्राहकमध्ये कति वित्तिय साइबर सुरक्षामा ख्याल गर्न सक्ने छन् ? बैंकहरूले कहिल्यै म्यापिङ गरेका छन् ?- छैनन् । मोबाइल बैंक प्रयोग गर्नुस्, कनेक्ट आइपीएस प्रयोग गर्नुस् भन्ने अनि यस्ता प्रविधिबाट हुनसक्ने र भइरहेका जोखिमका बारेमा जानकारी भने नदिने कार्यले पनि ठुलो क्षति भइरहेको छ ।

अधिवक्ता टंक अर्यालले प्रायः भनेको सुनिन्छ, ‘हामी नेपालीहरू ‘प्राइभेसी’लाई पटक्कै महत्व दिँदैनौँ । डाटा संरक्षण हाम्रो प्राथमिकतामा पर्दैन ।’ हुन पनि हो, पासवर्ड हाम्रो डायरीमा लेख्छौँ या मोबाइलमै सेभ गर्छौं । हामी घरमा राखेको पैसा र गरगहना चोरी होला कि भनेर साँचो लाउछौँ तर बैंकमा रहेको पैसाको संरक्षण गर्ने साँचो पासवर्ड भने लुकाएर राख्दैनौँ । राष्ट्र बैंकले आइटी सिस्टम, मोबाइल बैंकिङ सुरक्षा र डाटा संरक्षणका लागि सबै बैंकहरूलाई विशेष निर्देशन दिनैपर्छ । कुनैपनि प्रविधि प्रयोग गरेर अपराधीहरूले आफ्नो खाताबाट पैसा निकालेपछि मानिस त्यसै नर्भस हुन्छ । बेलुका सुत्दा आफ्नो पैसाले यो गर्छु त्यो गर्छु भन्ने सपना बुन्दै सुतेको मान्छे बिहान उठ्दा जिरो ब्यालेन्समा पुग्दा कसको मन हतास नहोला ? को नआत्तिएला ? त्यस्तो बेलामा सबैभन्दा पहिला कहाँ जाने ? कसलाई भन्ने ? उजुरी गर्ने सही निकाय कुन हो ? यस्ता सवालका बारेमा पनि सर्वसाधारणलाई जानकारी दिनु आवश्यक छ । आफू एकाएक लुटिएर शून्यमा पुगेका बेला धेरै ठाउँ गुहारिरहने हिम्मत उसलाई हुँदैन, त्यसैले यस्तो अपराधलाई समग्रमा सम्बोधन गर्ने संयन्त्रको स्थापना पनि जरुरी छ । घटना र बिचारबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया