जेठ १, २०८१ मंगलबार May 14, 2024

नक्सापास भएपछिका काम – बुद्धिनारायण श्रेष्ठ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

लिपुलेक, कालापानीदेखि लिम्पियाधुरासम्मको भूभाग समावेश गरिएको संशोधित नक्सा निसान छापमा समेट्न संविधान संशोधन भई राष्ट्रपतिबाट असार ४ गते प्रमाणीकरण भइसकेपछि सग्लो नेपाल ‘राजनीतिक तथा प्रशासनिक नक्सा’ पाको भएको छ । हामीले पूरै भूभाग समेटिएको नक्सा पाएका त छौँ, अब आफ्नै भूमिबाट भारतीय सैनिक हटाएर भूमि प्राप्त गर्नु छ ।

सन् १९६२ मा भारत–चीन सीमायुद्धमा भारतको हारेपश्चात् दुर्घटनावश नेपालको भू-स्वामित्व तथा सार्वभौमिकतामा भएको कालापानी क्षेत्र भारतीय सैन्य र इन्डो–टिबेटियन बोर्डर पोस्टले ओगटेको थियो । कालापानी क्षेत्रबाट भारतीय सैन्य हटाउन नक्सा प्रकाशित गरेर नेपाल एक कदम अगाडि बढेको छ । दार्चुलाको छाङ्रुमा सशस्त्र प्रहरी बोर्डर अब्जर्भेसन पोस्ट (बिओपी) खडा गरेर नेपाल अझ अगाडि बढेको छ । अब नेपालले आफ्नाे कौशलतापूर्ण रणनीति र कूटनीतिक चाल चालेर त्यहाँबाट भारतीय फौज हटाउने पहल गर्नुपर्छ । यसका लागि केही समय लाग्ला । तर, हट्नु र हटाउनुको विकल्प छैन ।

नेपालले चाल्नुपर्ने कदम : राष्ट्रपतिबाट प्रमाणीकरणपछि अब नेपालले तत्काल केन्द्रीय तथ्यांक विभागले स्थापना गरेको नेपालको क्षेत्रफलमा थप गर्ने, मानचित्रमा नेपालको अवस्थितिको अक्षांश, देशान्तरको तथ्यांक परिवर्तन गर्नुपर्ने हुन्छ । यी विवरण पाठ्यपुस्तकदेखि नेपाल परिचयजस्ता पुस्तक लिफलेटमा अद्यावधिक गर्नुपर्छ । संशोधित नक्सा प्रिन्ट विद्यालयदेखि विश्वविद्यालयलाई उपलब्ध गराउनुपर्छ ।

एउटै भूगोलको भाग दुई छिमेकी देशले आ-आफ्नो तरिकाले नक्सा ओभरल्याप पारेर प्रकाशित गरेको खण्डमा कुनलाई मान्यता दिइन्छ ! यस सम्बन्धमा संयुक्त राष्ट्रसंघ कार्टोग्राफिक जियोइन्फर्म्याटिक्स डिभिजनको सिद्धान्त, परिपाटी, अभ्यास के-कस्तो छ भन्ने अध्ययन गर्नुपर्छ ।

नेपालस्थित विदेशी दूतावासलाई अंग्रेजी लिपिको संशोधित नक्सा तत्कालै निःशुल्क उपलब्ध गराउनुपर्छ । यसबाट भारतले ओगटेको कालापानी क्षेत्रको भूभाग नेपालको स्वामित्वको हो भन्ने सन्देश प्रवाह हुन पुग्छ । गुगल इमेजमा नेपालको संशोधित नक्साअनुसारको सीमा र क्षेत्रफल हाल्न लगाउनुपर्छ ।

विकिपेडियामा नेपाल आफैँले संशोधन गर्न सक्ने भएकाले त्यो काम आजै गर्नुपर्छ । सांसदको परिचयस्वरूप लगाइने लकेटमा रहेको नक्सा, केन्द्रीय-प्रदेश सरकार, विदेशस्थित दूतावास मिसनको साइनबोर्ड, लेटरप्याड, भिजिटिङ कार्ड आदिको लोगो संशोधन गर्नुपर्छ । सरकारी मन्त्रालयदेखि प्रदेश सरकार तथा विभिन्न निकायको कार्यकक्षमा झुन्ड्याइएका पुराना नक्सालाई नयाँले विस्थापित गर्नुपर्छ।

नेपाल-चीन बाँकी सीमा रेखांकन : नेपाल–चीन संयुक्त सीमा समितिले सन् १९६१–६२ मा दुई देशबीच सीमांकनको काम गरेको थियो । त्यसबखत दार्चुला क्षेत्रको टिंकर भञ्ज्याङमा सीमाखम्बा नम्बर १ स्थापना गरी त्यहा“बाट उत्तर लिपुलेक भञ्ज्याङतर्पm सीमारेखा बढाउँदै ५ हजार ४६१ मिटर उचाइको थुम्कोसम्म करिब चार किलोमिटर रेखांकन गरिएको थियो । यो सीमारेखा नक्सामा अंकन गरिएको छ ।

लिपुधुरा डाँडो हुँदै उत्तर बढेको यो सीमारेखा आधा किलोमिटर उत्तरको ५ हजार ९८ मिटरमा घाँटी परेको लिपुलेक (छ्यांगला) भञ्ज्याङ पु-याइनुपर्छ । अनि त्यहाँबाट अझ उत्तर ५ हजार २५२ मिटरको पानीढलो समात्दै ५ हजार २४८ को थुम्को, अनि फेरि पानीढलो हुँदै ५ हजार ७० मिटर पु-याइनुपर्छ । स्मरणीय छ, नेपाल–चीन सीमांकनकै समय लिपुलेकभन्दा करिब तीन किलोमिटर उत्तरसम्मको पनि नक्सा बनाइसकिएको छ ।

तीनै देशको उपस्थिति र सहकार्यमा त्रिदेशीय बिन्दु सकेसम्म छिटो स्थापना गर्न नेपालले कूटनीतिक पहल गर्नुपर्छ  ।

अब त्यहाँबाट सीमारेखा उत्तर-पश्चिमतर्फ मोड्दै ८ हजार ७९१ मिटरसम्म उचाइको पानीढलो हुँदै ५ हजार ५३२ मिटर भएको लिम्पियाधुरा पु-याइनुपर्छ । त्यहाँ त्रिदेशीय बिन्दु स्थापना गरिनुपर्छ । यही उचाइबाट सुगौली सन्धिको कालीनदी उद्गम भएको छ । यसै बिन्दुबाट भारत र चीनको सीमारेखा दक्षिण–पश्चिमतर्फ लाग्छ । नेपाल–चीन संयुक्त सीमा समितिले सन् २००५ देखि सीमा प्रोटोकल नवीकरण गर्ने काम गरिरहेको छ । त्यही समितिले लिपुलेक भञ्ज्याङ नजिकदेखि लिम्पियाधुरासम्मको सीमांकनको काम सकेसम्म छिटै सुरु गर्न चीनसमक्ष अनुरोध गर्नुपर्छ ।

त्रिदेशीय बिन्दु :  तीन छिमेकी देशको भूभाग जुट्ने भागलाई त्रिदेशीय क्षेत्र भनिन्छ । यस्ता तीनै देशको सीमा छुट्टिने स्थानमा त्रिदेशीय बिन्दु स्थापना गरिने प्रचलन छ । यस बिन्दुको क्रमांक शून्य नम्बरको हुन्छ । चीनको १६ स्थानमा त्रिदेशीय बिन्दु पर्छ भने भारतको ७ स्थानमा । ब्राजिल-भेनेजुएला-गुयानाबीचको त्रिदेशीय बिन्दुलाई शून्य नम्बर अंकन गरिएको छ।

नेपाल-भारत-चीनबीच दुई स्थानमा त्रिदेशीय बिन्दु स्थापना गरिनुपर्छ । एउटा पूर्वी नेपालको ताप्लेजुङ उत्तरको झिन्साङचुलीमा र अर्को पश्चिममा लिम्पियाधुरामा । त्रिदेशीय बिन्दु स्थापना तीनै देशको उपस्थितिमा गरिने प्रचलन छ । त्यसैले तीनै देशको सहकार्यमा यस्ता बिन्दु सकेसम्म छिटो स्थापना गर्न नेपालले कूटनीतिक पहल गर्नुपर्छ ।

वार्ताको रणनीति, कूटनीति, मोडालिटी, रणनीति तयार गर्नुपर्छ । हामीले प्रमाणस्वरूप प्रस्तुत गर्ने कुन नक्साले के भनेको छ, नेपालका लागि दरिलो नक्सा कुन छ, यसको विशेषता के छ भन्ने राम्ररी व्याख्या विश्लेषण गर्नुपर्छ ।

कालापानीमा मिलामा वार्ता : २ नोभेम्बर २०१९ मा भारतले राजनीतिक नक्सा प्रकाशित गरी उसले ओगटेको नेपालको स्वामित्व भएको ३७२ वर्गकिलोमिटर भूभाग भारततर्पm पारेकाले नेपालले विरोध गर्दै वार्ताको आह्वान गरेको थियो । भारतले नेपालको कालापानी भूभागसमेतमा बनाएको लिपुलेक मार्ग ८ मे २०२० मा भर्चुअल उद्घाटन गरेपछि नेपालको सम्प्रभुतामा दखल परेको भनी पटक-पटक कूटनीतिक नोट दिँदै वार्ताका लागि आह्वान गरेको थियो । भारतले वार्ता गर्ने मनसाय प्रकट गरे पनि वार्ताको मिति तोक्न नेपालले पत्राचार गर्दा तय हुन सकेन ।

नेपालले २० मे मा संशोधित राजनीतिक तथा प्रशासनिक नक्सा प्रकाशित गरेपछि भारतले आप्mनो भूभागको अंश नेपालमा पारिएकाले यो नक्सा मान्य छैन भन्यो । यद्यपि भारतीय रक्षामन्त्रीले सीमा समस्या वार्ताबाटै सुल्झिन्छ, नेपाललाई कुनै आरोप लगाउने पक्षमा आफू नभएको कुरा २ जुनमा व्यक्त गरेका छन् । तर पनि वार्ता मिति टुंगो लागिसकेको छैन । वार्ताको चाहना एक पक्षले मात्र गरेर हुँदैन, दुवै पक्षको उत्तिकै उत्सुकता र सहभागिता आवश्यकता पर्छ ।

नेपालका लागि भारतीय पूर्वराजदूत देव मुखर्जीदेखि हालै अवकाश प्राप्त मञ्जीवसिंह पुरीसम्मले वार्ता नै समाधानको उपाय भएको बताएका छन् । नेपालका पूर्वकूटनीतिज्ञ तथा भारतका लागि पूर्वराजदूत भेषबहादुर थापादेखि केहीअघिका दीपकुमार उपाध्यायसम्मले वार्ताद्वारा नै सीमा समस्या हल गर्नुपर्ने धारणा प्रकट गरेका छन् । दुवै देशका राजनीतिज्ञले पनि वार्ताले नै समाधानको उपाय निकाल्छ भन्ने धारणा व्यक्त गरिरहेको अवस्थामा पनि वार्ताको मिति निर्धारण हुन सकेको छैन ।

दुवै देशका राजनीतिज्ञले पनि वार्ताले नै समाधानको उपाय निकाल्छ भन्ने धारणा व्यक्त गरिरहेको अवस्थामा पनि वार्ताको मिति निर्धारण हुन सकेको छैन ।

भारतले वार्ताको मिति तोक्न नमाने वार्तामा बस्न नचाहेको हो कि भन्ने बुझ्नुपर्छ । अन्ततः भारत वार्तामा आएन भने नेपालले के कस्तो रणनीति अपनाउने भन्ने जिज्ञासा उत्पन्न हुन्छ । केही गरी वार्ता अटेर गरेमा भारतलाई नै घाटा हुन्छ भन्ने कूटनीतिक भाषाद्वारा चेतावनीमूलक सन्देश प्रवाह गर्न सक्नुपर्छ । नेपालले भारतलाई बुझेको छ, भारतले पनि नेपाललाई बुझ्नुपर्छ भन्ने कूटनीतिक भाषा प्रयोग गर्नुपर्छ ।

वार्ताको एजेन्डा :  दुई देशबीच चाहे सचिवस्तरमा वार्ता होस् या परराष्ट्रमन्त्री अथवा प्रधानमन्त्रीस्तरमा नै किन नहोस्, वार्ताको एजेन्डा एकबुँदे हुनुपर्छ । त्यो हो, ‘काली-महाकाली’ नदीको उद्गम पहिचान र निर्धारण । यही एउटा बुँदामा प्रमाण भिडाउने, छलफल गर्ने र निचोडमा पुग्ने गर्नुपर्छ । ‘भारतसँग नेपालको पश्चिमी सीमा नदी हो, जमिन सीमा एक इन्च पनि छैन’ भन्ने रणनीति अवलम्बन गर्नुपर्छ । नदीको उद्गम निर्धारण हुनेबित्तिकै कालापानी समस्या समाधान भइहाल्छ । सम्भवतः सुरुमा वार्ता सचिव तहबाटै हुनु सान्दर्भिक हुन्छ । कुरो नमिले माथिल्लोस्तरमा उक्लिनुपर्छ । मननीय छ, नेपाल र चीनबीच सगरमाथा मामिला प्रधानमन्त्रीस्तरबाट समाधान भएको थियो ।

विज्ञ-समूहको म्यान्डेट : सरकारले हालै विज्ञ-समूह गठन गरेको छ । समूहले मालपोत, भूमिकर, तिरो तिरेको रसिद, जग्गा लालपुर्जाको प्रमाणपत्र खोज्ने होइन । हामीले सबैखाले प्रमाण, नक्सा कागजातका आधारमा संशोधित नक्सा प्रकाशित गरिसक्यौँ । अब त विज्ञ-समूहले सूक्ष्म तरिकाले दुई देशबीच वार्ताका लागि गृहकार्य गर्ने हो । वार्ताको रणनीति, कूटनीति, मोडालिटी, रणनीति तयार गर्नुपर्छ । हामीले प्रमाणस्वरूप प्रस्तुत गर्ने कुन नक्साले के भनेको छ, नेपालका लागि दरिलो नक्सा कुन छ, यसको विशेषता के छ भन्ने राम्ररी व्याख्या विश्लेषण गर्नुपर्छ ।

भारतले के-कस्ता नक्सालाई आधारभूत नक्सा अघि सार्छ होला भन्ने आकलन गर्नुपर्छ । त्यसको कमजोर पक्ष के रहेको छ भन्ने विवरण केलाउनुपर्छ । अनि त्यस नक्साको जवाफ के दिने भन्ने पूर्वतयारी गर्नुपर्ने हुन्छ । गृहकार्यमा भारतको सुरक्षा चासोको विश्लेषण गरी नीति निर्धारण गर्नु जरुरी पर्छ । भारतको लद्दाख र चीनको अक्साइचीन सीमाक्षेत्रको गलवान उपत्यका प्यानगङ तालबीचका ताजा मुठभेड तथा सैनिक हताहत किन भयो भन्ने सम्बन्धको पनि विश्लेषण गरी नेपालले आफ्नो रणनीति बनाउनु सान्दर्भिक हुन्छ ।

भारतको लद्दाख र चीनको अक्साइचीन सीमाक्षेत्रको गलवान उपत्यका प्यानगङ तालबीचका ताजा मुठभेड तथा सैनिक हताहत किन भयो भन्ने सम्बन्धको पनि विश्लेषण गरी नेपालले आफ्नो रणनीति बनाउनु सान्दर्भिक हुन्छ ।

भारत–पाकिस्तानको कस्मिर विवादको चुरो पत्ता लगाई अध्ययन गर्नु हितकारी हुन्छ । एउटै भूगोलको भाग दुई छिमेकी देशले आआफ्नो तरिकाले नक्सा ओभरल्याप पारेर प्रकाशित गरेको खण्डमा कुनलाई मान्यता दिइन्छ ! यस सम्बन्धमा संयुक्त राष्ट्रसंघ कार्टोग्राफिक जियोइन्फम्र्याटिक्स डिभिजनको सिद्धान्त, परिपाटी, अभ्यास के-कस्तो छ भन्ने पनि अध्ययन गर्नुपर्छ ।

अन्त्यमा : चीनसँगको नेपालको उत्तरी सीमामा १८ वर्षसम्म रहेको भारतीय सैनिक चेकपोस्ट हटाउन नेपालले जस्तो कौशल तथा बुद्धिमत्तापूर्ण कदम चालेको थियो, त्यस्तै कौशल अपनाउन अहिले आवश्यक परेको छ । त्यस समय कूटनीतिक चातुर्य देखाउने यदुनाथ खनाल, भीमबहादुर पाँडे, ऋषिकेश शाह, केशरबहादुर केसी, क्षेत्रविक्रम राणाजस्ता कूटनीतिज्ञ तथा रणनीतिज्ञले सूक्ष्म चाल चालेका थिए । त्यसैले भारतले आफ्नो छवि धमिलो नहुने वातावरणका साथ सैनिक चौकी फिर्ता लगेको थियो । अहिलेका हाम्रा कूटनीतिज्ञ र राजनीतिज्ञले कालापानी क्षेत्रबाट भारतलाई सैन्यबल उठाउन लगाउन अनुकूल वातावरणका साथ प्रत्यक्ष-परोक्ष तरिकाले कूटनीतिक दाउपेचको चाल चल्ने कौशल देखाउन सक्नुपर्छ। नयाँपत्रिका दैनिकबाट ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वाग्मती तीर्थयात्रा पाँच वर्षदेखि रोकियो
२०८१ जेठ १, मंगलबार
छ वर्षमा पदयात्रामा जाने छ हजार दुई सय ७२ नेपालीको निःशुल्क उपचार
२०८१ जेठ १, मंगलबार
सर्वोच्च अदालतमा अब अनलाइनबाटै मुद्दा दर्ता गर्न सकिने
२०८१ जेठ १, मंगलबार
विश्वकप छनोटका लागि नेपाली फुटबल टोलीको घोषणा
२०८१ जेठ १, मंगलबार
गिरिबन्धु टि-स्टेट प्रकरणको निर्णय गर्नेलाई अनुसन्धानको दायरामा ल्याउनुपर्छ : महामन्त्री थापा
२०८१ जेठ १, मंगलबार
हतियारको आपूर्ति लिएर युक्रेन पुगे अमेरिकी विदेशमन्त्री ब्लिन्कन
२०८१ जेठ १, मंगलबार
कोशीमा सांसद निर्मला लिम्बूको अशोक राईको पक्षमा सनाखत
२०८१ जेठ १, मंगलबार