जेठ १, २०८१ मंगलबार May 14, 2024

अपरिहार्य स्वअनुशासन- विनोद नेपाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

लामो राजनीतिक अस्थिरतापछि शक्तिशाली सरकार गठन हुँदा निकै आशावादी भएका नेपाली जनता देशले अब नयाँ दिशा लिने अपेक्षामा थिए । धेरै कुरामा सुधार आउने र नयाँपन देख्ने आशामा थिए । तर, सरकार तत्काल ध्यान केन्द्रित गर्नुपर्ने जनजीविका र सुशासनको प्रत्याभूतिजस्ता प्राथमिकतामा भन्दा पनि अनावश्यक कुरामा अल्झियो । कतिपय अवस्थामा परिस्थितिले पनि बाधा उत्पन्न ग-यो । केही कामहरू भए पनि सत्तारूढ दलको आन्तरिक कलह, दलहरूसँगको दूरी, नचाहिँदा र विवादास्पद कदम तथा अस्वाभाविक अध्यादेश एवं बाह्य समस्या आदिका कारण अपेक्षित काम हुन सकेनन् । समय गुज्रदै गयो । सरकारले ठूलठूला कुरा गरिरह्यो, अपेक्षाअनुरूप काम अघि बढेनन् । यत्तिकैमा ‘कोरोना’ महामारीले पनि च्याप्दै ल्यायो । अब त मनसुन सुरु भइसकेकाले प्राकृतिक विपत्तिले पनि सरकारलाई बहाना बनाउन केही मद्दत गर्ने देखिन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका जहिले पनि सकारात्मक र राम्रा कुरा नै आएका छन् । काम हुन नसक्दा ती सबै आशा देखाउने र आश्वासन बाँड्नेमा मात्र सीमित हुन पुगेका छन् । जनता वर्तमान सरकारका कामकारबाहीप्रति सन्तुष्ट नहुने तर प्रधानमन्त्री भने सन्तुष्ट भएको बताउँदै आएका छन् । स्मरणीय छ, सत्तारोहण अघि र सत्तामा आसिन भएपश्चात् पनि प्रधानमन्त्रीले धेरै राम्रा र महŒवाकांक्षी योजना सार्वजनिक गरेका थिए । त्यसमा लगातार नयाँनयाँ कुरा पनि थपिइरहेका छन् । उनमा ‘भिजन’ भएजस्तो पनि देखिन्छ । तर, कतिपय कुरा भने असम्भव र अपत्यारिला पनि छन् ।

सत्तारूढ दलको आन्तरिक कलह, दलहरूसँगको दूरी, नचाहिँदा र विवादास्पद कदम तथा अस्वाभाविक अध्यादेश एवं बाह्य समस्या आदिका कारण अपेक्षित काम हुन सकेनन् ।

भ्रष्टाचार र सुशासनका कुरा पटकपटक दोहोरिए पनि व्यवहार र परिणाममा देख्न सकिएको छैन । दुई तिहाइभन्दा बढी शक्तिका साथ सत्तामा पुगेका प्रम ओलीले समयक्रमसँगै आफ्नो विश्वास गुमाएर धेरैलाई रुष्ट बनाएका छन् । बोलीमा लगाम नहुनु, ओहदाअनुसारको अभिव्यक्ति नआउनु, ससाना कुरामा निहुँ खोज्नु आदिले उनको कद होचो बनाएको छ । विपक्षी र विरोधीप्रति असहिष्णु रहने उनले पछिल्लो समय विज्ञ चिकित्सकको सहारा नलिई आफंै विज्ञ हुनखोज्दा हाँसोका पात्र बनेका छन् ।

देश कोरोना महामारीको संक्रमणमा छ । सरकारले धेरै काम गरिरहेको बताइरहे पनि जनतामा निराशा छ । राज्यको ठूलो धनराशि अपारदर्शी रूपमा खर्च भइरहेको छ । उता जनतामाझ न त परीक्षण पर्याप्त मात्रामा पुगेको छ, न त क्वारेन्टाइन गतिला र सुरक्षित छन् । उपचार पनि भरपर्दो र विश्वसनीय छैन । बाँच्ने भाग्यले बाँचेका छन्, मर्ने मरेका छन् । तर, अरूअरू रोगको दोष देखाएर उम्कने प्रयास प्रधानमन्त्री रहँदै आएका छन् । विश्वका सम्पन्न देशले समेत यस चुनौतीको उचित व्यवस्थापन गर्न नसकेर आलोचित भएका छन् ।

विश्वमा हालसम्म ९० लाख बढी संक्रमित र झन्डै साढे ४ लाखको मृत्यु भइसकेको छ । पछिल्लो समयमा संक्रमणमा झन् वृद्धि हुन थालेकोे विश्व स्वास्थ्य संगठनको भनाइ आएको छ । खोपको अनुसन्धान र परीक्षण भइरहे पनि परिणाम निस्किसकेको छैन । नेपालमा हालसम्म भेटिएका संक्रमितमध्ये श्रमका लागि विदेश गएका नै रहेका छन् । संक्रमितमध्ये पुरुष बढी र महिला कम छन् । मृतकहरूमा अन्य रोगबाट ग्रसित रहने बढी छन् । हाल संक्रमित संख्या दोब्बर हुँदै जाँदा सबैलाई चिन्तित बनाएको छ । संक्रमणबाट विदेशमा ज्येष्ठ नागरिकको मृत्यु भए पनि हामीकहाँ भने मृत्यु हुनेमा युवा पनि छन् ।

सरकार कोरोना संक्रमण परीक्षणको दायरा फराकिलो बनाएर नागरिकको जीवन रक्षामा जुटोस् ।

चैत ११ बाट सुरु गरिएको बन्दाबन्दी असार १ गतेदेखि केही खुकुलो बनाइएको छ । सरकारी कार्यालय, व्यवसायहरू सञ्चालनमा आएका छन् । तर, महामारीको जोखिम भने घटेको छैन । संक्रमणको सुरुवातीमा लागू गरिएको बन्दाबन्दी संक्रमण बढ्दै जाँदा खुकुलो बनाइएको छ । जनमानस र राष्ट्रिय अर्थतन्त्रमा पर्न सक्ने नकारात्मक प्रभाव काम गर्न यसो गरिए पनि संक्रमणको जोखिम मूल्यांकन गर्दै बन्दाबन्दीमा पुनः केही कडाइ आवश्यक पनि छ । गृहमन्त्रालयले ‘बन्दाबन्दी व्यवस्थित गर्नेसम्बन्धी सुरक्षा मापदण्ड, २०७७’ जारी गर्दै बन्दाबन्दी पालना गर्न सुरक्षा निकाय, उद्योगी, व्यवसायी, सेवाग्राही, मजुदरलगायतलाई निर्देशन दिएको छ । एक जिल्लाबाट अर्को जिल्ला प्रवेशमा रोक लगाइए पनि सुरक्षाकर्मीको आँखा छलेर अन्तरजिल्ला प्रवेश गर्ने क्रममा कमी आएको छैन ।

आवतजावत गर्दा र कार्यालयमा रहँदा, सामाजिक संस्कार, चाडपर्व, पूजापाठ आदि धार्मिक आयोजनका कार्यमा दुई मिटर दूरी कायम गर्नुपर्ने र बढीमा १५जना मात्रै भेला हुन पाउने व्यवस्था गरिएको छ । उत्पादनमूलक क्रियाकलाप, उद्योग कलकारखाना, भौतिक पूर्वाधार निर्माणलगायतका काममा एकै ठाउँमा १० जनाभन्दा बढी जम्मा हुन नपाउने व्यवस्था गरिएको छ । ज्येष्ठ नागरिक, दीर्घरोगी, सुत्केरी, गर्भवती र १० वर्षभन्दा कम उमेरका बालबालिका र अशक्तलाई अत्यावश्यक तथा स्वास्थ्य प्रयोजनबाहेक आफ्नै घरमा बस्न प्रोत्साहन गरिएको छ । होल्डिङ सेन्टर, आइसोलेसन कक्ष, सेल्फ आइसोलेसन, क्वारेन्टाइन र सघन उपचार कक्षमा आवश्यक सुरक्षा व्यवस्थापन गरिएको छ ।

कोरोनाले विश्वको आर्थिक गतिविधि प्रभावित हुँदा लाखौंको रोजगारी गुमेको र छ । यसले विश्वव्यापी मन्दी निम्त्याउने निश्चित छ । नेपालको सेवा, उद्योग, पर्यटन सबैतिर नै यसको असर परेको छ । वैदेशिक रोजगारीमा गएकामध्ये रोजगारी गुमाएका र अन्य कारणले विदेशमा अलपत्र परेकालाई ल्याउने क्रम सुरु भइसकेको छ । विप्रेषण नै देशको एक प्रमुख स्रोत रहेको मुलुकको अर्थतन्त्रमा यसले नकारात्मक असर पारेको छ । विश्व बैंक र एसियाली विकास बैंकद्वारा नेपालको आर्थिक वृद्धि २ प्रतिशतभन्दा कम हुने अनुमान सार्वजनिक भइसकेको छ ।

कोरोनाको हकमा हाम्रो सरकारले अपेक्षित व्यवस्थापन गर्न सकेन । यसले सरकारको विरोधलाई निम्त्याएको छ । बन्दाबन्दी खुकुलो भएसँगै युवा स्वतःस्फूर्त रूपमा सडकमा उत्रिएका छन् । ठीक छ, स्वेच्छाचारी र निरंकुश प्रवृत्तिलाई प्रोत्साहन गर्नु हुँदैन । तर, सरकारको मुख ताकेर मात्र पनि हुँदैन । नागरिक स्वयं पनि जिम्मेवार हुनु जरुरी छ । हरेक संकटमा नागरिकको दायित्व रहन्छ र विश्वव्यापी संकटमा त झनै ठूलो दायित्व हुन्छ । धैर्य र संयमताका साथ सरकारसँग सहकार्य जिम्मेवार नागरिकको दायित्व हो । भिडभाड नगर्ने, सरसफाइमा ध्यान दिने र धैर्य रहने नागरिकको कर्तव्य हो र नागरिकको सुरक्षा सरकारको जिम्मेवारी हो । संकटमा सबैखाले मतभिन्नतालाई बिर्सेर एक हुनुपर्छ ।

बन्दाबन्दी खुकुलो भएसँगै युवा स्वतःस्फूर्त रूपमा सडकमा उत्रिएका छन् । ठीक छ, स्वेच्छाचारी र निरंकुश प्रवृत्तिलाई प्रोत्साहन गर्नु हुँदैन । तर, सरकारको मुख ताकेर मात्र पनि हुँदैन ।

संसारलाई अदृश्य शक्तिले त्रसित बनाएको छ । मानिस निःशस्त्र युद्ध लडिरहेछन् । कठिन समयमा धैर्य, संयम र अनुशासनको आवश्यकता छ । भिडभाडभन्दा टाढा बसौं । सामाजिक दूरी कायम गरौं । स्वअनुशासनमा रहौं । केही समयको असहजताले पुनः सुखी र खुसी जीवन जिउन पाइन्छ भने किन अधैर्य देखाउने ? नियमित साबुनपानीले हात धुने, चिसो र रुघाखोकीबाट जोगिने कुरामा ध्यान दिनुपर्छ ।

विश्वकै मनवजातिले संकट भोगिरहेको र मुलुकले समेत यस संकटको सामना गर्नुपरिरहेको अवस्थामा नकारात्मक टीकाटिप्पणीभन्दा पनि सकारात्मक सोच राख्नु, अप्ठेरोमा परेकालाई सक्दो सहयोग गर्नु र जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्नु हरेक नागरिकको कर्तव्य बन्न गएको छ । कोरोना संक्रमणको जोखिम न्यूनीकरणमा सबै लागौं । सरकारले संक्रमण परीक्षणको दायरा फराकिलो बनाउँदै नागरिकको जीवन रक्षाका लागि थप गम्भीर बन्दै जाओस् । राजधानीबाट ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया