मंग्सिर २४, २०८२ बुधबार December 10, 2025

माघ महिनाको संसदीय क्यालेण्डर : सात दिन बैठक, पहिल्यै दिन अध्यादेश पेस गरिने

सरकारले ल्याएका सबै अध्यादेशहरू १८ गतेको बैठकमै पेस हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशनअन्तर्गत माघ महिनाको समय तालिका (क्यालेण्डर) तयार भएको छ । १८ गतेदेखि ३० गतेसम्म बस्ने बैठकका लागि संसद्को क्यालेण्डर तयार पारिएको हो । माघ १८ गतेदेखि संघीय संसद्को हिउँदे अधिवेशन सुरु हुँदै छ ।

क्यालेण्डर निर्माणको तयारीका लागि सभामुख देवराज घिमिरेले पाँच प्रमुख दलका प्रमुख सचेतक र सचेतकसँग छलफल पनि गर्नुभएको थियो । सोमबार सिंहदरबारमा सभामुख देवराज घिमिरेले प्रमुख पाँच राष्ट्रिय दलका सचेतकसँग राखेको छलफलमा माघ महिनाको क्यालेण्डर तयार पारिएको नेकपा (एमाले)का मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो । तालिकाअनुसार प्रतिनिधिसभा बैठक माघ १८, २२, २४, २८, २९ र ३० गते बैठक बस्नेछ । माघ २५, २६ र २७ गते भने संसदीय समितिको बैठक बस्ने उहाँले जानकारी दिनुभयो ।

सरकारले ल्याएका सबै अध्यादेशहरू १८ गतेको बैठकमै पेस हुनेछन् । अध्यादेश परिपक्व हुन केही दिन लाग्ने भएकाले २२ गते ती सबैलाई निर्णयार्थ पेस गरिनेछ । यी बैठकमै शून्य र विशेष समय पनि चलाइनेछ । उहाँका अनुसार संसद्को पहिलो दिनको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित सबै दलका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् । सभामुख घिमिरेले आज (मंगलबार) कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ ।

संसद्लाई परिणाममुखी बनाउन सत्ता र प्रतिपक्ष एक ठाउँमा छौँ : बर्तौला

एमालेका मुख्य सचेतक महेश बर्तौलाले संसद्को आगामी अधिवेशन परिणाममुखी बनाउन सत्ता र प्रतिपक्ष दल एक ठाउँमा रहेको दाबी गर्नुभएको छ । सोमबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्य सचेतक बर्तौलाले संसद्लाई कानुन निर्माणमा र राष्ट्रिय नीतिहरूमा बहस पैरवी गर्ने थलो बनाउनुपर्छ भन्नेमा हामी सत्ता र प्रतिपक्षी एक ठाउँमा रहेको दाबी गर्नुभयो । सरकारबाट बिजनेसको कुनै कमी नहुने उहाँको भनाइ थियो । ‘आगामी अधिवेशनलाई परिणाममुखी बनाउनुपर्छ भन्नेमा केन्द्रित छौँ । संसद्लाई कानुन निर्माण र राष्ट्रिय नीतिहरूमा बहस पैरवी गर्ने थलो बनाउनुपर्छ भन्नेमा हामी सत्ता र प्रतिपक्षी एक ठाउँमा छौँ,’ उहाँले भन्नुभयो, ‘संसद्लाई रचनात्मक र प्रभावकारी बनाउनुपर्छ भन्नेमा एक ठाउँमा छौँ । हामी संसद्को प्रभावकारिता कायम राख्नुपर्छ भन्नेमा केन्द्रित छौँ ।’

अध्यादेश ल्याउन पाउने सरकारको संवैधानिक अधिकार भएको उहाँको भनाइ थियो । अध्यादेशमा विपक्षीहरूले आफ्नो कुरा राख्न पाउने छुट भएको उहाँले बताउनुभयो । ‘अध्यादेश भनेको सरकारको संवैधानिक अधिकारको कुरा हो । उहाँहरूले आफ्नो हिसाबले राख्न छुट छ । उहाँहरूको प्रश्न र खबरदारी गर्ने कुरा उहाँहरूको हो,’ बर्तौलाले भन्नुभयो ।

संसद् छलेर अध्यादेश ल्याउनु गलत : डा. कोइराला

कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले अध्यादेश ल्याएर गलत काम गरेको टिप्पणी गर्नुभएको छ । सोमबार गृहनगर विराटगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले संसद् छलेर अध्यादेशबाट शासन गरिनु गलत भएको टिप्पणी गर्नुभयो । दुई तिहाइको सरकारले संसद् छलेर अध्यादेश ल्याउँदा जनतामा नराम्रो असर परेको बताउनुभयो । ‘लोकतन्त्रमा संसद् धकेलेर अध्यादेश ल्याउनु गलत हो । दुई तिहाइको बहुमत भएको बेलामा विधेयक सजिलै पास हुन्छ नि, किन अध्यादेश ल्याउनुप¥यो ?’ प्रश्न गर्दै उहाँले भन्नुभयो, ‘यसले आमजनमानसमा नराम्रो परेको छ । संसद् छलेर अध्यादेश ल्याउने गलत प्रवृत्तिलाई अन्त्य गर्नुपर्छ ।’

एउटा कारणले मात्र कानुन निर्माण ढिलाइ भएको होइन : सभामुख

सभामुख देवराज घिमिरेले संसद्बाट कानुन निर्माण ढिलाइ हुनुमा मन्त्रीहरू पनि जिम्मेवार रहेको बताउनुभएको छ । सोमबार सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै सभामुख घिमिरेले मन्त्रीहरूले संसदीय समितिमा विचाराधीन विधेयकको अपनत्व लिन नसकेको बताउनुभयो । ‘फ्याक्ट्रीबाट सामान निकाल्न सबै कुरा मिल्नुपर्छ । अनि मात्र वस्तु उत्पादन हुन्छ । कानुन निर्माण ढिलाइ एउटा साइडका कारणले मात्र होइन,’ उहाँले भन्नुभयो, ‘कोरम नपुगेका वा सिट खाली भएको देखिन्छ तर सबै कुरा मिल्नुपर्दो रहेछ । पछिल्लो निर्वाचनपछि मन्त्रालय र मन्त्रिपरिषद् फेरबदल भइराखे । मन्त्रीहरूलाई पनि काम कर्तव्य बुझ्न र संसद्सँग काम गर्न तरिका र वातावरण बुझ्न समय लाग्यो । समितिमा भएका विधेयकहरूलाई पारित गर्न मन्त्रीहरूले जुन कोसिस गर्नुपर्ने हो, त्यो अभाव छ ।’ संसद् र सरकारबीचको पुलको काम गर्नुपर्ने भए पनि विगतदेखि नै कानुन मन्त्रीहरूको भूमिका पर्याप्त नभएको उहाँले टिप्पणी गर्नुभयो । सरकारका मन्त्रीहरूले विधेयक ल्याउने भनेर मिडियाबाट भन्ने गरेको तर, संसद्मा नआउने गरेको घिमिरेले बताउनुभयो ।

छलफलबिनै अध्यादेश ल्याइएको भन्दै कांग्रेस सांसदहरूको असन्तुष्टि

कुनै छलफल नै नगरी सरकारले अध्यादेश ल्याइएको भन्दै कांग्रेस सांसदहरूले असन्तुष्टि जनाएका छन् । सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकमा बोल्ने अधिकांश सांसदहरूले अध्यादेशको औचित्यबारे प्रश्न उठाएका हुन् । उनीहरूले पार्टीको तर्फबाट मन्त्री भएकाहरूले पनि सांसदहरूसँग कुनै छलफल गर्ने नगरेको गुनासो गरेको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा १८ जना सांसदहरूले आफ्नो धारणा राखेका थिए । ‘उहाँहरूले संसद् बैठकमा कांग्रेस कसरी अगाडि बढ्ने ?, सरकारले ल्याएको अध्यादेशको औचित्य के हो ?, विकास निर्माणका बजेटहरू किन खर्च हुँदैननन ? लगायत विषयमा प्रश्न गर्नुभएको छ,’ घिमिरेले भन्नुभयो, ‘कतिपय सांसदहरूले पार्टीको काम कारबाहीका विषयमा पनि प्रश्न उठाउनुभएको छ । अत्यन्त महत्वपूर्ण र गम्भीर विचार माननीय सदस्यबाट आएको छ । बोल्ने क्रम जारी नै छ । सबैको बोल्ने पालो सकिएपछि शीर्ष नेतृत्वले जवाफ दिनुहुने छ ।’

उनीहरूले बजेट कार्यान्वयनका सवालमा समेत प्रश्न उठाएका छन् । सांसदहरू बोल्न बाँकी रहेकाले १८ गते बिहान ८ बजे बस्ने बैठकमा मन्त्रीहरूले जवाफ दिने कार्यक्रम रहेको उहाँले बताउनुभयो । अधिकांश सांसदले मन्त्रीहरूलाई राम्रोसँग काम गर्न आग्रह गरेको सांसद रामहरि खतिवडाले बताउनुभयो । उनीहरूको कुरा सुनेपछि सभापति शेरबहादुर देउवाले मन्त्रीहरूलाई आगामी दिनमा सांसदहरूसँग समन्वय गरेर काम गर्न निर्देशन दिनुभएको थियो । सरकार परिवर्तनको विषयमा भने कसैले प्रश्न नगरेको उहाँले बताउनुभयो । यसअघि आइतबारको बैठकमा कांग्रेस सांसदहरूलाई तीनजना विज्ञहरूले अध्यादेशबारे ब्रिफिङ गरेका थिए । अध्यादेशको कन्टेन्टका विषय विज्ञहरूले सांसदहरूलाई प्रशिक्षित गरेको कांग्रेसले जनाएको छ ।

हिउँदे अधिवेशन प्रभावकारी बनाउने सत्ता समीकरणको निर्णय

सत्ता समीकरणमा रहेका दलहरूले संसद्को हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउने निर्णय गरेका छन् । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समीकरणको बैठकले संसद्को हिउँदे अधिवेशनलाई बढीभन्दा बढी कानुन निर्माण गर्ने अधिवेशनका रूपमा अघि बढाउने निर्णय गरेको एमाले मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन एकरूपमा एउटै आवाज उठाउने निर्णय गरेको छ । ‘१८ गतेदेखि हिउँदे अधिवेशन आह्वान भएको छ । यो बैठकको मुख्य उद्देश्य भनेको हिउँदे अधिवेशनलाई कसरी प्रभावकारी बनाउने ? भन्ने मुख्य कुरा थियो,’ उहाँले भन्नुभयो, ‘सरकारले अध्यादेश जारी गरेको र सबैले त्यसलाई सकारात्मक रूपमा लिएको उहाँले बताउनुभयो । यसले निजी क्षेत्रलाई उत्साहित बनाएको उहाँले बताउनुभयो । सत्तारूढ दलहरूमा यसबारे कुनै समस्या नरहेको पनि उहाँको भनाइ थियो ।

यसअघि, बैठकको सुरुमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्लाई बिजनेसको अभाव हुन नदिने बताउनुभएको थियो । समीकरणको बैठकमा प्रधानमन्त्री ओलीले सांसद्हरूको प्रभावकारी भूमिका आवश्यक पर्ने बताउनुभयो । आगामी हिउँदे अधिवेशनको पहिलो दिन नै अध्यादेश पेस गर्ने प्रस्ताव उहाँले बैठकमा राख्नुभएको थियो । बैठकको प्रारम्भमा नै उहाँले जनतालाई सेवा दिन र विकास निर्माणका कामलाई गति दिन अत्यावश्यक भएका अध्यादेशहरू संसद्को पहिलो दिनमै पेस गर्ने जानकारी गराउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । छिट्टै प्रतिस्थापन विधेयक प्रस्तुत गर्नुपर्ने पनि उहाँको भनाइ थियो । हिमालय टाइम्सबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेमा नेतृत्व हस्तान्तर र रुपान्तरण अपरिहार्य – गोकर्ण विष्ट
२०८२ मंग्सिर २४, बुधबार
भगवतीमाई गाउँपालिकाका तीन वडामा खानेपानी सुविधा
२०८२ मंग्सिर २४, बुधबार
‘बर्थिङ सेन्टर’ त छ टाढा छ, गर्भवतीलाई ‘स्ट्रेचर’मा लैजानुपर्छ, बोक्ने पुरुष पाइन्न
२०८२ मंग्सिर २४, बुधबार
नेप्से ७.८६ अंकले ओरालो, कारोबार रकम पनि हल्का घट्यो
२०८२ मंग्सिर २४, बुधबार
एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने
२०८२ मंग्सिर २४, बुधबार
बङ्गलादेशमा सन् २०२५ मा डेङ्गुका कारण चार सयभन्दा बढीको मृत्यु
२०८२ मंग्सिर २४, बुधबार
‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ
२०८२ मंग्सिर २४, बुधबार