काठमाडौँः कांग्रेस सभापति शेरबहादुर देउवा एकदम कम बोल्छन्, उता प्रमुख प्रतिपक्षी दल माओवादीका अध्यक्ष पुष्पकमल दाहाल आफ्नो कुरा मिलाईमिलाई राख्छन् । फरकफरक विचारधारा र कार्यशैली भए पनि यी दुई नेताबीच राजनीतिक ‘केमेस्ट्री’ गजबले मिल्छ । संसद्को पछिल्लो गतिरोध फुकाउन यही सम्बन्धले काम गरेको छ ।
माओवादी सचिवालय बैठकले गत जेठ १३ मा भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने ‘बटमलाइन’ पारित गरेको थियो । यही माग राखेर माओवादीले करिब डेढ साता विपक्षी दलसँगै मिलेर संसद् अवरुद्ध गर्यो । यसबीचमा सत्तापक्ष र विपक्षीबीच पटकपटक छलफल भयो तर निष्कर्ष निस्केन । जब देउवा र दाहालबीच संवाद सुरु भयो, माओवादी गृहमन्त्रीको राजीनामा र संसद् अवरोधबाट पछि मात्रै हटेको छैन, सत्तापक्षसँग दुईबुँदे सहमति पनि गरेको छ ।
सामान्यतया विपक्षी कडा रूपमा प्रस्तुत भएको बेला सत्तापक्षले पहल गर्ने चलन छ । तर देउवाका विश्वासपात्र गृहमन्त्री लेखकमाथि प्रश्न उठिरहेका बेला दाहाल संवादका लागि देउवा निवास बुढानीलकण्ठ पुगे । गत जेठ २५ मा दुई नेताबीच एक घण्टा बढी छलफल भएपछि दाहाल भिजिट भिसा प्रकरणमा सहमति खोज्ने मनस्थितिमा पुगे । गृहमन्त्रीको राजीनामा नमागी र छानबिन समिति नबनाई संसद्को गतिरोध अन्त्य गर्न माओवादी सहमत भयो ।
सत्तापक्ष र माओवादीबीच भिजिट भिसा प्रकरणमा ‘सरकारले आवश्यक अध्ययन एवं छानबिन गरी नीतिगत, कानुनी र संरचनात्मक सुधारका लागि उपयुक्त व्यवस्था गर्न ठोस पहल गर्ने’ सहमति भएको छ । ‘भिजिट भिसा र अध्यागमनसँग सम्बन्धित विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले
अनुसन्धान गरिरहेको छ, उक्त कार्यलाई अख्तियारले निष्कर्षमा पुर्याउने नै छ, उक्त विषयका सम्बन्धमा छानबिनका लागि आयोगले माग गरेबमोजिम नेपाल सरकारले आवश्यक सहयोग गर्ने’ सहमतिको भनिएको छ । यो सहमतिका लागि देउवा र दाहालका विश्वासिला पात्रहरूको मुख्य भूमिका छ । कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र माओवादीबाट उपमहासचिवद्वय वर्षमान पुन र शक्ति बस्नेत खटेका थिए ।
गत असारमा कांग्रेस–एमाले गठबन्धन बनेपछि माओवादी अध्यक्ष दाहाल प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आक्रामक हुँदै आएका छन् । गठबन्धनबारे जानकारी नदिएको भन्दै दाहालले गत असारमा संसद्मै ओलीलाई ‘मुखमा राम राम बगलीमा छुरा’ हान्ने व्यक्ति बताएका थिए । तर दाहाल देउवासँग भने नरम रूपमा प्रस्तुत हुँदै आएका छन् । कांग्रेस–एमाले गठबन्धन बन्दै गरेको ‘देउवाले इमानदारिताका साथ जानकारी दिएको’ उनले बताएका थिए । त्यसयता देउवा र दाहालबीच औपचारिक/अनौपचारिक रूपमा दर्जनौं संवाद भइसकेका छन् ।
गत जेठ ६ मा राष्ट्र बैंकको गभर्नरमा विश्वनाथ पौडेल नियुक्त हुनुअघि देउवा र दाहालबीच सम्भावित समीकरण बनाउने विषयमा संवादसमेत भएको माओवादीका एक नेताले दाबी गरे । यसको सुइँको पाएर प्रधानमन्त्री ओलीले केही एमाले नेतालाई दाहालको मनोविज्ञान बुझ्न पठाएको ती नेताको भनाइ छ ।
गभर्नर नियुक्तिमा कांग्रेस–एमालेबीच कुरा नमिल्दा देउवाले दाहाललाई सन्देश पुर्याएका थिए, ‘केपी ओलीजीसँग लामो समय सहकार्य गर्न सजिलो छैन । के गर्ने होला ?’ त्यसपछि दाहालले ओली सरकार छिट्टै ढल्ने दाबी गरेका थिए । गभर्नर नियुक्तिपछि दाहालले सरकार ढल्ने प्रसंग कोट्याएका छैनन् ।
दाहाल र देउवाबीच सहकार्य भए पनि, नभए पनि आपसी सम्बन्धमा धेरै उतारचढाव छैन । तर २०७४ को आम निर्वाचनपछि सत्ता सहकार्य, पार्टी एकता गर्दासमेत ओली र दाहालबीच सम्बन्ध सुमधुर हुन सकेन । सहकार्य हुँदा पनि दुई नेताबीच तिक्तता कायम थियो । उता माओवादीको मध्यपहाडी लोकमार्ग अभियानका क्रममा डडेलधुरा पुगेका बेला दाहालले गत ३ जेठमा त्यहाँबाट देउवालाई टेलिफोन गरी संवादलाई निरन्तरता दिएका थिए । त्यसको कडी भिजिट भिसा प्रकरणमा संसद्को अवरोध खुलाउने बेलासम्म जोडिएको छ ।
०७९ मंसिरको आम निर्वाचनमा कांग्रेससित गठबन्धन गरे पनि सरकार बनाउने बेला दाहालले एमालेसँग सहकार्य गरेका थिए । राष्ट्रपति कसलाई बनाउने विषयमा ओली र दाहालबीच कुरा नमिलेपछि माओवादीले दुई महिनापछि फेरि कांग्रेससित सहकार्य गरेको थियो । एमाले–माओवादीसहित अन्य साना दलको गठबन्धन २०७९ फागुनमा भत्किएको थियो । त्यसको एक वर्षपछि दाहालले ‘वामपन्थी एकता’ गर्ने भन्दै एमालेसँग गठबन्धन गरे । २०८१ फागुन तेस्रो साता एमालेसँग गठबन्धन गर्ने निर्णय गरेपछि दाहाल धोकेबाज रहेको देउवाले बताएका थिए । उनले दाहालप्रति कटु शब्द प्रयोग गरेको त्यहीबेला हो । देउवा र दाहालको एकअर्काप्रति शंकाभन्दा बढी विश्वास देखिन्छ ।
माओवादी महासचिव देव गुरुङ मुद्दाका आधारमा कुनै दल वा नेतासँग सहकार्य हुने बताउँछन् । ‘हामीले भिजिट भिसामा सुशासनको मुद्दा उठाएको हो । कुनै नेता वा पार्टी हेरेर होइन,’ उनले भने, ‘कांग्रेससितको मुद्दाभन्दा सरकारसँग सम्बन्धित थियो । कांग्रेस–एमाले गठबन्धन छ । त्यो खुकुलो छ कि कसिएको छ, उनीहरूले जान्ने कुरा हो ।’ कान्तिपुरबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया