श्रावण ८, २०८३ शुक्रबार July 24, 2026

सत्तालोभले पुनर्मिलन

अब कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा मात्र कांग्रेस–एमाले गठबन्धन कायम छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : गत हप्ता सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बहिरिएपछि सुरु भएको नयाँ सत्ता समीकरण सातै प्रदेशमा फेरबदलको चरणमा पुगेको छ ।

नेपाली कांग्रेसले एमालेसँग गठबन्धन तोड्ने निर्णय गरेसँगै सुदूरपश्चिम, कर्णाली र वागमती प्रदेश सरकार अल्पमतमा परेका छन् । अब कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा मात्र कांग्रेस–एमाले गठबन्धन कायम छ । तर, केही दिनमै ती प्रदेशका सरकारसमेत ढल्ने दिशामा छन् ।

सुदूरपश्चिमबाट बजेटका विषयमा दुई दलबीच कुरा नमिल्दा सत्ता सहकार्य नै टुटने अवस्था आउँदा देशभरका प्रदेश सरकार ढल्ने पक्का भएका छन् । योसँगै एमाले र नेकपाबीच नयाँ समीकरणको प्रक्रिया अघि बढेको छ । प्रदेश सत्तासहकार्यका लागि बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो । प्रचण्ड ओलीनिवास गुन्डु पुगेर सत्ता सहकार्य अघि बढाउने विषयमा छलफल गरिसकेकाले सातवटै प्रदेशमा नयाँ सत्ता समीकरणका लागि औपचारिक रूपमै एमाले–नेकपा अघि बढेको नेकपाका नेता अग्नि सापकोटाले बताए । प्रदेश सरकार निर्माणमा एमालेसँग सहकार्य गर्ने विषयमा घनीभूत छलफल भइरहेको सापकोटाको दाबी छ । ‘एमालेसँग प्रदेश सत्ता सहकार्यका सन्दर्भमा भएका छलफललाई निष्कर्षमा पुग्ने अवस्थामा छौं,’ उनले मध्यान्हसँग भने, ‘विगतका सत्ता सहकार्यमा देखिएका असमझदारीबाट पाठ सिकेर भरसक कम्युनिस्ट पार्टी एकतासम्म पुग्नेगरी नै सहकार्यको तयारी गरेका छौं । एमालेसँगको सहकार्यमा प्रदेश सरकार बनाउने विषयमा राजनीतिक कुरा टुंगिए पनि प्राविधिक कुरा बाँकी छ ।’

कांग्रेस र नेकपा एमालेबीच विगत दुई वर्षदेखिको प्रदेश सरकारमा सहकार्य गरेको थियो । ०८१ असार १७ गते कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच संघदेखि प्रदेशसम्म सत्ता सहकार्यमा सहमति भएको थियो । सोहीअनुरूप केन्द्रीय सरकारको नेतृत्व गरेका एमाले अध्यक्ष ओलीको सत्ता १५ महिना नपुग्दै जेनजी आन्दोलनले ढालिदियो । तर, प्रदेश सरकारमा कांग्रेस–एमाले सहकार्यले निरन्तरता पाएको थियो । पछिल्लो चरणमा कांग्रेस प्रदेशबाट समेत बाहिर बसेर आगामी निर्वाचनको तयारीमा लाग्ने तयारीमा लागेको देखिन्छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले एमालेसँगको प्रदेश सत्तासहकार्य एकैपटक भत्काउनुपर्छ भन्ने अवस्था नरहेको बताउँछन् ।

नेकपाले तीनवटै दल मिलेर प्रदेश सरकार बनाउन सकिने भनेको सन्दर्भलाई जोड्दै महामन्त्री पौडेलले भने, ‘तीनवटै दल मिलेर प्रदेशको सरकार चलाउने कुरामा लाग्नुभन्दा कांग्रेस बलियो प्रतिपक्ष भएरै बस्न तयार छ ।’ तर, जुन–जुन प्रदेशमा समस्या हो, त्यसबाहेक समस्या नभएका प्रदेशमा पनि एमालेका साथीहरूले जबर्जस्ती समस्या निम्त्याएको उनको दाबी छ । उता, एमालेले भने कांग्रेसकै कारण यो स्थिति आएको दाबी गरेको छ ।  कांग्रेस सभापति गगन थापाले नै नचाहेकाले प्रदेशमा कांग्रेससँगको सहकार्य टुटेको एमाले नेता महेश बर्तौलाले बताए । उनले भने, ‘कांग्रेसका सभापति गगन थापाले नै प्रदेशमा एमालेसँगको सहकार्यलाई निरन्तरता दिन सकेनन् । प्रदेशसभामा अधिकांश सांसद गगनविरोधी भएकाले उनले सत्तासहकार्यलाई जोगाउन नसकेपछि उहाँहरूसँगको समीकरण हुने अवस्था रहेन ।’

कांग्रेस–एमाले सहयात्रा अन्त्य भएसँगै नेकपासँग एमालेको सत्तासहकार्य प्रारम्भको चरणमा रहेको उनले बताए । बर्तौलाले एमालेभित्रसमेत केही कुरा अझै छलफल गनुपर्ने बताए । ‘एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच भेटेर नै सत्ता समीकरणका सन्दर्भमा कुराकानी अघि बढिसकेको छ,’ उनले भने, ‘निष्कर्षमा पुग्न केही दिन लाग्न सक्छ । कतिपय कुरा एमालेभित्रै पनि छलफल गर्न बाँकी नै छन् । जिम्मेवारी विभाजनका कुराले केही समय लाग्ने देखिन्छ ।’

नेकपाका नेताहरूले एमालेसँगको कार्यगत एकतापछि पार्टी एकतासम्म जानसक्ने बताएका छन् । तर, एमालेका नेताहरू उक्त तर्कलाई स्वीकार गर्दैनन् । नेकपाका साथीहरूले भनेजस्तो पार्टी एकता नै गरेर जाने कुरामा कुनै सत्यता नरहेको नेता बर्तौलाको भनाइ छ । अहिलेको सहकार्य विषयगत सहकार्य मात्रै भएकाले पार्टी एकतासम्म जान सक्ने अवस्था नरहेको उनले दाबी गरे । ‘विगतका तिता घटनालाई सम्झिएर पनि पदीय व्यवस्थापनको विषयमा मात्रै केन्द्रित भएर एमाले र नेकपाबीचको एकता सम्भव हुँदैन,’ उनले भने ।

अध्यक्ष ओलीलाई भेट्न गुन्डु पुगेका नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच एक्लाएक्लै संवाद भएको थियो । उक्त छलफलको विषयलाई लिएर एमालेकै नेताहरूले असन्तुष्टि जनाएका थिए । केही पदाधिकारीले ओलीलाई फोन गरेर संस्थागत निर्णयबिना सहमति नगर्न र निर्णयबेगर सहमति गरिहालेमा कार्यान्वयनमा समस्या हुनसक्ने चेतावनी दिएका थिए । ओलीले प्रचण्डसँगको सत्तासहकार्य अघि बढाउने अन्तिम तयारी गरे पनि संस्थागत निर्णय भइनसकेको नेताहरूले बताएका छन् । नयाँ सत्तासमीकरणका विषयमा एमाले र नेकपाबीच छलफल जारी रहे पनि म्याचुअर्ड भइनसकेको एमालेका नेता एवं प्रतिनिधिसभा सदस्य गुरु बरालले बताए ।  उनले भने, ‘हामी अहिले पनि छलफलमै छौं । अहिले निर्णय नै गर्ने तहमा पुगिहाल्यौं भन्ने अवस्था छैन, छलफल जारी छ ।’ मध्यान्ह दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सीमाविद् बुद्धिनारायण श्रेष्ठ राष्ट्रपतिबाट पुरस्कृत
२०८३ श्रावण ८, शुक्रबार
स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा अवरोध हुने गरी क्रियाकलाप नगर्न आग्रह
२०८३ श्रावण ८, शुक्रबार
कांग्रेस र नेकपा कर्णालीमा नयाँ सरकार गठन गर्ने गृहकार्यमा
२०८३ श्रावण ८, शुक्रबार
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छः शिक्षामन्त्री
२०८३ श्रावण ८, शुक्रबार
फ्रान्समा डढेलोले ४० हजार विस्थापित
२०८३ श्रावण ८, शुक्रबार
गुजरामा खुकुरी प्रहारगरी महिलाको हत्या, आरोपित स्थानीयको कुटाइपछि गम्भीर
२०८३ श्रावण ८, शुक्रबार
पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छः प्रधानसेनापति
२०८३ श्रावण ८, शुक्रबार