मंग्सिर २६, २०८२ शुक्रबार December 12, 2025

डेढ महिने उल्झनपछि सहमति, पुस २६ देखि कांग्रेसको १५औँ महाधिवेशन

कांग्रेसमा करिब नौ लाख क्रियाशील सदस्यता रहेकोमा वडा तहमा अहिलेसम्म ६ लाख क्रियाशील नवीकरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । लामो विवाद र रस्साकस्सीबीच नेपाली कांग्रेसको १५औँ महाधिवेशनको मिति तय भएको छ । महाधिवेशनको विषयलाई लिएर कांग्रेसमा लामो समयदेखि विवाद रहेको थियो । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पुसभित्र विशेष महाधिवेशन गर्ने अडानमा हुनुहुन्थ्यो । संस्थापनइतर समूहको नेतृत्व गर्दै आएको डा.शेखर कोइराला पक्ष भने पुसभित्र नियमित महाधिवेशन गर्नुपर्ने पक्षमा थियो ।

विशेष महाधिवेशनलाई ठाडै अस्वीकार गरेको संस्थापन पक्ष भने नियमित महाधिवेशनको मितिबारे विभाजित थियो । संस्थापन पक्षका झण्डै ९० जना केन्द्रीय सदस्य आगामी वैशाखमा महाधिवेशन गर्नुपर्ने पक्षमा थिए भने २८ जना केन्द्रीय सदस्य फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा चुनाव अगाडि नै महाधिवेशन गर्नुपर्ने पक्षमा थिए । यही विषयलाई लिएर उत्कर्षमा पुगेको विवादले पार्टी नै विभाजन हुनसक्ने चर्चा सुरु भएको थियो । तर, गत असोज २८ गते कार्यकारी भूमिकाबाट अलग भएको घोषणा गरेर उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिनुभएका देउवा नै विवाद समाधानमा सक्रिय भएपछि सहमति जुटेको हो ।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले आगामी पुस २६ देखि २८ सम्म पार्टीको १५औँ महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । केन्द्रीय समिति बैठकले महाधिवेशनको कार्यतालिका सर्वसम्मत पारित गरेको हो । बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले क्रियाशील सदस्यता वितरणदेखि, नवीकरण र छानविन, वडा, पालिका, प्रतिनिधिसभा क्षेत्र, प्रदेशसभा क्षेत्र, जिल्ला र प्रदेश अधिवेशनकै तालिका प्रस्तुत गर्नुभएको छ । नयाँ क्रियाशील सदस्य वितरण मंसिर २० भित्र गरिसक्ने कार्यतालिकामा उल्लेख छ । कांग्रेसमा करिब नौ लाख क्रियाशील सदस्यता रहेकोमा वडा तहमा अहिलेसम्म ६ लाख क्रियाशील नवीकरण भएको छ भने नयाँ क्रियाशील वितरण भएको छैन ।

पारित भएको कार्यतालिकाअनुसार कांग्रेसले पुस १६ गते वडा अधिवेशन गर्ने भएको छ । बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कार्यतालिका पेस गर्दै गाउँ–नगर अधिवेशन पुस १७ गते र प्रदेशसभा क्षेत्रीय अधिवेशन पुस १९ गते हुने जानकारी दिनुभएको छ । खड्काका अनुसार एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा पुस २१ गते र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला अधिवेशन पुस २२ गते हुने भएको छ । कांग्रेसको प्रदेश अधिवेशन पुस २३ र २४ गते हुने कार्यवाहक सभापति खड्काले बैठकमा जानकारी दिनुभएको छ ।

विशेष महाधिवेशन पक्षधर नेताहरूको भावनासमेत सम्बोधन हुनेगरी पुसमा महाधिवेशन गर्ने निर्णय भएको कार्यवाहक सभापति खड्काको भनाइ छ । महाधिवेशन मितिमा सहमति जुट्न नसक्दा केन्द्रीय समिति बैठक पटक–पटक स्थगित हुँदै आएको थियो । सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापति खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग चरणबद्ध छलफल गरेपछि गाँठो फुकेको हो ।

१५औँ महाधिवेशन र विशेष महाधिवेशनको विवादबीच केन्द्रीय कार्यसमिति बैठक ४० दिनभन्दा बढी चलेर पनि कांग्रेस अनिर्णयको बन्दी बनेको थियो । लामो छलफलपछि संस्थापन पक्षले पुस मसान्तभित्रै महाधिवेशन गर्नेगरी सोमबार तालिका पेस गरेको थियो । महाधिवेशनको उक्त कार्यतालिकालाई सोमबारको बैठकले सर्वसम्मत पारित गरेको पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिनुभएको छ । महतले महाधिवेशनका लागि क्रियाशील सदस्यको प्रारम्भिक छानविन समितिले गरेको निर्णयउपर परेको निवेदन केन्द्रीय कार्यसमिति समितिमार्फत छानविन समितिमा जाने पनि जानकारी दिनुभएको छ । नयाँ सदस्यता र नवीकरणसम्बन्धी परेका निवेदनउपर परेका उजुरीको छानविन गरी केन्द्रीय कार्यसमितिमा बुझाउने मिति पुस १४ गतेलाई तोकिएको छ । पार्टी प्रवेश गरेकाहरूलाई पनि क्रियाशील सदस्यता दिएर मात्रै महाधिवेशनमा जाने उहाँको भनाइ छ ।

कार्यसमितिको म्याद दुई महिना थप

कांग्रेसको वर्तमान कार्यसमितिको म्याद दुई महिना थप गरिएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले १४औँ महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको म्याद दुई महिना थप गर्ने निर्णय गरेको हो । अब देउवा नेतृत्वको कार्यसमितिको म्याद आगामी माघ मसान्तसम्म रहनेछ । १४औँ महाधिवेशन सम्पन्न भएको मितिले यही मंसिरबाट केन्द्रीय कार्यसमितिको म्याद सकिँदै थियो । कांग्रेसको विधानमा विशेष परिस्थितिमा एक वर्षसम्म म्याद थप्न सकिने प्रावधान छ । ‘जेन-जी’ आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमका कारण सभापति देउवाले वरिष्ठ उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिनुभएको थियो । सोमबारको बैठक पनि खड्काकै अध्यक्षतामा बसेको हो ।

देउवा किन भए ‘युटर्न’ ?

कांग्रेसका कतिपय नेताहरूका अनुसार पार्टीका सात पूर्व–पदाधिकारीहरूले लिएको अडानका पछाडि मुख्य रूपमा आगामी निर्वाचनमा टिकट वितरणको मुख्य स्वार्थ थियो । बाहिर निर्वाचनलाई असर गर्ने कारण देखाइए पनि अन्तर्यमा उनीहरूको स्वार्थ निर्वाचन आयोगमा दल दर्ता भएको घटनाबाट पुष्टि भएको थियो । अघिल्लो आइतबार सभापति देउवाकै हस्ताक्षरबाट टिकट वितरण हुनेगरी उहाँकै नाममा दर्ता गराइएको छ । कानुनले केन्द्रीय पदाधिकारीमध्ये जसको नाम पनि पठाउन सकिने व्यवस्था गरेको छ । देउवाकै नाम र हस्ताक्षर गएपछि पार्टीभित्र झन् विवाद सिर्जना भयो । ‘जेन–जी’ घटनापछि देउवा आफैँ सक्रिय राजनीतिमा बसिरहन चाहनुभएको छैन । उपचारपछि सिंगापुरबाट फर्केपछि देउवालाई सक्रिय राजनीतिमा तान्न मुख्यगरी पूर्व सात पदाधिकारीहरूले जोडबल गरिरहेका थिए । तर, देउवाले निर्वाचन अगाडि नियमित नगरेमा विशेष महाधिवेशन टार्न नसकिने निचोडमा पुग्नुभएको थियो ।

केन्द्रीय कार्यसमितिको बहुमतले विशेष महाधिवेशन नबोलाउन सक्थ्यो । तर, हस्ताक्षरकर्ताहरूले बोलाउने भेला सभापतिले रोक्न सकिने अवस्था थिएन । यसले पार्टी विभाजन हुने जोखिम देखेपछि देउवा ‘युटर्न’ भएका निकट नेताहरूको तर्क छ । आफैँ सभापति भएका बेला पार्टी विभाजन नहोस्, अर्कोतर्फ विशेष महाधिवेशन गरेर आफैँलाई हटाएको सन्देश नजाओस् भन्नेमा देउवा सचेत भएरै निर्वाचन अगाडिको महाधिवेशनको पक्षमा आएको देउवानिकट नेताहरूको भनाइ छ । विशेष महाधिवेशन टार्न सभापति देउवाले निर्वाचन अगाडि नै महाधिवेशन सम्पन्न गर्ने बाटो लिनुभएको छ ।

सोमबार दिउँसो पार्टी सभापति शेरबहादुर देउवासँगको संवादमा वैशाखमा महाधिवेशन गर्नुपर्ने अडानमा उभिएका ‘सात भाइ’हरू पुसमा महाधिवेशन गर्ने कार्यतालिका मान्न तयार भएका थिए । आइतबार छलफलमा बसेर यो समूहले पुसमा आउने महाधिवेशन कार्यतालिकालाई मतदानमा लगेर फेल गराउने निर्णय गरेको थियो । सोमबार बिहान पनि यो समूहले पुसको कार्यतालिकामा चित्त नबुझाएपछि सभापति देउवाले बोलाएर उनीहरूलाई कार्यतालिका मान्न निर्देशन दिनुभएको थियो । त्यसपश्चात् आफूहरू सभापतिको कुरा मान्न तयार भएको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन् । कार्यवाहक सभापति खड्कासँग बिहान गरेको छलफल निष्कर्षमा नपुगेपछि नेताहरू देउवानिवास पुगेका थिए । नेताहरू विमलेन्द्र निधि, कृष्ण सिटौला, गुरु बराल, किरण पौडेल लगायतसँग संवाद गर्दै देउवाले कार्यवाहक सभापतिले ल्याएको कार्यतालिका पास गर्न निर्देशन दिनुभएको थियो ।

विशेष महाधिवेशनको औचित्य समाप्त : प्रवक्ता महत

पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले नियमित महाधिवेशनको प्रक्रिया सुरु भइसकेपछि विशेष अधिवेशनको औचित्य नरहने बताउनुभएको छ । महाधिवेशनको प्रक्रिया सुरु भइसकेपछि विशेष अधिवेशनको औचित्य नरहने जिकिर गर्दै महतले भन्नुभयो, ‘पुसमै महाधिवेशन भएपछि विशेष महाधिवेशनको आवश्यकता नै परेन नि । मूल कुरो अधिवेशन समयमा हुनुप¥यो भन्ने माग थियो हस्ताक्षरकर्ताहरूको पनि । त्यसो हुनाले महाधिवेशनको कार्यतालिका आइसकेको, कार्यतालिकाअनुसार अधिवेशन प्रक्रिया अगाडि बढ्ने भएको हुनाले विशेष महाधिवेशनको कुरा गरिरहनु परेन ।’ विशेष महाधिवेशनको माग निष्क्रिय हुने तर्क गर्दै महतले भन्नुभयो, ‘स्वतः निष्क्रिय यस मानेमा पनि हुन्छ किनकि हामीले माघ ८ गतेभित्रै टुंग्याउने भनेका छौँ । त्यसको आधारमा जुन निर्वाचन हुन्छ, त्यसले हिजो प्रतिनिधित्व नभएकाहरूलाई पनि प्रतिनिधित्व गर्ने सुनिश्चितता गर्छ १५औँ महाधिवेशनले । विशेष महाधिवेशन के का लागि, कसरी गर्ने भन्ने अन्योलमा छ । अब अधिवेशन नै भइसकेपछि विशेष अधिवेशनको औचित्य रहँदैन ।’ ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले असोज २९ गते कार्यवाहक सभापतिलाई हस्ताक्षर बुझाएर विशेष महाधिवेशन माग गरेका थिए ।

देउवा सक्रिय हुनसक्ने औपचारिक निर्णय

नेपाली कांग्रेसले १५औँ महाधिवेशनका क्रममा सभापति शेरबहादुर देउवा सक्रिय हुनसक्ने गरी औपचारिक निर्णय गरेको छ । सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकबाट कांग्रेसले पार्टीलाई कार्यवाहकको जिम्मा लगाएर बसिरहनु भएका देउवा फेरि सक्रिय हुन सक्नेगरी औपचारिक निर्णय गरेको हो । बैठकको निर्णयमा भनिएको छ, ‘१५औँ महाधिवेशनसँग सम्बन्धित कार्यको सिलसिलामा आवश्यकताअनुसार केन्द्रीय प्रतिनिधि पार्टी सभापति/कार्यवाहक सभापतिले खटाउनसक्ने छन् ।’ बैठकले नयाँ र नवीकरण क्रियाशील सदस्यताको सूची केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत गर्दा सभापति देउवाको सक्रियताको सम्भावना खुला रहनेगरी निर्णय गरेको छ । बैठकको निर्णयमा भनिएको छ, ‘केन्द्रीय सभापति/कार्यवाहक सभापतिले क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिबाट सहमति भई प्राप्त भएका नयाँ र नवीकरण सदस्यताको सूची केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत गरी केन्द्रीय कार्यसमितिबाट अनुमोदन गर्नुपर्ने छ ।’ कांग्रेसको निर्णयमा १५औँ महाधिवेशनका लागि आवश्यक पर्ने समितिहरू गठन गर्दा आवश्यक परामर्श सभापति देउवा वा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गर्ने उल्लेख छ ।

यस्तो छ महाधिवेशन कार्यतालिका

-मंसिर २० गतेभित्रै नयाँ क्रियाशील सदस्य केन्द्रबाट वितरण गरिसक्ने

-जिल्लाको प्रतिनिधिसभा, क्षेत्रीय समिति हुँदै वडासम्म नयाँ क्रियाशील सदस्यको फाराम पठाउने अवधि २४ गतेसम्म । पुस ८ गतेभित्र सबै निर्वाचन क्षेत्रमा नयाँ क्रियाशील सदस्यताको कार्य सम्पन्न गर्ने ।

-क्रियाशील सदस्यताको प्रारम्भिक छानविन समितिले गरेको निर्णयउपर परेको पुनरावेदन र क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा नयाँ र नवीकरणसम्बन्धी परेका उजुरीउपर अन्तिम निर्णय गरी अन्तिम सूची तयार गरी केन्द्रीय सभापति र कार्यवाहक सभापतिलाई बुझाउने मिति पुस १४ गते ।

-नयाँ क्रियाशील सदस्यता वितरण गर्दा समावेशीता नवयुवा पुस्ता अन्य पार्टीबाट आएका नवप्रवेशीलाई समेत क्रियाशील सदस्यता दिने व्यवस्था ।

-विदेशस्थित जनसम्पर्क समितको अधिवेशन पुस १५ ।

-गाउँ नगर र वडा अधिवेशन पुस १६ गते ।

-गाउँ नगरपालिका अधिवेशन पुस १७ गते ।

-प्रदेश सभा क्षेत्रीय अधिवेशन पुस १९ गते ।

-प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन पुस २१ गते ।

-एकभन्दा बढी प्रतिनिधिसभा क्षेत्र भएको जिल्ला अधिवेशन पुस २२ गते ।

-प्रदेश अधिवेशन २३ र २४ गते ।

-महाधिवेशन पुस २६, २७ र २८ गते । हिमालय टाइम्स

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आम्दानी बढेसँगै सेवा विस्तार, दैनिक ३०० बिरामीको उपचार गर्दै बूढानीलकण्ठको नगर अस्पताल
२०८२ मंग्सिर २६, शुक्रबार
पाहुनाको पर्खाइमा ‘मुदीगाउँ’
२०८२ मंग्सिर २६, शुक्रबार
आइबिए पुरुष विश्व बक्सिङ प्रतियोगितामा बक्सर चन्द्रलाई काँस्य
२०८२ मंग्सिर २६, शुक्रबार
टेम्केमैयुङका सामुदायिक विद्यालयमा ‘घेराबारा’
२०८२ मंग्सिर २६, शुक्रबार
एक सय वर्ष पुरानो बेनीको गणेश मन्दिरमा पित्तलको छानो राखेर पुनर्निर्माण
२०८२ मंग्सिर २६, शुक्रबार
मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट १९भेडा–च्याङ्ग्रा ठहरै
२०८२ मंग्सिर २६, शुक्रबार
मुग्लिन पोखरा सडक : पश्चिम खण्डको मौरीओडारमा कालोपत्र शुरु
२०८२ मंग्सिर २६, शुक्रबार