श्रावण २०, २०८३ बुधबार August 5, 2026

विभाजनको डर बढेपछि देउवामाथि दबाब बढ्दै, देउवा भेट्न शेखर महारजगञ्जमा

पार्टी कमजोर बन्दै गएको अवस्थामा नेतृत्वले समयमै जिम्मेवारी नलिए इतिहासले माफ नगर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन र आन्तरिक मतभेदका कारण पार्टी विभाजनको चर्चा चर्किरहेका बेला नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवासँग भेट गरी पार्टी एकता जोगाउन गम्भीर पहल गर्न आग्रह गरेका छन्।

सभापति देउवासँगको भेटमा डा. कोइरालाले कांग्रेसको इतिहास, संघर्ष र वर्तमान चुनौतीको स्मरण गराउँदै कुनै पनि हालतमा पार्टी विभाजन हुन नदिनु आजको प्रमुख दायित्व भएको बताएका छन्। ‘म कोइराला हुँ, पार्टी विभाजन भएको हेर्न सक्दिनँ,’ भन्दै उनले स्पष्ट शब्दमा भने, ‘विभाजनको पीडा तपाईंले पनि भोग्नुभएको छ। जे गर्नुपर्छ गरौँ, तर विभाजन रोकौँ।’

डा. कोइरालाले व्यक्तिगत पद, आकांक्षा र भविष्यको राजनीतिभन्दा पार्टीको अस्तित्व र एकता ठूलो विषय भएको उल्लेख गरे। ‘म भोलि सभापति बन्ला नबन्ला, तपाईंले मलाई सहयोग गर्नुहोला नहोला, त्यो महत्वपूर्ण होइन,’ उनले भने, ‘त्यसभन्दा महत्वपूर्ण कुरा कांग्रेसको एकता हो। एकता जोगाउन तपाईंले अग्रसरता लिनुस्।’

उनले कांग्रेस विभाजन भए त्यसको असर केवल पार्टीभित्र सीमित नरहने, लोकतान्त्रिक आन्दोलन, संविधान र समग्र राजनीतिक स्थिरतामै नकारात्मक प्रभाव पर्ने चेतावनी समेत दिएका छन्। आन्तरिक असन्तुष्टि, गुटगत तिक्तता र संवादको कमीले पार्टी कमजोर बन्दै गएको अवस्थामा नेतृत्वले समयमै जिम्मेवारी नलिए इतिहासले माफ नगर्ने उनको भनाइ थियो।

जवाफमा सभापति शेरबहादुर देउवाले पछिल्लो राजनीतिक तथा पार्टीभित्रको अवस्थाप्रति आफू पनि चिन्तित रहेको बताएका छन्। उनले पार्टीभित्र देखिएका मतभेदलाई संवाद र सहमतिबाट समाधान गर्न तयार रहेको स्पष्ट पारे। देउवाले सबै पक्षसँग छलफल गरेर एकताको वातावरण बनाउन आफू प्रतिबद्ध रहेको संकेत दिएका छन्।

हाल कांग्रेसभित्र विशेष महाधिवेशनको माग, नेतृत्वको शैली, संगठन सञ्चालन र आगामी राजनीतिक रणनीतिलाई लिएर मतभेद चुलिँदै गएको छ। पार्टीभित्रका विभिन्न धारका नेताहरूले पनि नेतृत्व तहबाट स्पष्ट संवाद र समन्वयको अपेक्षा गरिरहेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया