श्रावण २०, २०८३ बुधबार August 5, 2026

एमालेले निर्वाचनअघि स्थायी कार्यविभाजन नगर्ने, केन्द्रीय कमिटी चुनावमै केन्द्रित हुने

पोलिटब्युरो र स्थायी कमिटी गठन चुनावपछि, अहिले चुनावी रणनीति मात्र

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेकपा (एमाले) ले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै तत्काल स्थायी प्रकृतिको कार्यविभाजन नगर्ने निर्णय गरेको छ । पोलिटब्युरो र स्थायी कमिटी गठनका लागि तय गरिएको केन्द्रीय कमिटी बैठकलाई निर्वाचन लक्षित एजेन्डामा मात्र सीमित राख्ने तयारी गरिएको नेताहरूले बताएका छन् ।

केन्द्रीय कमिटीको दोस्रो बैठक ललितपुरस्थित म्याजेष्टी गार्डेन पार्टी प्यालेसमा बस्दै छ । निर्वाचन नजिकिँदै गएकाले पार्टीले हाल कुनै पनि स्थायी जिम्मेवारी बाँडफाँट नगरी चुनावी रणनीति र संगठनात्मक परिचालनमा ध्यान केन्द्रित गर्ने निर्णय गरेको हो ।

यसअघि सचिवालय बैठकले प्रदेश संयोजनसहित केही जिम्मेवारी तोकेको भए पनि ती सबै अस्थायी रहेको महासचिव शंकर पोखरेलले स्पष्ट पारिसकेका छन् । उनका अनुसार निर्वाचनपछि समीक्षा गर्दै आवश्यक हेरफेरसहित स्थायी कार्यविभाजन गरिनेछ ।

अध्यक्ष केपी शर्मा ओलीको सचिवालयका अनुसार यही २६–२७ गते बस्ने केन्द्रीय कमिटी बैठकको कार्यसूची संक्षिप्त तर अत्यन्त महत्त्वपूर्ण रहेको छ । बैठकमा २१ गते सम्पन्न सचिवालयको दोस्रो बैठकले अघि सारेका निर्वाचन लक्षित कार्ययोजनालाई परिमार्जनसहित पारित गरिने र थप कार्ययोजना तय गरिनेछ ।

बैठकमा प्रतिनिधिसभा निर्वाचनका लागि तयार हुने घोषणापत्रमा समेटिनुपर्ने विषयबारे केन्द्रीय सदस्यहरूको सुझाव लिइनेछ । साथै प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाउने अधिकार सम्पन्न संयन्त्र तोक्ने र रिक्त रहेका केही कमिटी सदस्यलाई पूर्णता दिने प्रस्ताव पनि केन्द्रीय कमिटीमा पेश गरिने कार्यसूची रहेको स्रोतले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया