श्रावण २०, २०८३ बुधबार August 5, 2026

देशभरका ७ निर्वाचन क्षेत्रमा एमालेको जित, यी हुन् विजयी उम्मेदवार

धनकुटादेखि बझाङसम्म एमालेको जित, ७ सिट सुरक्षित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत हालसम्म सार्वजनिक भएको मतपरिणामअनुसार नेकपा एमालेले ७ वटा निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ। विभिन्न जिल्लामा सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार एमालेका उम्मेदवारहरूले उल्लेखनीय मतसहित जित दर्ता गरेका हुन्।

धनकुटा–१ बाट एमालेका राजेन्द्रकुमार राई १८ हजार १३२ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दिनेश राईले १४ हजार २५७ मत प्राप्त गरे। इलाम–२ बाट सुहाङ नेम्बाङ २२ हजार ४२६ मतसहित निर्वाचित हुँदा कांग्रेसका भेषराज आचार्यले १४ हजार ६५० मत पाए।

त्यस्तै, ताप्लेजुङ–१ बाट एमालेका क्षितिज थेबे १३ हजार ९६२ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका गजेन्द्र लिम्बुले ११ हजार ७११ मत प्राप्त गरेका छन्। दार्चुला–१ बाट गणेशसिंह ठगुन्ना १८ हजार ८९१ मतसहित निर्वाचित हुँदा कांग्रेसका धर्मानन्द जोशीले १५ हजार ८३६ मत प्राप्त गरे।

दैलेख–२ बाट लक्ष्मीप्रसाद पोखरेल २३ हजार ८८९ मतसहित विजयी भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका दिक्पालकुमार शाहीले ९ हजार ५५२ मत प्राप्त गरेका छन्। बझाङबाट एमालेका ऐनबहादुर महर १८ हजार ५४३ मतसहित विजयी हुँदा कांग्रेसका प्रकाश रसाइली स्नेहीले १६ हजार ३०४ मत प्राप्त गरे।

त्यसैगरी बाँके–२ बाट मोहम्मद इस्तियाक राई २४ हजार ६४७ मतसहित निर्वाचित भएका छन्। उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका विवेककुमार श्रेष्ठले १८ हजार ६७९ मत प्राप्त गरेका छन्।

यससँगै हालसम्म नेकपा एमालेले देशका विभिन्न निर्वाचन क्षेत्रमा ७ सिट आफ्नो पक्षमा पारिसकेको छ भने अन्य क्षेत्रमा मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया