काठमाडौं । नेपाली कांग्रेस ले प्रतिनिधिसभा निर्वाचनमा आएको परिणामको समीक्षा गर्न प्रदेश, जिल्ला र उम्मेदवारहरूलाई परिपत्र गरेको छ। कांग्रेसले फागुन २१ गते सम्पन्न निर्वाचनपछि प्राप्त परिणाम, पराजयका कारण, अनुभव र आगामी सुधारका विषय समेटेर विस्तृत समीक्षा प्रतिवेदन तयार गर्न निर्देशन दिएको हो।
पार्टीले सबै प्रदेश कार्यसमिति सभापति, जिल्ला कार्यसमिति सभापति तथा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारहरूलाई आ–आफ्नो तर्फबाट समीक्षा प्रतिवेदन तयार गरी केन्द्रीय कार्यालयमा पठाउन अनुरोध गरेको जनाएको छ।
निर्वाचन समीक्षा प्रतिवेदन र अनुशासन समितिसम्बन्धी विवरण चैत्र ३ गतेभित्र केन्द्रीय कार्यालयमा पठाइसक्न निर्देशन दिइएको छ। पार्टी संगठनलाई थप सुदृढ र प्रभावकारी बनाउन यो कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाउन आग्रह गरिएको छ।
कांग्रेसले पार्टी सदस्यहरूको व्यापक सहयोग र समर्पण हुँदाहुँदै पनि अपेक्षित चुनावी परिणाम नआएको भन्दै यसलाई आत्मसमीक्षाको विषय बनाएको छ। साथै विधानअनुसार जिल्ला र प्रदेश अनुशासन समिति गठन गरी संयोजक तथा सदस्यहरूको विवरण समेत केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया