श्रावण १९, २०८३ मंगलबार August 4, 2026

कार्की जाँचबुझ आयोगको प्रतिवेदन सर्वजनिक गर्न माग गर्दै उनेपाको प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

जेनजी आन्दोलनसँग सम्बन्धित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन अझै सार्वजनिक नभएकोप्रति चिन्ता व्यक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । उज्यालो नेपाल पार्टी ले प्रधानमन्त्री सुशीला कार्की को नेतृत्वमा मुलुकलाई कठिन अवस्थाबाट सुरक्षित अवतरण गराउन सफल भएको भन्दै बधाई ज्ञापन गरेको छ।

पार्टी अध्यक्ष कुलमान घिसिङ नेतृत्वको प्रतिनिधिमण्डलले आज बालुवाटार पुगेर प्रधानमन्त्री कार्कीलाई भेट्दै शान्तिपूर्ण र धाँधलीरहित निर्वाचन सम्पन्न गराएकोमा प्रशंसा गरेको हो। चुनावप्रति आशंका भइरहेका बेला सरकारको नेतृत्वमा देशैभर एकैपटक स्वच्छ निर्वाचन सम्पन्न हुनु ठूलो उपलब्धि भएको उनीहरूको भनाइ थियो।

अध्यक्ष घिसिङले “म हारे पनि देशले जितेको छ” भन्दै प्रधानमन्त्री कार्कीको नेतृत्वमा देशले “सेफ ल्यान्डिङ” पाएको उल्लेख गरे। साथै, आफू संसद बाहिर रहे पनि देशका लागि काम जारी राख्ने प्रतिबद्धता जनाए।

प्रधानमन्त्री कार्कीले पनि उज्यालो नेपाल पार्टीले निर्वाचन प्रक्रियामा खेलेको भूमिकाको प्रशंसा गर्दै पार्टीमा रहेका विज्ञहरूको क्षमताले देशलाई अझै योगदान दिन सक्ने विश्वास व्यक्त गरिन्। एक निर्वाचनको परिणामबाट निराश नहुन आग्रह गर्दै उनले निरन्तर सक्रिय रहन सुझाव दिइन्।

यसैबीच, पार्टीले खाडी क्षेत्रमा रहेका नेपाली कामदारहरूको सुरक्षा, उद्धार तथा राहतका लागि ठोस योजना ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ। साथै संयुक्त राष्ट्रसंघअन्तर्राष्ट्रिय श्रम संगठन सँग समन्वय गरी नेपालीको जीवनरक्षा सुनिश्चित गर्न कूटनीतिक पहल गर्नुपर्ने माग गरिएको छ।

पार्टीले प्रभावित कामदारका लागि विशेष उद्धार योजना, आर्थिक सहयोग, मनोसामाजिक परामर्श तथा पुनःस्थापनाका कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको छ। साथै स्वदेश फर्कन चाहनेका लागि विशेष उडान र राष्ट्रिय रोजगारी पोर्टल सञ्चालन गर्नुपर्ने पनि उल्लेख गरिएको छ।

त्यसैगरी, जेनजी आन्दोलनसँग सम्बन्धित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन अझै सार्वजनिक नभएकोप्रति चिन्ता व्यक्त गर्दै सत्य सार्वजनिक गर्न सरकारलाई आग्रह गरिएको छ। पार्टीका अनुसार प्रतिवेदन सार्वजनिक नगर्दा राज्यप्रतिको विश्वास कमजोर हुँदै गएको छ।

समग्रमा, पार्टीले सरकारको उपलब्धिको प्रशंसा गर्दै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दामा थप प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया