काठमाडौं : पार्टीको आन्तरिक विवाद समाधान गर्न कांग्रेसका शीर्ष नेताहरू आपसी संवाद र छलफलमा जुटेका छन्। पार्टी सभापति गगन थापाले निवर्तमान संस्थापन पक्षीय कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग बुधबार उनकै निवास पुगेर छलफल गरे। छलफलमा उपसभापति विश्वप्रकाश शर्मा पनि सहभागी थिए।
एकपक्षीय रूपमा विशेष महाधिवेशन गरेको भन्दै निवर्तमान पार्टी सभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला पक्ष थापासँग असन्तुष्ट थिए। तर, सर्वोच्च अदालतले थापा पक्षलाई नै पार्टी आधिकारिकता दिएपछि नेताहरू पार्टी एकताका लागि संवादमा जुटेका हुन्। यसबीचमा पार्टीको विवाद बढेपछि समानान्तर भेला र छलफल पनि भएका थिए।
विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई निर्वाचन आयोग र सर्वोच्च अदालतले आधिकारिकता दिएपछि पनि इतर समूह आआफ्नै सुरमा भेला गर्दै आएका थिए। कांग्रेसको १५औं महाधिवेशनको मिति पुस २६ देखि २८ सम्म गर्ने भनेर तोकिसकेपछि त्यसको प्रक्रियालाई लिएर पार्टीभित्र तीव्र असन्तुष्टि र विवाद बढ्दै गएको थियो। १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई मान्यता दिएर मात्रै अघि बढ्ने संस्थापन इतर समूहको अडान थियो। विशेष महाधिवेशनबाट आएको नेतृत्वले नै १५औं महाधिवेशन गराउने तयारीमा जुटेपछि इतर पक्ष असन्तुष्ट थियो।
यद्यपि गत निर्वाचनमा प्रत्यक्षबाट चुनाव लड्नका लागि सभापति थापाबाटै टिकट लिए तापनि चुनावपछि पुनः छुट्टाछुट्टै भेला गर्दै आफ्ना धारणा विज्ञप्ति र मिडियामार्फत सार्वजनिक गर्दै आएका थिए। सभापति थापा पनि इतर पक्षसँग वार्ता गर्नका लागि दोस्रो तह र तेस्रो तहका नेताहरूलाई परिचालन गरेका थिए। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पनि यो बीचमा टसमस भएनन्।
त्यसपछि पार्टी एकताका निम्ति सभापति र उपसभापति नै वार्ता र संवादमा जुटेका हुन्। खड्काको सचिवालयका अनुसार बिहान ११ बजे सभापति थापा र उपसभापति शर्मा खड्का निवास पुगेका थिए। उनीहरूबीच साढे १ घण्टा कुराकानी भएको खड्काका स्वकीय सचिव गौतम बीसीले जानकारी दिए। बीसीले भने, ‘पार्टीभित्रका आन्तरिक विषय र संसद्मा कस्तो भूमिकामा अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको हो। विगतका विषयमा र वर्तमान तथा आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भयो।’
यसअघि मंगलबार बेलुकी नै यो भेटवार्ता हुने भनिए पनि अन्तिम समयमा स्थगित भएको थियो। त्यसअघि सभापति थापाले बिहान नेता डा. शेखर कोइरालासँग भेट गरेका थिए। सभापति थापा र नेता डा. शेखर कोइरालाबीच लामो समयपछि औपचारिक भेटवार्ता भएको थियो। दुई नेताबीच मंगलबार विशालनगरमा रहेको कोइरालाको सचिवालयमा करिब ४५ मिनेट भेटवार्ता भएको थियो। भेटमा पार्टीको आगामी रणनीति, संगठन सुदृढीकरण तथा कार्यदिशाबारे छलफल भएको कोइरालाको सचिवालयले जानकारी गराएको छ। नेताहरूबीच आपसी सहकार्यलाई प्राथमिकता दिने र पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्ने विषयमा कुराकानी भएको थियो।
अदालतले पार्टीको आधिकारिकता दिएपछि सभापति थापाले शीर्ष नेताहरूसँग चरणबद्ध छलफल गर्दै पार्टीभित्र सहमति र सहकार्यको वातावरण बनाउने प्रयासमा छन्। सभापति थापाले यसअघि ६ वैशाखमा केहीबेर गल्फुटारमा खड्कासँग भेटघाट गरेका थिए। ४ वैशाखमा सर्वोच्च अदालतले पार्टीको आधिकारिकता दाबी गर्दै खड्काले दायर गरेको रिट खारेज गरेको थियो।कांग्रेसले सातवटै प्रदेशमा प्रशिक्षण दिने कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सातवटै प्रदेशमा प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला गर्ने भएको छ।
प्रतिष्ठानका प्रमुख एवं पार्टी उपसभापति विश्वप्रकाश शर्माले बुधबार भएको बैठकमा प्रस्तुत गरेको तालिका अनुसार ती प्रदेशस्तरीय भेला वैशाख २६ गते धनगढीबाट सुरु भएर जेठ १५ गते रुपन्देहीमा अन्तिम हुने उल्लेख छ।
प्रतिष्ठानको पहिलो बैठकलाई सम्बोधन गर्दै शर्माले नेपाली समाजमा उब्जिएका प्रश्नहरूको पहिचान गरी उचित रणनीति निर्माण गर्न यो संयन्त्र क्रियाशील रहने बताएका हुन्। कार्यतालिकामा सुदूरपश्चिम प्रदेशस्तरीय भेला वैशाख २६ र २७ गते धनगढीमा, वैशाख २८ र २९ गते कर्णाली प्रदेशस्तरीय भेला सुर्खेतमा, वैशाख ३१ र जेठ १ गते गण्डकी प्रदेशस्तरीय भेला पोखरामा, जेठ ४ र ५ गते बागमती प्रदेशस्तरीय भेला धुलिखेलमा र जेठ ६ र ७ गते मधेस प्रदेशस्तरीय भेला महोत्तरीको बर्दिवासमा हुनेछ।
यस्तै जेठ ८ र ९ गते कोशी प्रदेशस्तरीय भेला सुनसरीको लौकीमा र जेठ १४ र १५ गते लुम्बिनी प्रदेशस्तरीय भेला रुपन्देहीको तिलोत्तमामा हुने भनिएको छ। अन्नपूर्ण पोस्ट्
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया