जेठ ६, २०८३ बुधबार May 20, 2026

विपद्, सुकुमवासी व्यवस्थापन र सडक सुरक्षामा ध्यानाकर्षण

सुकुमवासी समस्याको दीर्घकालीन समाधानका लागि स्थायी बसोवासको व्यवस्था गर्नुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ,  जेठ ६ गते ।  प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसदहरूले स्वास्थ्य सेवा, विपद् व्यवस्थापन, सुकुमवासी समस्या, सडक सुरक्षा तथा सामाजिक समावेशितालगायत विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बैठकमा सांसद ज्ञानु पौडेलले प्रत्येक नागरिकको स्वास्थ्य सेवा प्राप्त गर्ने मौलिक अधिकारको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । उहाँले देशभर स्वास्थ्य सेवाको पहुँच र सहज उपलब्धता अझै सुनिश्चित हुन नसकेको बताउँदै रूपन्देहीस्थित ९३ वर्ष पुरानो भीम अस्पतालमा अत्यावश्यक स्वास्थ्य सामग्रीको अभाव रहेको उल्लेख गर्नुभयो । “अस्पतालमा एन्टी–रेबिज खोप, सर्पदंश उपचारका लागि आवश्यक औषधी तथा जीवनरक्षक औषधीको अभाव छ । तत्काल व्यवस्थापन गर्न सरकारसँग आग्रह गर्दछु”, पौडेलले भन्नुभयो ।

त्यसैगरी, सांसद खडकबहादुर बुढाले प्राकृतिक प्रकोपबाट प्रभावित तथा वास्तविक सुकुमवासीको समयमै व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । उहाँले प्राकृतिक विपदबाट क्षति पुगेका सडक, खानेपानी तथा अन्य पूर्वाधार आयोजनाको पुनःस्थापना कार्य शीघ्र अघि बढाउन माग गर्नुभयो ।

सांसद डा. अर्जुनकुमार कार्कीले इबोला भाइरस सङ्क्रमणको जोखिमप्रति सरकार गम्भीर हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले विश्व स्वास्थ्य सङ्गठन (डब्लु एच ओ) ले इबोला सङ्क्रमणलाई गम्भीर स्वास्थ्य जोखिमका रूपमा लिएको उल्लेख गर्दै अफ्रिकी मुलुकमा कार्यरत नेपाली नागरिकका कारण नेपाल पनि जोखिममा पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गर्नुभयो ।

सांसद गुरुप्रसाद बरालले भने सुकुमवासी समस्याको दीर्घकालीन समाधानका लागि स्थायी बसोवासको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले होल्डिङ सेन्टरमा बस्दै आएका नागरिकले असहज अवस्था भोगिरहेको उल्लेख गर्दै तत्काल उपयुक्त व्यवस्थापन गर्न आग्रह गर्नुभयो ।

सांसद साजिदा खातुन सिद्धिकीले मुलुकमा सडक दुर्घटनाका घटना बढ्दै गएको भन्दै सडक सुरक्षामा विशेष ध्यान दिन आवश्यक रहेको बताउनुभयो । उहाँले सडक सुधार तथा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सरकारलाई आग्रह गर्नुभयो ।

सांसद मदनकृष्ण श्रेष्ठले अति अपाङ्गता भएका व्यक्तिको संरक्षण र हेरचाहका लागि राज्यले विशेष व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । सांसद समिना मियाँले बकर इदका अवसरमा तय गरिएका परीक्षाहरू स्थगित गरी वैकल्पिक व्यवस्था गर्न आग्रह गर्नुभयो । उहाँले देशको विविधता र सांस्कृतिक संवेदनशीलतालाई सम्मान गर्नुपर्ने धारणा राख्नुभयो ।

यसैगरी सांसद यशोधाकुमारी बरालले हुम्ला जिल्लाको चङ्खेली गाउँपालिका–५ मा आएको भीषण बाढीका कारण ठुलो क्षति पुगेको भन्दै प्रभावित नागरिकका लागि तत्काल राहतको व्यवस्था गर्न माग गर्नुभयो ।

सांसद रमेश सापकोटाले पनि हुम्लामा आएको असामान्य बाढीका कारण ठुलो क्षति पुगेको तर सडक पहुँचको अभावमा राहत सामग्री प्रभावित क्षेत्रमा पुग्न नसकेको बताउनुभयो । उहाँले तत्काल बजेट विनियोजन गरी राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन आग्रह गर्दै विपद् व्यवस्थापनका लागि दीर्घकालीन संयन्त्र निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

आकस्मिक समयमा सांसदहरूले उठाएका विषयहरू मुख्यतः स्वास्थ्य सेवा सुदृढीकरण, विपद् व्यवस्थापन, सामाजिक सुरक्षा तथा नागरिकको आधारभूत अधिकार सुनिश्चितमा जोड दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया