जेठ ११, २०८३ सोमबार May 25, 2026

सुदूरपश्चिम प्रदेशसभाः दुई विधेयक टेबुल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, जेठ ११ । सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा ‘सुदूरपश्चिम प्रदेश बडघर तथा भलमन्सा प्रथाको संरक्षण तथा व्यवस्था गर्न बनेको विधेयक’ टेबुल गरिएको छ ।

प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्काले उक्त विधेयक टेबुल गरे । पश्चिम तराईका जिल्लामा बसोबास गर्दै आएको डगौरा थारु समुदायमा बडघर तथा भलमन्सा प्रथा सदियौँदेखि प्रचलनमा रहेको छ । लोकतान्त्रिक एवं प्रजातान्त्रिक मानिने यो प्रथालाई कानुनी मान्यता दिन विधेयक टेबुल गरिएको हो ।

मन्त्री खड्काले ‘टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ टेबुल गरे । यसअघि बैठकको प्रारम्भमा दिइएको शून्य समयमा बोल्ने प्रदेशसभाका सदस्यहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए । उनीहरुले बाजुरा र हुम्ला जिल्लाका स्थानीयवासीबीच केही दिनदेखि उत्पन्न सीमा विवादका क्रममा भएको कुटपिटलगायत अमानवीय घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न तथा दार्चुलाको व्यास गाउँपालिकाका शिक्षक बलदेव धामीको आत्महत्यासम्बन्धी घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न ध्यानाकर्षण गराए ।

प्रदेशसभा सदस्यहरुले चालु योजनाको प्रभावकारी कार्यान्वयनमा ध्यान दिन, आलोचना नहुने गरी आगामी वर्षको बजेट कार्यक्रम ल्याउन, कैलालीको क्षेत्र नं–३ मा वर्षौँदेखि निर्माण पूरा हुन नसकेर अलपत्र अवस्थामा रहेको गुर्गी बाँध सिँचाइ आयोजनाको निर्माणका साथै सो क्षेत्रका सडक स्तरोन्नति गर्न, टीकापुर अस्पतलालाई प्रादेशिक अस्पतालमा स्तरोन्नति गर्न, कर्णाली नदी कटान नियन्त्रणसम्बन्धी योजना ल्याउन, कैलालीको गोदावरीमा तोकिएको प्रदेशको स्थायी राजधानी निर्माणको योजना छिटो कार्यान्वयनमा ल्याउन ध्यानाकार्षण गराए ।

प्रदेशसभा सदस्य मानबहादुर धामीले शून्य समय, विषेश समय र आकस्मिक समयमा सदनमा पटकपटक ध्यानाकर्षण गराइएका विषयका बारेमा सरकारका तर्फबाट कुनै जवाफदेहिता नदेखाइएको भन्दै सभामुखलाई ‘रुलिङ’ गर्न माग गरे ।

आजको शून्य समयमा प्रदेशसभा सदस्यहरु विक्रमसिंह धामी, खुसीराम डगौरा थारु, घनश्याम चौधरी, तुल्सी देवकोटा, लक्ष्मणकिशोर चौधरी, लक्ष्मी विक, नरेशबहादुर शाही, ललिता सुनार र जुनाकुमारी दानीले भाग लिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया