असोज ८, २०८३ बिहिबार September 24, 2026

नागार्जुन नगर सभापतिमा राजेन्द्र बुढाथोकी निर्वाचित

सभापतिबाहेक अन्य सबै पदमा उम्मेदवारहरू निर्विरोध चयन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौंको नागार्जुन नगर सभापतिमा राजेन्द्र बुढाथोकी निर्वाचित भएका छन् । बुधबार सम्पन्न तेस्रो नगर अधिवेशनको निर्वाचनमा बुढाथोकीले १८६ मत प्राप्त गर्दै सभापतिको जिम्मेवारी हात पारेका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी अच्चुत प्रसाद पाण्डेले १४३ मत प्राप्त गरेका थिए । नगर अधिवेशनबाट सभापतिबाहेक अन्य सबै पदमा उम्मेदवारहरू निर्विरोध चयन भएका छन् ।

सहिद प्रद्युम्न खड्का चोकमा आयोजित अधिवेशन उद्घाटन कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य धर्मराज गौतम प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । कार्यक्रममा केन्द्रीय सदस्य प्रमोदहरि गुरागाईं, वाग्मती प्रदेश उपसभापति मोहनबहादुर बस्नेत तथा प्रदेश सदस्य सविन तामाङलगायत नेताहरूको उपस्थिति थियो ।

अधिवेशनमा महासमिति सदस्यहरू किरण गिरी, रीता ढकाल दवाडी र केदार मानन्धरसहित विभिन्न क्षेत्रका महाधिवेशन प्रतिनिधि, प्रदेश सभापति तथा नागार्जुन नगरपालिकाका १० वटै वडाका नवनिर्वाचित वडा सभापतिहरू सहभागी भएका थिए । निर्वाचन अधिकृत मञ्जरी मल्ल पनि कार्यक्रममा उपस्थित थिइन् ।

नेपाली कांग्रेसले १५औँ महाधिवेशनको तयारीस्वरूप देशभर स्थानीय तहका अधिवेशन सञ्चालन गरिरहेको छ । पार्टीको स्थानीय तहको सांगठनिक संरचनालाई थप व्यवस्थित र सुदृढ बनाउने उद्देश्यले पालिका अधिवेशन अघि बढाइएको कांग्रेसले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया