मंग्सिर ८, २०८३ मंगलबार November 24, 2026

पूर्वप्रधानमन्त्री हसिनाको डिसेम्बर १६ मा स्वदेश फर्कने घोषणा

प्रधानमन्त्री रहमानलाई राष्ट्रिय ध्वजावाहक विमानमार्फत दिल्लीबाट ढाका फर्कने व्यवस्था मिलाउन आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

ढाका, ८ मङ्सिर : बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतमा निर्वासनमा रहेको अवस्थाबाट आगामी डिसेम्बर १६ मा स्वदेश फर्कने योजना सार्वजनिक गर्नुभएको छ । तर, मानवताविरुद्धको अपराधमा अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाइएकी उहाँ फर्किएमा पक्राउ पर्ने र जेल चलान हुने सम्भावना छ ।

विद्यार्थी नेतृत्वको जनविद्रोहले १५ वर्ष लामो शासन अन्त्य गरेपछि हसिना सन् २०२४ अगस्ट ५ मा भारत जानुभएको थियो । उहाँमाथि प्रदर्शनका क्रममा सयौँ मानिस मारिएको घटनामा संलग्न रहेको आरोपमा मुद्दा चलाइएको थियो । अदालतको फैसलालाई अस्वीकार गर्दै उहाँले स्वदेश फर्किएपछि कानूनी लडाइँ लड्ने बताउँदै आउनुभएको छ ।

बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानका प्रेस सचिव अबु अब्दुल्लाह एम सालेहले हसिनालाई दोषी ठहर गरिएको र उहाँको सुपुर्दगीका लागि सरकारले भारतसँग माग गरिसकेको बताउनुभएको छ । सरकारले आफ्नो अडान परिवर्तन नगर्ने उहाँको भनाइ छ ।

हसिनाले मङ्गलबार डिसेम्बर १६ मा स्वदेश फर्कने योजना सार्वजनिक गर्दै प्रधानमन्त्री रहमानलाई राष्ट्रिय ध्वजावाहक विमानमार्फत दिल्लीबाट ढाका फर्कने व्यवस्था मिलाउन आग्रह गर्नुभएको छ । उहाँका प्रवक्ता सैयद मोजाम्मेल अलीले हसिना सन् २०२४ अगस्ट ५ मा बङ्गलादेशी विमानबाट भारत जानुभएकाले स्वदेश फर्कने यात्राको व्यवस्था पनि सरकारले गर्नुपर्ने बताउनुभएको छ ।

डिसेम्बर १६ बङ्गलादेशको विजय दिवस हो । सन् १९७१ मा पाकिस्तानसँगको युद्धपछि स्वतन्त्र भएको स्मरणमा यो दिवस मनाइन्छ । हसिनाका सहयोगी अबु ओबैदा अरिनले उहाँले आफ्ना पिता तथा बङ्गलादेशका संस्थापक नेता शेख मुजीबुर रहमानको नेतृत्वमा हासिल भएको ऐतिहासिक विजयको सम्मान गर्दै यही दिन स्वदेश फर्कन चाहेको बताउनुभएको छ । उहाँले हसिनाको पुनरागमनपछि देश शान्ति, स्थिरता र समृद्धितर्फ अघि बढ्ने विश्वाससमेत व्यक्त गर्नुभएको छ ।

यस महिनाको सुरुमा एसोसिएटेड प्रेससँगको अन्तर्वार्तामा हसिनाले कुनै पनि मूल्यमा डिसेम्बरमै स्वदेश फर्कने र मृत्युसमेतले आफूलाई घर फर्कनबाट रोक्न नसक्ने बताउनुभएको थियो ।

हसिनाले मृत्युदण्डको फैसलाविरुद्ध पुनरावेदन गर्न पाउने समयसीमा गुमाइसकेको र सजाय रोक्ने कानूनी आधार नरहेको एक अभियोजकले यसअघि बताएका थिए । बङ्गलादेशमा राष्ट्रपतिबाट क्षमादान पाउने व्यवस्था भए पनि हसिनाले त्यस्तो आग्रह गर्नुभएको छैन । उहाँले अदालतको फैसलालाई स्पष्ट रूपमा अस्वीकार गर्दै आउनुभएको छ ।

हसिनाको सत्ता पतन भएको तीन दिनपछि नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसले अन्तरिम सरकारको नेतृत्व सम्हाल्नुभएको थियो । उहाँको नेतृत्वमा रहेको सरकारले हसिनाको अवामी लिग पार्टीमाथि प्रतिबन्ध लगाएको थियो र फेब्रुअरीमा भएको निर्वाचनमा सहभागी हुन दिएको थिएन । त्यसपछि तारिक रहमान नेतृत्वको निर्वाचित सरकारले सत्ता सम्हालेको हो ।

सन् १९७१ को स्वतन्त्रता युद्धमा पाकिस्तानी सैन्य नेतृत्वको पक्षमा रहेको जमात–ए–इस्लामी पार्टी भने फेब्रुअरीको निर्वाचनमा पुनः राजनीतिमा फर्किएको थियो । अहिले उक्त पार्टी बङ्गलादेशको प्रमुख प्रतिपक्षी दल बनेको छ । हसिनाको शासनकालमा यस पार्टीका कैयौँ शीर्ष नेताहरूलाई युद्ध अपराधको आरोपमा मृत्युदण्ड दिइएको थियो ।

हसिनाका पिता शेख मुजीबुर रहमानले पाकिस्तानविरुद्धको स्वतन्त्रता आन्दोलनको नेतृत्व गर्नुभएको थियो । सन् १९७५ मा सैन्य ‘कू’ का क्रममा उहाँ र परिवारका अधिकांश सदस्यको हत्या भएको थियो । त्यसबेला देशबाहिर रहनुभएका हसिना र उहाँकी कान्छी बहिनी भने बाँच्नुभएको थियो । रासस/एपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘आज रेलगाडी मात्र होइन, दुई देशको आत्मीय सम्बन्धको नयाँ यात्राको स्वागत हो’ : मन्त्री यादव
२०८३ मंग्सिर ८, मंगलबार
स्थानीय निर्वाचनमा प्रतिनिधिसभा निर्वाचनमा जस्तो राजनीतिक हुरी नचल्ने प्रचण्डको दाबी
२०८३ मंग्सिर ८, मंगलबार
चिनियाँ अन्तरिक्ष मिसनमा पहिलो पाकिस्तानी यात्री
२०८३ मंग्सिर ८, मंगलबार
नर्सलाई यसकारण आवश्यक छ अङकोलोजी नर्सिङ तालिम
२०८३ मंग्सिर ८, मंगलबार
युरोपेली राजदूतसँग मन्त्री दीपक कुमार साहको छलफल
२०८३ मंग्सिर ८, मंगलबार
हिमाली औषधीय वनस्पति र च्याउ संरक्षणमा क्षेत्रीय सहकार्य अपरिहार्यः मन्त्री चौधरी
२०८३ मंग्सिर ८, मंगलबार
अझै सञ्चालनमा आएन निगाले सिमेन्ट
२०८३ मंग्सिर ८, मंगलबार