मंग्सिर १३, २०८३ आइतबार November 29, 2026

दसौं राष्ट्रिय खेलकुद महिला क्रिकेट : स्वर्णका लागि आर्मी र एपीएफ आमनेसामने

सुदूरपश्चिम र वागमतीलाई हराउँदै आर्मी र एपीएफ महिला क्रिकेटको फाइनलमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका खेलाडीको बाहुल्यता रहेको त्रिभुवन आर्मी र एपिएफ क्लवले दसौंं राष्ट्रिय खेलकुदको महिला क्रिकेटमा स्वर्ण पदकका लागि प्रतिष्पर्धा गर्ने भएको छ ।

सुर्खेतमा भएको खेलकुदको महिला क्रिकेटमा आईतवार एपिएफले वागमती प्रदेश ४१ रन र आर्मीले सुदूरपश्चिम प्रदेशलाई सात विकेटले हराउँदै फाइनलमा स्थान बनाएका हुन् । एपिएफ र आर्मी दुवै टोलीमा राष्ट्रिय टोलीका खेलाडीको बाहुल्यता छ । दुवै टोली अपराजित रहँदै फाइनलमा पुगेको छ । आर्मीले यसै राष्ट्रिय खेलकुद लक्षित गरेर टोली बनाएको हो । उक्त टोलीमा अधिकांश सुदूरपश्चिबाट खेल्ने खेलाडी छन् । वीरेन्द्रनगर क्रिकेट मैदानमा सुदूरपश्चिमले ७० रनको झिनो लक्ष्य दियो । त्यो लक्ष्य आर्मीले १० ओभरमा तीन विकेटको क्षतिमा पूरा गर्‍यो । आर्मीका लागि अलराउण्ड प्रदर्शन गरेकी लक्ष्मी साउँद प्लेअर अफ दी म्याच भइन् ।

आर्मीकी कविता कुँवर २० रनमा र लक्ष्मी साउँद १८ रनमा अविजित रहे । कविताले १७ बलमा दुई छक्का प्रहार गरिन् । लक्ष्मीले ११ बलम तीन चौका हिर्काइन् । ओपनर सम्झना खड्काले १६ रन जोड्दा अर्की ओपनर विन्दू रावल १ रनमा नै आउट हुन पुगिन् । रुबि पोद्दार १३ रनमा आउट भइन् । बिन्दू र रुवि रनआउट शिकार भए । यी पाँचै ब्याटर सुदूरपश्चिमका पूर्वखेलाडी हुन् । सुदूरपश्चिमको बलिङमा अनु कडायतले आर्मीको एक विकेट लिइन् । टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिम १६।२ ओभरमा मात्र ६९ रनमा नै अलआउट भयो । उसले अतिरिक्त २० रन पनि पाएको थियो ।

कप्तान ऋतु कनौजियाले १९ र यशु पाण्डेले १२ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । आर्मीकी स्पिनर लक्ष्मीले चार विकेट लिइन् । चार ओभर बलिङ गरेकी उनले १७ रन खर्चिइन् । ईश्वरी विष्टले दुई तथा मनीषा उपाध्याय र संगीता गुरुङको नाममा एक विकेट रह्यो । पराजित सुदूरपश्चिमले कांस्य पदकका लागि वागमतीसँग खेल्नेछ । अर्को सेमिफाइनलमा वागमतीले एपिएफसँग हार बेहोरेको हो । वीरेन्द्रनगर क्रिकेट मैदानमा एपिएफले १३७ रनको लक्ष्य दियो । तर वागमतीले पूरै ओभर खेले पनि खाठ विकेटको क्षतिमा ९५ रन मात्र जोड्न सक्यो ।

ओपनर हेलिशा गुरुङले ४१, लक्ष्मीमाया रुम्बाले १८ र नवौं नम्बरकी ब्याटर एली यादवले १० रन जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । हेलिसाले ४३ बलमा तीन चौका प्रहार गरिन् । एपिएफको अनुभवी बलर सामू बागमतीका ब्याटर खुलेर खेल्न सकेनन् । एपिएफकी कप्तान सीता रानामगर र करुणा भण्डारीले समान दुई विकेट लिए । राजमती ऐरी र सुमन विष्टको नाममा समान एक विकेट रह्यो । टस जितेर पहिले ब्याटिङ गरेको एपिएफले निर्धारित ओभरमा चार विकेट गुमाउँदै १३६ रनको योगफल बनायो । १९ रन जोड्दा नै तीन विकेट पतन भएपछि एपिएफको शुरुवात निकै खराब रह्यो ।

तर विकेटकिपर रोमा थापा र राजमती ऐरीको चौथो विकेटका लागि ११५ रनको सतकीय साझेदारीमा एपिएफले राम्रो योगफल बनायो । रोमा ७१ रनमा नटआउट रहिन् । ६२ बलमा उनले १० चौका प्रहार गरिन् । राजमतीले ४६ रन बनाइन् । ३९ बल खेल्दै उनले ६ चौका प्रहार गरिन् । ओपनर रेवती धामीले १२ रन बनाउँदा कप्तान सीताले ४ रन र इन्दु बर्मा खाता नखोल्दै आउट भए । बागमतीको बलिङमा अस्मिना कर्माचार्यले दुई तथा पूजा साउँद र संस्कृति फुयाँलले समान एक विकेट लिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया