काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाविस सचिव पदबाट सेवा प्रवेश गरी शाखा अधिकृतबाट अवकाश पाएका ऋषिराम अर्यालविरुद्ध १७ करोड ८३ लाख ४१ हजार अवैध आम्दानी गरेको दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अर्याल २०३९ साउन १ गते जिल्ला विकास समितिको कार्यालय स्याङ्जाबाट नासु पदमा गाविस सचिवका सरकारी सेवामा प्रवेश गरी आर्थिक वर्ष २०७५/७६ मा टोखा नगरपालिकाको प्रशासकीय अधिकृतबाट अवकाश पाएका थिए।
३६ वर्षे जागिर अवधिमा उनले २६ करोड ६० लाख ६९ हजार ६३ खर्च तथा लगानी गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन।
सो अवधिमा उनको र परिवारका सदस्यहरुको वैध आम्दानी भने जम्मा आठ करोड ७७ लाख २७ हजार चार सय ८३ रुपैयाँ मात्र आर्जन गरेको देखिएको छ। उनले पदमा रहँदा १७ करोड ८३ लाख ४१ हजार पाँच सय ७९ रुपैयाँ भने अवैध तरिका आर्जन गरेको अनुसन्धानबाट पाइएको प्रवक्ता कोइरालाले जानकारी दिएका छन।
उनी लामो समय काठमाडौँका धापासी, टोखा सरस्वती, भिमढुंगा गाविसमा सचिवका रुपमा कार्यरत रहेका थिए। अर्यालले अवैध आम्दानीबाट खरिद गरेका अधिकांश जग्गाहरु पनि तीनै गाविस आसपासमा रहेको अनुसन्धानबाट खुलेको आयोगका प्रवक्ता कोइरालाले जानकारी दिएका छन। आयोगले श्रीमती लक्ष्मीदेवी र छोराहरु सुशिल, सुनिल अर्यालसमेतलाई सम्पत्तिहरु जफत प्रयोजनार्थ प्रतिवादी बनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया