काठमाडौं । विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेको दाबी गर्दै गगन कुमार थापा नेतृत्वको नेपाली कांग्रेस समूहले पार्टीसम्बन्धी आधिकारिक विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा आवश्यक दस्तावेज बुझाएको छ।
आज काठमाडौंस्थित निर्वाचन आयोगमा आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसमक्ष सभापति गगन कुमार थापाले विशेष महाधिवेशनका निर्णयहरू, नयाँ केन्द्रीय कार्यसमिति गठनसम्बन्धी विवरण, नेतृत्व चयनसम्बन्धी कागजात तथा अन्य आवश्यक अभिलेखहरू औपचारिक रूपमा हस्तान्तरण गर्नुभएको हो। उक्त अवसरमा नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा लगायतका नेताहरूको पनि उपस्थिति रहेको थियो।
गगन–विश्वप्रकाश समूहको केन्द्रीय कार्यसमितिको बैठक आजै ललितपुरमा बसेको थियो। बैठकले विशेष महाधिवेशनसँग सम्बन्धित सम्पूर्ण दस्तावेज निर्वाचन आयोगमा बुझाई पार्टीको विवरण अद्यावधिक गराउने निर्णय गरेको पार्टी स्रोतले जनाएको छ। सोही निर्णयअनुसार आयोगमा कागजात बुझाइएको हो।
गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा सम्पन्न विशेष महाधिवेशनले सभापतिमा गगन थापालाई निर्वाचित गरेको घोषणा गरिएको थियो। उक्त महाधिवेशनबाट नयाँ केन्द्रीय कार्यसमिति चयन भएको तथा पार्टी सञ्चालनका लागि नयाँ संरचना तयार भएको दाबी उक्त समूहको छ।
तर अर्कोतर्फ, शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस पक्षले भने उक्त विशेष महाधिवेशनलाई अवैधानिक ठहर गर्दै आएको छ। देउवा पक्षले पार्टी विधान र कानुनी प्रक्रियाविपरीत विशेष महाधिवेशन गरिएको दाबी गर्दै त्यसबाट निर्वाचित नेतृत्वलाई मान्यता दिन नसकिने स्पष्ट पार्दै आएको छ।
यस घटनासँगै नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद औपचारिक रूपमा निर्वाचन आयोगसम्म पुगेको छ। अब आयोगले दुवै पक्षका दाबी, प्रस्तुत कागजात र कानुनी आधारको अध्ययन गरी निर्णय गर्ने अपेक्षा गरिएको छ। आयोगको निर्णयले नेपाली कांग्रेसको आधिकारिक नेतृत्व को भन्ने विषयमा स्पष्टता आउने राजनीतिक विश्लेषकहरूको भनाइ छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया