श्रावण २०, २०८३ बुधबार August 5, 2026

राजीनामा दिने तयारीमा रहेका बालेन शाहले अन्तिम समयमा निर्णय किन फेरे ?

राजीनामा नदिई उम्मेदवारी दर्ता गर्ने कि नगर्ने भन्ने निर्णय हुन बाँकी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले मेयर पदबाट राजीनामा दिने तयारी अन्तिम समयमा होल्ड गरेका छन् । निकटस्थहरूले आजै राजीनामा दिने तयारी रहेको बताएका थिए तर राजनीतिक परिस्थितिको अनिश्चितताका कारण शाहले निर्णय परिवर्तन गरेका हुन् ।

उम्मेदवारी दर्ता गरेपछि स्वतः पद खारेज हुने कानुनी व्यवस्था रहेकाले पनि उनले तत्काल राजीनामा नदिएको बताइएको छ । बालेन शाह निकट एक नेताका अनुसार हालको राजनीतिक अन्योल, अदालतमा परेका मुद्दा र निर्वाचन सर्ने सम्भावनाका कारण अन्तिम समयसम्म निर्णय होल्ड गर्ने रणनीति लिइएको हो ।

उनले भने, “राजीनामा नदिई उम्मेदवारी दर्ता गर्ने कि नगर्ने भन्ने अहिल्यै भन्न सकिने अवस्था छैन । कांग्रेस अदालत गएको छ, त्यतातिर केही निर्णय आउन सक्छ । चुनाव सर्ने सम्भावनासमेत रहेकाले अन्तिम समयसम्म निर्णय होल्ड गरिएको हो।”

मेयर शाह केहीबेरमा रास्वपा कार्यालय घण्टीघर जाने कार्यक्रम छ । मेयर पदबाट राजीनामा नदिई उनी पार्टी कार्यालय जान लागेका हुन् । आज दिउँसो २ बजे रास्वपाको केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्दैछ । बैठकअघि शाह दिउँसो १ बजे पार्टी कार्यालय पुग्ने नेताहरूले बताएका छन् ।

झापा–५ बाट प्रतिनिधिसभा सदस्यको निर्वाचन लड्ने तयारीमा रहेका शाहले उम्मेदवारी दर्ताअघि नै राजीनामा दिने तयारी गरेका थिए । निर्वाचन आयोगले माघ ६ गते उम्मेदवारी दर्ताको समय तोकेपछि सबै दलहरू उम्मेदवार टुंग्याउने प्रक्रियामा छन् । रास्वपाले पनि उम्मेदवार चयन अन्तिम चरणमा पुर्‍याएको छ ।

यसैबीच पार्टी सभापति रवि लामिछानेसहितका शीर्ष नेताहरू आजै जनकपुर प्रस्थान गर्ने कार्यक्रम छ । मेयर शाह पनि साँझ ५ बजे जनकपुर जाने कार्यक्रम रहेको बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया