श्रावण २०, २०८३ बुधबार August 5, 2026

चुनावमा सिट शून्य भएपछि मधेशवादी दलहरू छलफलमा

मधेशबाट बढारिएपछि संघीय लोकतान्त्रिक मोर्चाको बैठक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनपछि मधेश केन्द्रित राजनीतिक दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन्। प्रतिनिधिसभा निर्वाचनमा मधेश क्षेत्रबाट अपेक्षित परिणाम हासिल गर्न नसकेपछि उनीहरूबीच समीक्षा तथा आगामी रणनीतिबारे छलफल सुरु भएको हो।

यसै क्रममा संघीय लोकतान्त्रिक मोर्चा को पहिलो बैठक शुक्रबार काठमाडौंको बबरमहलस्थित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय कार्यालयमा बसिरहेको छ। बैठकमा मोर्चामा आबद्ध विभिन्न मधेश केन्द्रित दलका नेताहरू सहभागी छन्।

बैठकमा सिके राउत नेतृत्वको जनमत पार्टी, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, तथा राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी लगायतका दलका नेताहरूको सहभागिता रहेको छ।

स्रोतका अनुसार बैठकमा हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको विस्तृत समीक्षा, मधेश क्षेत्रमा घटेको जनमतको अवस्था, र आगामी दिनमा अपनाउने राजनीतिक रणनीतिबारे गम्भीर छलफल भइरहेको छ। मधेश केन्द्रित दलहरूले विगतका निर्वाचनहरूमा उल्लेखनीय उपस्थिति जनाए पनि यसपटकको प्रतिनिधिसभा निर्वाचनमा भने कुनै पनि दलले प्रत्यक्षतर्फ एक सीट समेत जित्न नसकेको अवस्था आएको छ।

यही कारणले मधेशवादी दलहरूबीच आत्मसमीक्षा र भविष्यको रणनीति तय गर्न संयुक्त बैठक आयोजना गरिएको बताइएको छ। नेताहरूले मधेशको राजनीतिक प्रतिनिधित्व कमजोर हुनुका कारणहरू खोज्दै आगामी दिनमा कसरी जनताको विश्वास पुनः प्राप्त गर्ने भन्ने विषयमा पनि छलफल गरिरहेको जनाइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया