बैसाख ४, २०८३ शुक्रबार April 17, 2026

पूर्वपश्चिम राजमार्ग अन्तर्राष्ट्रिय ‘हाइवे’ मापदण्डमा बन्दै

यातायात सञ्जाललाई आधुनिक र व्यवस्थित बनाइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, वैशाख ४ गते । अबको तीन वर्षभित्र पूर्वपश्चिम राजमार्ग अन्तर्राष्ट्रिय ‘हाइवे’ को मापदण्डमा स्तरोन्नति हुने भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय प्रतिबद्धतामा त्यस्तो उल्लेख गरिएको हो । सरकारले सार्वजनिक गरेको विभिन्न १८ क्षेत्रको प्रतिबद्धतामध्ये पूर्वाधार क्षेत्रमा त्यस्तो उल्लेख गरिएको हो ।

पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्म छिचोल्ने पूर्वपश्चिम राजमार्ग (महेन्द्र राजमार्ग) अहिले विभिन्न छ खण्डमा विस्तार भइरहेको छ । मुलुककै यातायातको ‘लाइफ लाइन’ का रूपमा रहेको यो राजमार्ग विस्तार भएपछि तराई/मधेशसहित देशको आधाभन्दा बढी जनसङ्ख्या लाभान्वित हुने विश्वास गरिएको छ ।

दुई लेन चौडाइ भएको सो राजमार्ग अहिले छ लेन र चार लेनमा विस्तार भइरहेको छ । दक्षिण एसिया क्षेत्रीय आर्थिक सहकार्य (सासेक) कार्यक्रम अन्तर्गत एसियाली राजमार्गको मापदण्ड (स्टान्डर्ड) अनुसार यस राजमार्गका विभिन्न खण्ड विस्तार भइरहेको हो । तत्कालीन राजा महेन्द्रले २०१८ सालमा शिलान्यास गर्नुभएको सो राजमार्ग सहरी क्षेत्रमा सर्भिस लेनसहित छ लेन र वनजङ्गल तथा सवारी चाप कम भएको क्षेत्रमा चार लेनमा विस्तार भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव ई. सुशीलबाबु ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार विभिन्न दातृ निकायको ऋण तथा अनुदान सहयोगमा अहिले काँकडभिट्टा–इटहरी खण्ड (९३ किलोमिटर), कञ्चनपुर–कमला खण्ड (८६.८३ किलोमिटर), कमला–ढल्केबर–पथलैया खण्ड (१३० किलोमिटर), नारायणगढ–बुटवल खण्ड (११३ किलोमिटर), बुटवल–गोरुसिङ्गे–चनौटा खण्ड (६९ किलोमिटर) र कपिलवस्तु–दाङ खण्ड/धान खोला–शिवखोला खण्ड (४० किलोमिटर) विस्तार भइरहेको छ ।

राजमार्गको कमला–ढल्केबर–पथलैया खण्ड र बुटवल–गोरुसिङ्गे–चनौटा खण्ड विश्व बैङ्कको सहुलियतपूर्ण ऋण सहयोगमा, काँकरभिट्टा–इटहरी खण्ड, कञ्चनपुर–कमला खण्ड र नारायणगढ–बुटवल खण्डको विस्तार एसियाली विकास बैङ्कको सहुलियतपूर्ण ऋण सहयोगमा भइरहेको छ । त्यसै गरी कपिलवस्तु–दाङ खण्ड/धान खोला–शिवखोला खण्डको विस्तार एमसिसी परियोजना अन्तर्गत भइरहेको सहसचिव ढकालले जानकारी दिनुभयो । एमसिसी परियोजना अन्तर्गत विस्तार भइरहेको कपिलवस्तु–दाङ खण्ड/धान खोला–शिवखोला खण्डबाहेकका खण्डको २०७५ सालदेखि ठेक्का प्रक्रिया सुरु गरिए पनि अहिलेसम्म कुनै पनि खण्डको काम पूरा हुन सकेको छैन । त्यसै गरी पूर्वपश्चिम राजमार्गको हेटौँडा–नारायणगढ खण्डको विस्तारका लागि आवश्यक प्रक्रिया सुरु भइसकेको छ । राजमार्गको सो खण्डको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन तयार भइसकेको छ ।

त्यसै गरी सार्वजनिक सो प्रतिबद्धतामा मुलुकको यातायात सञ्जाललाई आधुनिक र व्यवस्थित बनाउनुका साथै राजमार्ग, जलमार्ग, विमानस्थल आदि पूर्वाधारलाई एकअर्कासँग आबद्ध गरी एकीकृत ‘मल्टिमोडल ट्रान्सपोर्ट सिस्टम’ को विकास गर्ने उल्लेख छ । प्रतिबद्धतामा उल्लेख छ, “राजमार्ग, जलमार्ग, विमानस्थल आदि पूर्वाधारलाई एकअर्कासँग आबद्ध गरी एकीकृत ‘मल्टिमोडल ट्रान्सपोर्ट सिस्टम’ विकास गरिने छ । यातायात सञ्जाललाई आधुनिक र व्यवस्थित बनाइने छ ।”   गोरखापत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सर्वोच्चको फैसला जित हारको विषय होइन : महामन्त्रीद्वय
२०८३ बैसाख ५, शनिबार
काँग्रेसमा विशेष महाधिवेशन वैधानिक ठहर, गगन थापा नेतृत्व आधिकारिक (संक्षिप्त आदेशसहित)
२०८३ बैसाख ४, शुक्रबार
सङ्घीय सरकार मातहत रहेका कामलाई प्राथमिकता दिन आग्रह
२०८३ बैसाख ४, शुक्रबार
सुधारका लागि निरन्तर खबरदारी गर्न शिक्षा मन्त्री पोखरेलको आग्रह
२०८३ बैसाख ४, शुक्रबार
पिएम कप इतिहासमा आर्मीको अर्को सफलता : सुदूरपश्चिम ५ विकेटले पराजित
२०८३ बैसाख ४, शुक्रबार
अतिक्रमण र कब्जा गरिएका सम्पत्ति ३५ दिनभित्र फिर्ता गर्न त्रिविको आग्रह
२०८३ बैसाख ४, शुक्रबार
आमा र छोरीबीचको कथामा बनेको ‘लालीबजार’ को ट्रेलर सार्बजनिक
२०८३ बैसाख ४, शुक्रबार