बैसाख ४, २०८३ शुक्रबार April 17, 2026

सिभिल मलमा लगानी नै नगरी ५० प्रतिशत सेयर हत्याउने प्रयास

सिभिल मलमा व्यवसायी लालकाजी गुरुङ र उहाँकी श्रीमती मीना गुरुङको शतप्रतिशत लगानी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । विभिन्न ठगी प्रकरणमा दोषी देखिएर सजाय पाएका विवादास्पद सहकारी व्यवसायी तथा पूर्व सांसद इच्छाराज तामाङ पुनः बिनालगानी सिभिल मलको ५० प्रतिशत सेयर हत्याउने खेलमा लागेको पाइएको छ ।

सिभिल बिजनेस कम्प्लेक्स प्रालिको स्वामित्वमा रहेको सिभिल मलमा व्यवसायी लालकाजी गुरुङ र उहाँकी श्रीमती मीना गुरुङको शतप्रतिशत लगानी छ । सिभिल मलको सेयर लागतअनुसार ५० प्रतिशत सिभिल सेभिङ्स एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडको नाममा र बाँकी ५० प्रतिशत गुरुङ दम्पतीको नाममा रहेको देखिन्छ ।

तर, तामाङको सिभिल सेभिङ्सले ५० प्रतिशत सेयर आफ्नो नाममा पारे पनि एक पैसा पनि भुक्तानी नगरेपछि त्यसविरुद्ध सेयर सदस्य मीना गुरुङले दायर गरेको मुद्दा अझै अदालतमा विचाराधीन छ । तत्कालीन समयमा ३४ करोड रुपियाँको मूल्यांकन गरिएको सिभिल मलको सुन्धारास्थित जमिन पनि गुरुङले विश्वासको भरमा सिभिल विजनेस कम्प्लेक्स प्रा.लि.को नाममा हस्तान्तरण गर्नुभएको हो ।

यसैबीच सिभिल सहकारीमा वचतकर्ताको बचत हिनामिनामा गरेका तामाङले आफ्नो र आफ्नो सहकारीले एक सुको पनि आर्थिक लगानी नभएको उक्त मलमा ५० प्रतिशत सेयरको दाबी गर्दै गुरुङ परिवारलाई दुःख र हैरानी दिइरहेको बताइएको छ ।
विगतमा विभिन्न समयमा सहकार्य गरेका गुुरुङ र तामाङबीच केही रियल इस्टेट परियोजनामा सहकार्य हुनुका साथै सम्बन्ध पनि राम्रो थियो । सोही क्रममा केही वर्षअघि गुरुङले आफ्नो उक्त जमिनमा मल निर्माण गर्ने योजना बनाएपछि सिभिल सहकारीका अध्यक्ष इच्छाराज तामाङले त्यसमा आफूले पनि साझेदारी गर्ने र ५० प्रतिशत हिस्सा लिने प्रस्ताव राख्नुभएको थियो ।

पुरानो चिनचान र विश्वासका आधारमा गुरुङले उक्त प्रस्ताव स्वीकार गर्दै आफ्नो जमिन सिभिल विजनेस कम्पलेक्सलाई हस्तान्तरण गरी सिभिल सहकारीलाई ५० प्रतिशत सेयर दिलाउनुभएको थियो । सेयर लिए पनि इच्छाराज तामाङ वा सिभिल सहकारीले उक्त कम्पनीमा कुनै पनि प्रकारको लगानी नगरेको देखिन्छ । तामाङले केही समय पछि लगानी गर्छु भन्दै गुरुङलाई लामो समयदेखि झुलाएका कारण गुरुङले उल्टै आफ्नो अन्य सम्पति बिक्री गरेर सिभिल मलमा थप ३० करोड रुपियाँ लगानी गर्न बाध्य हुनुभएको थियो ।

तामाङ नेतृत्वमा रहेको सिभिल सहकारीको १८ औं वार्षिक प्रतिवेदनमा उल्लेख भएको लगानीको विवरणले पनि सिभिल मलमा तामाङ वा सिभिल सहकारीले एक पैसा पनि लगानी नगरेको स्पष्ट देखाउँछ । काठमाडांै बचत तथा ऋण सहकारीमा १० हजार रुपियाँ लगानी गरेको समेत देखिएको सिभिल सहकारीको प्रतिवेदनमा सिभिल मलमा ५० प्रतिशत लगानी गरेको विषय भने उल्लेख गरिएको छैन । यसले पनि तामाङको सिभिल सहकारीले सिभिल मलमा कहिल्यै कुनै लगानी नगरेको सहजै पुष्टि हुन्छ ।

सिभिल सहकारीको १८ आंै प्रतिवेदनअनुसार अधिकांश रकम सिभिल होम्स प्रालि (७ अर्ब १ करोड ३७ लाख ११ हजार २११ रुपियाँ), सिभिल अपार्टमेन्ट प्रालि (३४ करोड ६७ लाख ८० हजार) र सिभिल इस्टेट प्रालि (६ करोड ६८ लाख ४६ हजार रुपियाँ) कर्जा लगानी गरिएको देखिन्छ । यसरी वास्तविक लगानी भएका क्षेत्रबाट रकम फिर्ता गर्ने पहल नगरी सिभिल मलतर्फ ध्यान मोड्ने प्रयास गर्नुले इच्छाराज तामाङको नियतमाथि नै पनि गम्भीर प्रश्न उठेको छ ।

अर्को हास्यस्पद कुरा त यो छ कि तामाङले सिभिल मलमा ५० प्रतिशत सेयर ‘प्रोफेसनल म्यानेजमेन्ट’ फिको रूपमा प्राप्त गरेको दाबी गर्दै आइरहनुभएको छ तर प्रबन्धपत्र तथा नियमावलीमा यस्तो व्यवस्था नै नभएकोले यस्तो दाबी व्यावहारिक र कानुनी दुवै किसिमले असंंगत देखिन्छ ।

यो विषयमा उच्च अदालत पाटनले समेत नगद, जमिन वा बैंकिङ कारोबार कुनै पनि आधारमा तामाङ तथा उहाँको सहकारीको कुनै पनि लगानी नदेखिएको भन्दै मीना गुरुङको पक्षमा ‘स्टे अर्डर’ गरेको थियो । उच्च अदालत पाटनले २०७७ साल श्रावण २१ गते मिना गुरुङको पक्षमा फैसला गर्दै सिभिल विजनेस कम्प्लेक्स प्रालिका सञ्चालक समिति र सञ्चालकहरूबाट निवेदक सेयर सदस्यको हित प्रतिकूल हुने गरी कम्पनीको श्रीसम्पत्ति बिक्री गर्ने, धितो राख्ने र कम्पनीको दायित्व सिर्जना हुने कुनै पनि कामकारबाही नगर्नु ÷नगराउनु भन्ने आदेश दिएको थियो ।

उक्त आदेशविरुद्ध तामाङले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । तर, सर्वोच्चले पनि २०८१ साल श्रावण ३२ गते यस प्रकरणमा उच्च अदालत पाटनबाट यसअघि भएको आदेश बेरितको नदेखिएको हुँदा अन्यथा गर्नुपरेन, कानुनबमोजिम गर्नु भनी आदेश दिएको थियो ।

यसैबीच इच्छाराज तामाङले सिभिल सहकारीका निक्षेपकर्ताहरूलाई सिभिल मलमा ५० प्रतिशत स्वामित्व रहेको र उक्त सेयर बिक्री गरेर सबैलाई रकम फिर्ता गर्ने आश्वासन दिँदै आउनुभएको छ । जबकि उहाँको सिभिल मलमा कुनै लगानी नै छैन । तामाङले यसरी आश्वासन दिए पनि सर्वोच्च अदालत र उच्च अदालतको आदेश थाहा पाएपछि सहकारीका निक्षेपकर्ताहरू भने तामाङको भनाइमा विश्वास गर्न सकेका छैनन् । बचतकर्ताहरू सिभिल सहकारीले सिभिल मलमा कुनै लगानी नगरेकोमा विश्वस्त भएका छन् ।

सिभिल मलमा कुनै लगानी नै नगरी ५० प्रतिशत सेयर हत्याउन खोज्ने तामाङ अहिले गुरुङ परिवारलाई दुख दिने उद्देश्यले काठमाडौंका प्रमुख जिल्ला अधिकारीको कार्यालय धाइरहनुभएको छ । यतिमात्रै होइन, उहाँले आफू केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा पनि जाने भने हल्ला फिजाइरहनु भएको छ ।

जबकि, यो विषयमा उच्च अदालत र सर्वोच्च अदालतबाट समेत सिभिल मलको सेयर सम्पत्ति वितरणसम्बन्धी कुनै काम नगर्नु भनी ‘स्टे अर्डर’ जारी भइसकेको छ । ईच्छाराज तामाङ आफ्ना निक्षेपकर्तालाई रकम फिर्ता गर्नुको साटो उनीहरूको ध्यान अन्तै मोड्ने र बारम्बार भ्रम सिर्जना गर्ने प्रयासमा देखिएको छ । नेपाल समाचारपत्र 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सर्वोच्चको फैसला जित हारको विषय होइन : महामन्त्रीद्वय
२०८३ बैसाख ५, शनिबार
काँग्रेसमा विशेष महाधिवेशन वैधानिक ठहर, गगन थापा नेतृत्व आधिकारिक (संक्षिप्त आदेशसहित)
२०८३ बैसाख ४, शुक्रबार
सङ्घीय सरकार मातहत रहेका कामलाई प्राथमिकता दिन आग्रह
२०८३ बैसाख ४, शुक्रबार
सुधारका लागि निरन्तर खबरदारी गर्न शिक्षा मन्त्री पोखरेलको आग्रह
२०८३ बैसाख ४, शुक्रबार
पिएम कप इतिहासमा आर्मीको अर्को सफलता : सुदूरपश्चिम ५ विकेटले पराजित
२०८३ बैसाख ४, शुक्रबार
अतिक्रमण र कब्जा गरिएका सम्पत्ति ३५ दिनभित्र फिर्ता गर्न त्रिविको आग्रह
२०८३ बैसाख ४, शुक्रबार
आमा र छोरीबीचको कथामा बनेको ‘लालीबजार’ को ट्रेलर सार्बजनिक
२०८३ बैसाख ४, शुक्रबार