काठमाण्डौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्रीको संसद्मा देखिएको व्यवहारको आलोचना गरेका छन्। आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला प्रधानमन्त्री बीचमै उठेर हिँडेको घटनालाई लिएर व्यङ्ग्य गरे।
उनले भने, ‘आफ्नै सरकारको नीति कार्यक्रम संसद्मा पेश भइरहँदा संसारको कुन देशको प्रधानमन्त्री बिचैमा उठेर हिँडे ? भनेर गिनिज बुकमा अब हाम्रो देशको प्रधानमन्त्रीको नाम लेखिने भएको छ ! यस्तो रेकर्ड राख्न लागेकोमा म उहाँलाई बधाई दिऊँ कि दुख व्यक्त गरौँ।’
प्रधानमन्त्रीको व्यवहारलाई अमर्यादित भन्दै आलोचना गरे पनि स्वास्थ्य समस्या भएको हुन सक्ने बताए।
उनले थपे, ‘सामाजिक सञ्जालमा लाखौँले लेखेजस्तो अमर्यादित व्यवहार प्रधानमन्त्रीले देखाउनुभयो भनेर म सोझै भन्न चाहन्न यस्तो पनि हुन सक्छ, कि अचानक उहाँको स्वास्थ्य स्थिति गम्भीर बनेकोले उहाँ हिँड्नु भएको होला। त्यसैले म सरकारलाई आग्रह गर्दछु, उहाँको स्वास्थ्यमा अचानक कुनै प्रतिकुल अवस्था बनेको हो भने भएको के हो अविलम्ब स्वास्थ्य परीक्षण गरेर संसदलाई जानकारी गराइयोस् !’
प्रधानमन्त्रीको व्यवहारले जनताको मन कुँडिएको, देशको शिर झुकेको र संसद्को गरिमामा दाग लागेको अनुभूति भएको बताए। बजेट अधिवेशनको सन्दर्भमा बोल्दै उनले सरकारले संसद्लाई पर्याप्त महत्त्व नदिएको आरोप लगाए।
पूर्वबजेट छलफलका लागि समय नदिइएको भन्दै उनले सरकारले आदेश र घोषणाबाट शासन चलाउने शैली अपनाएको टिप्पणी गरे। संविधान संशोधनको विषयमा पनि उनले सरकारको प्रक्रिया अपरिपक्व भएको बताए।
संविधान संशोधनलाई नागरिक अपनत्वसँग जोडिएको संवेदनशील विषय भन्दै उनले सर्वोच्च अदालतका बहालवाला वा पूर्वन्यायाधीशको संयोजकत्वमा सर्वपक्षीय संविधान सुधार सुझाव आयोग गठन गर्नुपर्ने बताए।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया