बैसाख ३०, २०८३ बुधबार May 13, 2026

कांग्रेसको २१ बुँदे ‘कर्णाली संकल्प पत्र’ सार्वजनिक

योजनालाई व्यवस्थित बनाउन ‘प्रोजेक्ट बैंक’ प्रणाली लागू गर्ने तथा टुक्रे योजनालाई निरुत्साहित गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । गगन कुमार नेतृत्वको नेपाली कांग्रेसले कर्णाली प्रदेशको विकास, सुशासन, सेवा प्रवाह र आर्थिक समृद्धिलाई केन्द्रमा राख्दै २१ बुँदे ‘कर्णाली संकल्प पत्र’ सार्वजनिक गरेको छ । पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा सुर्खेतको वीरेन्द्रनगरमा आयोजित प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि र पार्टी नेतृत्वबीचको अन्तरक्रिया कार्यक्रमपछि उक्त संकल्प पत्र सार्वजनिक गरिएको हो ।

संकल्प पत्र जारी गर्दै सभापति थापाले नेपाली कांग्रेस नागरिकमैत्री, जिम्मेवार र परिणाममुखी शासन सञ्चालनमा प्रतिबद्ध रहेको बताएका छन् । उनले कर्णालीको विकासलाई केवल नारामा सीमित नराखी व्यवहारिक कार्ययोजनामार्फत अघि बढाइने स्पष्ट पारे ।

संकल्प पत्रमा कानुन र विधिअनुसार निर्णय प्रक्रिया सञ्चालन गर्ने, सेवा प्रवाहलाई मानवतामुखी बनाउने तथा अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, गर्भवती महिला र विपन्न समुदायलाई घरदैलोमै पुगेर सेवा उपलब्ध गराउने नीति समावेश गरिएको छ । यस्तै, प्रत्येक स्थानीय तहले असार १० भित्र अनिवार्य रूपमा बजेट ल्याउनुपर्ने, योजनालाई व्यवस्थित बनाउन ‘प्रोजेक्ट बैंक’ प्रणाली लागू गर्ने तथा टुक्रे योजनालाई निरुत्साहित गर्ने उल्लेख गरिएको छ ।

कांग्रेसले आर्थिक अनुशासन कायम गर्दै शून्य बेरुजुको लक्ष्य लिने, स्थानीय तहमा योजना निर्माण गर्दा विज्ञ, नागरिक समाज र पार्टी संरचनासँग परामर्श गर्ने नीति पनि अघि सारेको छ । वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यमशीलतासँग जोड्ने, रोजगार बैंक स्थापना गर्ने र स्वरोजगार सिर्जनालाई प्राथमिकतामा राख्ने योजना पनि संकल्प पत्रमा समेटिएको छ ।

शिक्षा र स्वास्थ्य क्षेत्रमा कर्णालीको पहिचान झल्किने पाठ्यक्रम विकास गर्ने, अनुसन्धानमा आधारित शिक्षालाई प्रोत्साहन गर्ने तथा स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउने उल्लेख गरिएको छ । दुर्गम क्षेत्रमा ‘एयर एम्बुलेन्स’ सेवा सहज बनाउने, जडीबुटी, जलस्रोत, वन तथा पर्यटनको संरक्षण गर्दै स्थानीय उत्पादनमा आधारित उद्योगलाई प्रोत्साहन गर्ने नीति पनि सार्वजनिक गरिएको छ ।

त्यस्तै, उच्च मूल्यका जडीबुटीको प्रशोधन तथा अन्तर्राष्ट्रिय ‘ब्रान्डिङ’ गर्ने, बोक्सी प्रथा, छाउपडी, बालविवाह र छुवाछूतजस्ता सामाजिक कुरीतिविरुद्ध विशेष अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाइएको छ ।

संघीयताको प्रभाव गाउँस्तरसम्म पुर्‍याउन वित्तीय अधिकार र कर्मचारी व्यवस्थापनका विषयमा संघीय सरकारको ध्यानाकर्षण गराउने, हुम्लाको यारी नाका व्यावसायिक सञ्चालनका लागि पहल गर्ने तथा पार्टी संगठनलाई डिजिटल प्रणालीमार्फत सुदृढ बनाउने योजना पनि कांग्रेसले अघि सारेको छ ।

कार्यक्रममा पार्टी उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री प्रदिप पौडेल लगायत केन्द्रीय नेता, प्रदेश पदाधिकारी, प्रदेशसभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा कांग्रेसले पछिल्लो निर्वाचनमा व्यहोरेको हारको समीक्षा गर्दै आगामी रणनीति, सुशासन, विकास र सेवा प्रवाहका विषयमा प्रशिक्षण तथा छलफल समेत गरेको जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट
२०८३ बैसाख ३०, बुधबार
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सचिवमा प्रकाश अधिकारी नियुक्त
२०८३ बैसाख ३०, बुधबार
राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने
२०८३ बैसाख ३०, बुधबार
कर्णाली प्रदेशको विद्युत् आपूर्ति सहज बनाउन पहल
२०८३ बैसाख ३०, बुधबार
युक्रेनमा रूसी हवाई आक्रमण, आठ जनाको मृत्यु, ११ घाइते
२०८३ बैसाख ३०, बुधबार
चीनसँग ‘ठूलो सम्झौता’ खोज्दै ट्रम्प
२०८३ बैसाख ३०, बुधबार
दूरसञ्चार क्षेत्र सुधारमा सरकार गम्भीर, ‘फोरजी’ सुदृढीकरणसँगै ‘फाइभजी’ सेवा सुरु गर्ने तयारीमा छौँः सञ्चारमन्त्री
२०८३ बैसाख ३०, बुधबार